• २०७७ असोज ८ बिहीबार

स्रोत नखुलेको १६ लाखसहित ३६ वर्षीय विनोद पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५ सय दरका एक–एक सय थानका आठ ग्डडी बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।

यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्र्याक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्र्याक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २ सय बोरा मटरको दाल र ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार