• २०७७ मङ्सिर ९ मंगलबार

राजनीतिक नेतृत्वमा युवा सहभागिताको प्रश्न

राज्यले युवा मानेका नेता केन्द्रमा आउनै हम्मे

नेकपा नेता सुरेन्द्र पाण्डेको मङ्गलवार जन्मदिन । २०१७ भदौ ९ गते जन्मिएका पाण्डे यही जन्मदिनबाट ६० वर्ष पूरा भएका छन् । उनी तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनमा माधवकुमार नेपालको प्यानलबाट महासचिवमा उम्मेदवारी दिएर ईश्वर पोखरेलसँग पराजित भएका थिए । तर यो आलेखमा नेकपा स्थायी समिति सदस्य पाण्डेको व्यक्तिगत जिन्दगी वा उनको राजनीतिक यात्राको बारेमा चर्चा गर्न खोजिएको होइन ।

नेपालको राजनीतिमा जब जब ठुला राजनीतिक दलको महाधिवेशनको तिथि नजिकिँदै जान्छ,तब तब एउटा आवाज उठ्ने गर्छ, नेतृत्व पुस्तान्तरण वा युवामा हस्तान्तरणको । 

समकालीन नेपाली राजनीतिको मूलधारमा रहेका प्रमुख दुई दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा अहिले महाधिवेशनको चटारो  छ । अन्यथा भएन भने काँग्रेस र नेकपाको भावी नेतृत्व छान्न यसै वर्षको अन्त्यमा महाधिवेशन हुनेछ । काँग्रेसको फागुन र नेकपाको महाधिवेशन चैतमा गर्ने ती दलको तयारी छ । पार्टीभित्र धमाधम सभापतिका आकाङ्क्षीहरूले आ–आफ्नो उम्मेदवारी सार्वजनिक गरिरहेका बेला काँग्रेस नेता गगन थापाले सभापतिका दावेदारहरुसंग युग सुहाउँदो एजेन्डा नै नभएको प्रतिक्रिया दिएका छन् ।

उनको आशय परम्परागत राजनीतिक संस्कारबाट आएका नेताहरूसँग भविष्य हाँक्ने सोच र भिजन भएन भन्ने देखिन्छ । अघिल्लो महाधिवेशनमै युवापुस्तामा नेतृत्व हस्तान्तरणको मुद्दा उठाउँदै आफ्नै ससुरा सहितसँग महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थापासमेत यस पटक चुनाव लडे भने पनि राज्यले गरेको युवाको परिभाषाभित्र समेटिने छैनन् । उमेरले ४४ कटेका थापालाई राज्यले युवा मान्दैन । नेपालको राष्ट्रिय युवा नीति २०७२ ले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका  नेपालीलाई युवाका रूपमा परिभाषित गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले मानेको वा संसारका अन्य देशले जानेको भन्दा बढी उमेरसम्मकालाई युवा मानिदिँदा पनि नेपालको राजनैतिक नेतृत्व र राज्यसत्तामा युवाहरूको उपस्थिति तत्कालका लागि पनि कोरा कल्पना नै देखिन्छ । कसले के भनिरहेको छ भन्दा पनि यहाँ प्रमुख राजनीतिक दलको नेतृत्वमा रहेका र आसन्न महाधिवेशनमा नेतृत्व दाबी गर्न सक्ने सम्भावित पात्रहरूको नागरिकता पल्टाउने कोसिस गर्न खोजिएको छ, जसले पाठकलाई प्रमुख दलको पहिलो लहरका अनुहारको चमक वा चाउरी नाप्न सजिलो बनाउनेछ । 

फेरि पनि बुढाकै कब्जामा नेकपा

सत्तारुढ नेकपाको वर्तमान नेतृत्व ७० आसपासका  र भावी नेतृत्व दाबी गरेका नेताहरू पनि ५० वर्ष तलका कोही पनि छैनन् । त्यसैले अबको नेतृत्व मात्र हैन, त्यसपछि दोस्रो पुस्ता भनिएकाहरूले अर्को पटक नेतृत्व लिँदा उनीहरूसमेत तीन बिस १० छुन खोज्नेछन् ।

नेकपाको भावी नेतृत्वका दाबेदारहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तीनै जना एक–एक वर्ष घटी बढी भए पनि सबै ६५ माथिका छन् । सबैभन्दा जेठा ओलीले दाबी छाडिदिए भने पनि ६६ वर्षीय प्रचण्डले एक वर्षले दाजु माधवसँग नेतृत्वको लडाइँ लड्नेछन् ।

७२ वर्षीय बामदेव गौतमले समेत आफूले नेतृत्व नपाएको गुनासो पटक पटक गर्ने नेकपामा मूल नेतृत्वमा दोस्रो पुस्ताले चिहाउने समेत सम्भावना देखिन्न । नेकपामा दोस्रो पुस्ताका भनिएका नेताहरू नै ६० कटिसकेका छन् । एकताअघिका महासचिव ईश्वर पोखरेल उमेरले प्रचण्डकै दौँतरी हुन् भने पूर्व माओवादीमा सोही जिम्मेवारीमा रहेका रामबहादुर थापा बादल पनि ६५ का भइसके ।

६४ वर्षीय भीम रावल वा पाण्डे मात्र हैन ६० कटेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेललाई पनि यस पटक नेतृत्वमा आउन सकिएन भने अर्को पटक अनिश्चित छ भन्ने चिन्ता लाग्नु स्वाभाविकै हो । 

नेकपामा सैद्धान्तिक वैचारिक नेतृत्व दिन सक्ने मानिएका घनश्याम भुसाल आफैँ ६० पुग्न एक वर्ष बाँकी छ । अघिल्लो महाधिवेशनमा उनलाई टक्कर दिएका शङ्कर पोखरेल,जो नेकपाभित्र ओलीपछि जबजका प्रखर व्याख्याता मानिन्छन्, उनी पनि ५६ वर्ष पुगिसकेका छन् ।

आफूलाई प्रचण्डका उत्तराधिकारीका रूपमा उभ्याउन खोजेका जनार्दन शर्मा र वर्षमान पुनहरू पनि पाँच दशक माथिकै यात्रामा छन् । चालिस नकटेकाले केन्द्रीय कमिटीमा ढीम्कन समेत गाह्रो देखिएको नेकपाभित्र ५४÷५५ का योगेश भट्टराई र गोकर्ण विष्टहरूले आफूहरूलाई युवाहरूको प्रतिनिधिका रूपमा चिनाउन खोज्नु अन्यथा नहोला । 

तर उनै नेताहरू संसद्मा गएर पारित गरेको राष्ट्रिय युवा नीति २०७२ ले भने उनीहरूलाई चिन्दैन । आफूलाई युवा नेताका रूपमा चिनाउन चाहने तेस्रो पुस्ताले नेतृत्व दाबी नै गर्ने हो भने उनीहरूसँग विद्रोहको विकल्प छैन ।

पालो पर्खेर बस्ने हो भने अहिले नै ५० कटेको यो पुस्ताले पनि अहिले नेतृत्वलाई लागेको ओगटेको आरोप नेतृत्वमा पुग्दा आफैँ झेल्नुपर्ने हुन्छ । 

हजुरबाकै पालाको काँग्रेस

एउटै समितिमा हजुरबुवा उमेरका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेर काम गरिरहेका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल अब देउवा र नेता रामचन्द्र पौडेल दुवैले विश्राम लिएर अभिभावक बन्नुपर्ने बताउँदै आएका छन् । तर महाधिवेशनको तयारी नै सुरु हुन लाग्दासमेत नत ७४ वर्षे सभापति देउवा न एक वर्ष जेठा पौडेलले नै कुर्सी मोह छाड्ने सङ्केत दिएका छन् ।

वयोवृद्ध नेता पौडेलले संस्थापन इतरको साझा उम्मेदवार हुनुपर्ने तर्क प्रस्तुत गरेरै दोस्रो पुस्तामा धेरै आकाङ्क्षी देखिँदा अरूलाई भिडाएर आफू साझा बन्ने सपना त्याग्न सकेका छैनन् । तर अघिल्लो महाधिवेशनमा आफैँले महामन्त्री बनाएका शशाङ्क कोइरालाको उम्मेदवारी घोषणाले उनलाई झस्काएको छ । 

पार्टीमा वैचारिक राजनीति र व्यक्तिगत योगदान भन्दा पनि बंस परम्परामा श्रद्धा गर्ने काँग्रेस नेता कार्यकर्तामाझ यस पटक तीन संस्थापक नेताका छोराले देखाएको सभापति पदको आकाङ्क्षाले युवालाई बरीयताको दोस्रो लहरमा पनि छिर्न नदिने देखिन्छ ।

फागुनमा निर्धारित महाधिवेशनका लागि बिपी पुत्र शशाङ्क,गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण निधी पुत्र बिमलेन्द्रले सार्वजनिक रूपमै दावेदारी पेस गरिसकेका छन् । देउवालाई अघिल्लो महाधिवेशनमा सघाएको गुनको बदला तिर्न माग गर्दै आफूलाई संस्थापनको उम्मेदवार बनाउन निधिले गरेको आग्रहलाई सभापतिले ठाडै अस्वीकार गरिसकेका छन् ।

देउवाले निधिसामु अर्का उपसभापति विजय गच्छदार र नेता गोपालमान श्रेष्ठको हाउगुजी देखाएर पन्छाउन खोजेका छन् । उता अघिल्लो महाधिवेशनमा महामन्त्रीमा जितेका शशाङ्कले देउवालाई बाहेक रामचन्द्र पौडेलले पनि हराउन नसक्ने अभिव्यक्ति दिएर अरू नेतालाई आफ्नो पछि लाग्न हाँक दिएका छन् । यस पटक कुनै हालतमा पछि नहट्ने अभिव्यक्ति दिएका प्रकाशमान सिंहसहित निधी र शशाङ्क सबै ६० कटिसकेका नेता हुन् । सिंह , निधी र कोइराला क्रमशः ६४, ६३ र ६१ वर्षका भए । 

काँग्रेसमा विचारको राजनीति र नेतृत्व हस्तान्तरणको वकालत गर्दै आएका तेस्रो धारका नेता कृष्ण सिटौला आफैँ सत्तरी कटिसके । तर तुलनात्मक रूपमा युवाहरूको आकर्षण रहेको उनको समूहका नेता पनि युवा नीतिले चिनेको उमेरको नेटो काटिसकेका छन् ।

पार्टीमा युवाहरूको हस्तक्षेपको वकालत गर्दै आएका युवा नेता गगन थापा उमेरले ४४ पुगे । उनकै हाराहारीका नेता प्रदीप पौडेल पनि तत्काल पदाधिकारीमै कुनै गुटमा पर्ने तत्काल सम्भावना देखिन्न । महामन्त्रीका लागि आफ्नो दावेदारी नछोड्ने बताएका नेता थापा पुरानै समूह भनेर नबस्ने मनस्थितिमा छन् । तर जे भए पनि सभापतिमा देउवा र  पौडेलको दावेदारी कायम रहेसम्म महामन्त्री लगायतका पदमा तेस्रो पुस्ताको पहुँच त हैन, उम्मेदवारी नै कठिन छ, दुवै गुटबाट । 

 

अबको बाटो

आफूलाई गणतन्त्र र लोकतन्त्रको सूत्रधार मान्ने सत्ताधारी नेकपा र प्रजातन्त्रको जननी दाबी गर्ने काँग्रेसमै त युवा सहभागिताको प्रश्न एकादेशको सपना बन्ने अवस्थामा पूर्वपञ्चहरुको पार्टी राप्रपा र जमिन्दारहरुको बाहुल्य रहेको समाजवादी जनता पार्टीमा युवाको भूमिका खोज्नु पूर्णिमाको उज्यालो आकाशमा जून खोज्नुजत्तिकै हुनेछ ।

आफ्नो हातबाट सत्ता र नेतृत्व उम्कन नदिन उमेरले हैन, विचारले युवा हुनुपर्छ भन्ने बनिबनाउ जवाफ सबैजसो पार्टीका उपल्लो तहका नेताका मुखमै झुन्डिएको छ । त्यसमाथि भागबन्डाको राजनीतिमा केही हात लागिहाल्छ कि भनेर विचार र सिद्धान्त भन्दा पनि गुटको हाँगो समाउँदै राजनीतिक नेतृत्वको लहरमा उभिने संस्कृतिले युवाहरूलाई संधैं पछौटे बनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार