• २०७७ श्रावण २० मंगलबार

कपिलवस्तु अस्पतालका मेसुलाई कारवाही माग गर्दै ज्ञापनपत्र

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेलाई कारबाहीको माग गर्दै कपिलवस्तुका अगुवा युवाले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन विपरीत निजी अस्पतालमा बिरामी जाँचेको समाचार प्रसारणमा आएपछि मेसु बन्जाडेको विरोध हुन थालेको छ ।

मेसुको गैर जिम्मेवार कार्यसम्पादनको विरोध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रदेश ५ का मुख्यमन्त्री र सामाजिक बिकासमन्त्रीलाई ज्ञापनपत्र दिइएको हो । कपिलवस्तु अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष विजय प्रकाश जयसवाल, चेम्बर अफ कमर्सका नगर अध्यक्ष गोपी कृष्ण शर्मा, युवा नेता दीपक पाण्डेय, समाजसेवी देवेश जयसवाल लगायतले आफ्ना माग सहितका ज्ञापनपत्र बुझाएका थिए । 

निमित्त प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा हाल अस्पताल भौतिक पूर्वाधारले सुसम्पन्न भए पनि सेवा प्रवाह फितलो रहेको र सो को कारण मेसु बन्जाडे रहेको ठहर गरिएको छ । मेसुले नै स्वास्थ्य मन्त्रालयको निर्देशन विपरीत निजी क्लिनिकमा गई बिरामीको उपचार गर्ने साथै अस्पतालका कर्मचारीलाई प्रयोग गरी अस्पतालका बिरामीहरूलाई समेत निजी क्लिनिकमा बोलाई शुल्क लिई उपचार गर्ने गरेको ज्ञापन पत्रमा आरोप लगाइएको छ ।

सरकारको निर्देशन अवज्ञा गर्ने मेडिकल सुपरिटेन्डेन्टलाई तत्काल कारबाही गरी अस्पताल चुस्त दुरुस्त बनाई सेवा प्रवाह प्रभावकारी बनाउन माग गर्दै माग पुरा नभए आन्दोलनको चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझाएका युवाहरूले अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहलाई फितलो बनाएर निजी क्लिनिक पोस्न खोजिए पछि मेसुको विरोधमा ज्ञापनपत्र दिइएको आन्दोलनरत युवाले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार