• २०७७ मङ्सिर ९ मंगलबार

अलपत्र कोपिलाहरु फुलाउने सुन्दर बगैंचाकी पुष्पा भन्छिन : सबै छोरीहरुलाई आत्मनिर्भर बनाउँछु (भिडियो )

बाटोमा फ्याकिएका छोरीहरुकी साझा आमा पुष्पाको मातृत्व–प्रेम 

उठ–उठ नारी हो अब डर छैन ।
एउटा मात्रै हातले ताली बज्दैन । 
कति बिकास गरीसके बिदेशका नारीले ।
हामीलाई छोड्दैन घाँसको भारीले ।। 


एकै स्वरमा लय हालेर गित गुनगुनाई रहेका छन्, राजधानीको बुढानीलकण्ठ नगरपालिका आकाशेधारामा रहेको एक बाल गृहका बालिकाहरु । १५ जनाको समूहमा, करिब ५ बर्ष देखी ८ बर्ष सम्मका यी कलिला बालिकाहरु निकै मिठो स्वरमा गीत गाइरहेका थिए । धक फुकाएर सुरिलो स्वरमा गित गाउन मात्रै होइन, त्यहाँ पुग्ने प्रत्येक पाहुनालाई धक नमानी आफ्नो परिचय दिन खप्पीस छन्, यी कलिला नानीहरु । 

केयर बालगृहमा रमाउंदै बालिकाहरु 

यी फुल्दै गरेका तिनै कलिला सपना हुन,जसलाई आफ्नै जन्मदाताले कोपिलामै बाटोमा मिल्काईदिए । तर तीनै बाटोमा मिल्काइएका कलिला कोपिला बटुलेर सुन्दर बगैंचा बनाईरहेकी छिन्, उनीहरुकी साझा मामू अर्थात समाजसेवी पुष्पा अधिकारी । भविष्यमा पाइलट,इन्जिनियर,डाक्टर,पुलिस,मोडल,गायिका इत्यादि बन्ने सपना अहिले बाल केयर गृहमा हुर्किरहेका छन् ।
भबिष्यमा नर्स बन्ने सपना छ एन्जिला अधिकारीको । जन्मदिने बाबुआमा भनेपनि कर्मदिने दिने आमा उनका लागी पुष्पा नै बनेकी छिन । उनिहरुलाई अहिले भेट्न आउनेको तात लाग्छ गृहमा । भेट्न आउनेले कसैले चकलेट,किटक्याट ल्याइदिन्छन् । बिच्छयाएको गलँैचामा लाइनमा पलेटी कसेर बसेका एन्जिला सहितको समुहको हातमा एउटा एउटा किटक्याट थियो । कसैले पनि त्यो किटक्याट खोल्न र खान सकेनन् किनकी उनिहरु गृहको अनुशासनको घेरा भन्दा बाहिर जान सक्दैनन् । एन्जिला भन्छिन “पुष्पा मामुले खाउ भनेपछि मात्रै हामी खान्छौ । एन्जिलाको स्वरमा सबैले स्वर मिलाए । 


दोस्रो साउने सोमबारका दिन तिनै बालिकाहरु बालगृह नजिकैको एउटा चौरमा खेलिरहेका थिए । उनिहरु आ आफनै धुनमा थिए । उनिहरु खेल्दै  गर्दा कता कता बच्चा रोइरहेको  बालिकाहरुले सुने र देखे ।  एउटा कार्टुन भित्र,सफा कपडाले बेरिएकी प्राप्तिका भेटिइन । मामु पुष्पालाई खबर गर्न नपाउदै ति शिशुको नाम उनिहरुले प्राप्तिका राखि दिए । अनि अनुनय गरे सानी प्राप्तिकालाई बालगृह लैजान । पहिले नै यति धेरै छोरीहरुको लालनपालन गरीरहेकी पुष्पाको मनमा द्विविधा चलिरहेकै थियो, तर ती अवोध वालिकाले च्याप्प समातेको आफ्नो हात छुटाउन सकिनन् उनले ।
एकाएक फोटो सामाजिक संजालमा भाइरल बन्यो । बच्चा कसको हो कसले फालेको हो भन्ने अहिले सम्म पत्ता लागेको छैन । आफ्नो परिवारमा थप नयाँ सदस्य थपिएकोमा उत्साहित भएको बताउँछिन् पुष्पा । 

कपनको झाडीमा भेटिएकी प्राप्तिका संगै पुष्पा 


४ बर्षको शिशु उमेरमै बाल केयर केन्द्रले बाटोमा अलपत्र आफूजस्तै स–स्याना नानीहरुलाई पुर्नजीवन दिइरहेको छ । लामो समयदेखि विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवले खारीएकी पुष्पाले यी कलिला मुनाहरुको हेरचाह, अनि पालनपोषण सहित सम्पूर्ण शिक्षादीक्षाको जिम्मा लिएकी छिन् । कतैबाट सहयोग नपाएपनि आफन्तहरुसँग रिन मागेरै भएपनि कलिला नानीहरुको लालनपालनमा कुनै कसूर नछोडेकी पुष्पालाई केही मान्छेले लगाउने वचनले भने चसक्क घोचेको बताउछिन । आफन्तहरु सँग लिएको रिनले मुखमा मास्क लगाएर हिडेको उनि बताउछिन् । 
आफ्नो विद्यार्थी जीवनदेखि नै महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएकी पुष्पाले बाल गृहमा छोरीहरुलाई मात्रै आश्रय दिइरहेकी छिन् । आफ्नै घरमा भएकाले भाडा तिर्नु नपरे पनि छोरीहरुको लालन पालनमा आर्थिक हिसाबले हम्मे हम्मे  परेको छ । अहिलेसम्म कहिं कतैबाट आर्थिक सहयोग नपाएकी पुष्पालाई कार्टुनमा भेटिएकी प्राप्तिकाको प्राप्तिसंगै सहयोगी मनहरु प्राप्त हुन थालेका छन् । पुष्पा एक्लैले गरेको यो होस्टेमा अन्य सहयोगी हातहरुले पनि हैंसे गर्ने हो भने मातृत्व बीहिन प्राप्तिका र उनीजस्ता धेरै वालिकाको भविष्य उज्यालो हुनसक्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार