• २०७७ असोज ८ बिहीबार

नगरिक उड्डयनमा आमूल परिवर्तनका स्वप्नद्रष्टा : राजकुमार क्षेत्री  (भिडियो )

विदेशमा जन्मिएर पनि नेपालमै केही गर्न खोज्ने राजकुमारको संघर्ष कथा

पहाडी जिल्ला पर्वत बाट छोराछोरीको उज्ज्वल भविष्यको सपना बोकेर भारतको आसाम पुगेको एउटा नेपाली परिवारमा नयाँ आशाको रुपमा जन्मिएका हुन्–राजकुमार क्षेत्री । ५७ बर्षअघि आसाममै जन्मिएका क्षेत्री हाल नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक छन् । हुने बिरुवाको चिल्लोपात भनेझैं सानोबेला देखिनै उनी तीक्ष्ण बुद्धि अनि असल स्वभावका थिए । बुबाको सामान्य रोजगारीले जिविकोपार्जन धान्ने र परिवार पाल्ने अवस्थामा, छोराछोरीले पढ्नुपर्छ भन्ने धारणा थियो बुबाआमाको, जसलाई राम्ररी अनुसरण गरे–राजकुमारले । 

मध्यम वर्गीय परिवारमा हुर्किएका राजकुमारले माध्यमिक तहसम्मको पढाई आसाममैै पुरा गरे । दार्जिलिङ्गमा स्नातक तहसम्मको पढाई पुरा गरेका राजकुमार त्यसपछि काठमाण्डौं प्रवेश गरे । सुरुमा सुनसान जस्तै लाग्ने काठमाण्डौसंगको उनको नाता पनि अहिले त ३० बर्ष पुगिसकेको छ । भारतका सहपाठी साथिहरुले नेपाली हो भन्ने थाहा पाएपछि देखाएको ब्यवहारले उनलाई कतिखेर नेपाल पुगौं भन्ने बनाएको थियो । १० कक्षा पढ्दा अदालतमा काम परेर जाँदा उनको थर देखेरै “तिमी त नेपाली रहेछौ भन्दा यहाँ यो काम बन्दैन” भनेपछि उनलाई जन्मभूमिप्रति बितृष्णा पलाएको बताउँछन् । अन्ततः जन्मभूमि आसाम भएपनि आफैंले रोजेकै कर्मभूमिका रुपमा पाए, नेपाललाई ।   

सन् १९८७ मा उनी दार्जिलिङ्गबाट स्नातक उत्तिर्ण गरेर काठमाण्डौं आएका थिए । काठमाडौंमा पहिलो पाईला टेक्नेबित्तिकै मातृभूमि भावले उनको छाति कम्ता चौडा भएको थिएन । बुबा सरकारी जागिरे भएकाले जागिर नै खानुपर्छ भन्ने मानसिकता बनाएका राजकुमार आफ्नो पहिलो कमाइ उन्नाईस सय पन्ध्र रुपयाँले दिएको खुसी आज पनि झल्झली सम्झन्छन् । दुखको बेला पनि आफुलाई मनपर्ने क्यासेट प्लेयर र नाम चलेको घडी किनेको र अहिले सम्म पनि सुरक्षित राखेको उनि बताउँछन् ।  

हामी आफूलाई सन्तुष्ट अनि खुसी राख्न ठूला ठूला कुराको खोजीमा भौतारिईरहेका हुन्छौं । तर सस्याना कुरामा खुसी भेट्ने क्षेत्री सँधैं प्रफुल्ल देखिन्छन् । उनले आफ्नो लक्ष्य पछ्याईरहँदा संगै चुनौतिहरुले पनि उनलाई पछ्याईरहेका थिए । बग्ने खोलालाई किनाराले छेक्दैन भनेझैं उनि अहिलेसम्म पनि आफ्नो कर्मप्रति जिम्मेवार अनि दत्तचित्त भएर लागिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको वरिष्ठ अधिकृत हुँदासम्म पनि उनमा अझै प्रगतिको भोक मरेको छैन । आफू प्राधिकरणमा सेवा प्रवेश गर्दा थोरैमात्र कोटा भएको र प्रतिष्पर्धा कम भएपनि तालिम लिने, आफ्नो बिषयमा गहिरो अध्ययन गरेर  आवश्यक दक्षता हासिल गरेको क्षेत्रीको अनुभव छ ।

संधैं आफुलाई चिटिक्क राख्ने राजकुमार देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक छँदा विमानस्थललाई चिटिक्क बनाउन पनि दिलोज्यान दिएर लागिपरे । विमानस्थल सुधारमा तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रबिन्द्र अधिकारीको सपनाबाट आफू प्रेरित भएको बताँउछन्, उनी ।  तर विमानस्थल सुधारको काम पूरा नहुँदै उनको जिम्मेवारी फेरियो । बुटिक एयरपोर्टको परिकल्पनापछि ,त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थललाई बुटिकस्थल बनाउने जिम्मेबारी उनको काँधमा आयो । सबै काम सम्पन्न गर्न नभ्याए पनि क्षेत्रीले आफ्नो कार्यकालमा बिमानस्थलाई चिटिक्क सजाएका थिए । झण्डै ३० करोडको काम उनको हातमा थियो । जसमध्ये ७ वटा काममा ४ वटा काम मात्रै गर्न पाएका थिए । उनि भन्छन–“म चार महिना मात्रै बस्न पाएको भए सबै काम पुरा गर्थें ।” 
राष्ट्रसेवक कर्मचारीको रुपमा काम गरिरहँदा बाहिर सुनिएजस्तो अवसर मात्र भने नहुने राजकुमारको अनुभव छ । आफूसंग नागरिक उड्डयन क्षेत्र सुधारका थुप्रै योजना रहेपनि “सरकारी काम” भन्ने परम्परागत मानसिकताका कारण पर्याप्त विकास हुन नसकेको क्षेत्रीको गुनासो छ । कुनै पनि क्षेत्रमा पाईला चाल्दै गर्दा प्रत्येक मानिसको ईच्छा हुन्छ, त्यस क्षेत्रको नेतृत्वदायी स्थानमा पुग्ने । आफ्नो जीवनका उर्बर समय नेपालको नागरिक उड्डयनको क्षेत्रमा खर्चिएका क्षेत्रीको पनि प्राधिकरणको मूल नेतृत्वमा पुगेर नागरिक उड्डयनमा देखिने परिवर्तन ल्याउने ठूलो सपना छ । 
आफ्नो सपना पूरा गर्न दृढ अठोटका साथ निरन्तर लागेमा सफलता असम्भव छैन भन्ने  एउटा जीवन्त उदाहरण हुन्–राजकुमार क्षेत्री ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार