• २०७७ श्रावण २६ सोमबार

राष्ट्रिय आविष्कार केन्द्रका प्रणेता महावीर भन्छन् : पैसा भन्दा आईडिया चाहियो (भिडियो)

पुरस्कार भित्तामा झुण्ड्याएर के काम ?

मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो– जीवनमा उसले आर्जन गरेको ज्ञान । यस्तै अमूल्य सम्पत्तिका खानी हुन्– नेपालको वैज्ञानिक क्षेत्रका धरोहर महावीर पुन । हिमाली जिल्ला म्याग्दीको दुर्गम नागी गाउँमा ६६ वर्षअघि जन्मिएका पुन सादा जीवन उच्च विचारका प्रतिमूर्ति नै हुन् । आम मानिसभन्दा धेरै ढीला औपचारिक शिक्षा शुरु गरेका पुनले अमेरिकामा प्रविधिको पढाइ सक्नेबित्तिकै नेपाल फर्किएर राष्ट्रसेवा शुरु गरेका हुन् ।  शिक्षाको उज्यालोबाट बञ्चित जन्मथलोमा विद्यालयमात्र खोलेनन् कि उनले विकट हिमाली जिल्लामा  ताररहित इन्टरनेटको स्थापना  गरी ग्रामीण नेपाली समाजलाई विश्वसंग जोड्ने अभूतपूर्व काम गरे ।  हरेक बुबाआमाको चाहना हुन्छ कि आफ्ना छोराछोरी सत्कर्ममा लागुन् र  सफल बनुन् । छोराछोरीलाई पढाउनै हुँदैन भन्ने रुढीवादी समाजसंग विद्रोह गरेर आफूलाई विद्यालय पठाउने पितालाई महान ठान्छन्, महावीर  । 

कमजोर आर्थिक अवस्थाका कारण शिक्षण पेशासंगै आफ्नो पढाई अघि बढाएका महावीर ज्ञानको तिर्खा नमेटिएपछि अमेरिका हानिए । विज्ञानको समुन्द्रमा डुबुल्की मारेर आफूलाई तृप्त पारेका उनलाई अ‍ेमरीकाको चमकधमकले भने रोक्न सकेन । मातृभूमिप्रतिको कर्तब्यले डोहो¥याउँदै उनलाई फेरि म्याग्दीको आफैं पढेको विद्यालयको  शिक्षक बनाइदियो ।  

आफुलाई समयानुकुल काममा अभ्यस्त राख्ने महाबीर लामो योजना बनाएर काम गर्दैनन् । समाजका तत्कालीक समस्यामा के योगदान गर्न सकिन्छ भनेर घोत्लीरहने महावीरलाई यही भिन्नशैलीले समाजसेवाका महावीर बनाइदिएको छ । संसारमा हालसम्म भएका सबै आविष्कार मानिसले नै गरेकाले दत्तचित्त भएर लाग्ने हो भने केहि असम्भब नभएको बताउँछन,पुन । रत तँ आँट म पु¥याउँछु भन्ने नेपाली उखान चरीतार्थ भएको छ, पुनको जीवनमा । संसारमा आएको प्रबिधिको तीब्र बिकासको गतिलाई पछ्याउँदै भावी पुस्ताको भबिष्यमा जूनको ज्योती छर्ने हेतुले बि.सं २०६८ सालमा राष्ट्रिय आबिष्कार केन्द्रको जन्म भयो । विगतमा सरोकारवालाको उपेक्षामा परेका कारण केही निराश भएका उनलाई केन्द्रमा आजको चहलपहलले उत्साहित बनाएको छ । 

राज्यबाट अपेक्षाकृत सहयोग नपाएका पुन नाम दिएकैमा आभारी देखिए । लामो समय राज्यको मुख ताकेर दिक्क बनेका उनी अब आफ्नै सूरमा केन्द्र चलाउन लागिपरेका छन् । त्यसका लागि एशियाकै नोबल पुरस्कार मानिने म्यागाशेसेसहित प्राप्त गरेका सबै पुरस्कार विक्रीमा राखेका महावीरलाइ आविष्कार केन्द्रको महत्व बुझेर देश विदेशका नेपालीले  गरेको आर्थिक सहयोगले टेको दिईरहेको छ ।  

आविष्कार केन्द्र नवीन र सीर्जनशील सोंच लिएर आउनेहरुका लागि साधनास्थल हो भन्छन्, महावीर । आफूजस्तै अन्वेशषण र आविष्कारमा रुची राख्ने दक्ष युवा बैज्ञानिक उत्पादनमा प्रोत्साहन गरीरहन्छन् उनी हरबखत । सूचना प्रविधि मात्र हैन आधुनिक विज्ञानका अन्य धेरै विधामा नेपालमै अतुलनीय महावीर यस्तो फलेका बृक्ष हुन्, जो निरन्तर निहुरीएकै छ । 
भब्य बैठक कोठाभित्र सीसाका आलमारीमा सजाइने पदक, सम्मान र पुरस्कार आजको समाजको उच्च समाजसेवीको परिचायक बनेको छ । तर महाबीर मात्रै यस्ता ब्यक्ति हुन्, जो आफ्ना कर्मले आर्जेको सम्मान फेरि कर्मशील बन्ने अर्को अभियानका लागि बिक्रीमा राख्छ ।  

पुरस्कार घरमा राख्ने सजाएर के हुन्छ । पुरस्कार भनेका पनि सम्पति हुन । जग्गा बेचेर समाजको सेवाको गरेको छु पुरस्कार पनि बेचबिखनमा छन् तर कसैले किन्न सकेनन उनले बताए । 
आफू भलो त जगत भलो भनेझैं हरेक ब्यक्ति स्वयम्मा निपूण भएमात्र राष्ट्रको सेवामा टेवा पुग्ने उनको अनुभव छ । यही तथ्यलाई आत्मसात गर्दै महावीरले तीक्ष्ण क्षमता भएर पनि अवसरको अभावमा पलायन हुनसक्ने प्रतिभाहरुलाई देशमै अनुसन्धानको नयाँ नर्सरी बनाइदिएका छन् ।

हरेक नयाँ सोंच र नवीन आविष्कारलाई पे्ररित गर्ने पुन र उनको राष्ट्रिय आविष्कार केन्द्र यतिखेर प्रविधिको प्रयोगमार्फत कोरोना कहरसंगको राष्ट्रको लडाईं सहज पार्न दत्तचित्त भएर लागिरहेको छ । जीन्दगीका हरएक क्षण समाज र राष्ट्रका लागि समर्पित गरीरहँदा पनि पुनमा आफ्नो ब्यक्तिगत जीन्दगी र परिवारलाई समय नदिएकोमा कुनै खिन्नताभाव देखिन्न । आफ्नो कर्मका अगाडि खानपान,रहनसन र दैनिक जीवनयापनलाई गौण राख्ने महावीर निराशा र अन्धकारको कालो बादलभित्र चम्किइरहेको चाँदीको घेरा हुन्–भविष्यको उज्यालो नेपालका लागि । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार