• २०७७ श्रावण २६ सोमबार

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परीक्षणहरूको शुक्रबार राती आएको रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उनका चालक, पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । सांसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आइसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुक मार्फत जानकारी दिएका छन् । 

त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको उनले जानकारी दिए ।

यसअघि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भई सकेको छ भने पर्सा जिल्लामा संक्रमितको संख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ संक्रमितको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार