• २०७७ कार्तिक ५ बुधबार

सरकारको अकर्मण्यता बिरुद्ध काँग्रेसले आमरण अनसन थाल्नुपर्छ : धनराज गुरुङ 

कमजोर प्रतिपक्षका कारण सरकारको मनोमानी बढ्यो 

नेपाली काँग्रेसका नेता धनराज गुरुङ तुलनात्मक रूपमा शान्त, तार्किक र बौद्धिक नेताका रूपमा चिनिन्छन् । न्याय र समानताको सवालमा होस वा राजनीतिक आवरणमा मौलाएका विकृति विसङ्गतिमा सांसद गुरुङको लाइन स्पष्ट छ ।  पार्टी भित्र र बाहिरका यस्ता विकृति विसङ्गतिका सवालमा संविधान सभा सदस्यका रूपमा रहँदा समेत संसद्मा चर्को आवाज उठाउँदै आएका गुरुङ पार्टीको वर्तमान  नेतृत्वका कारण नेपाली काँग्रेस कमजोर बन्दै गएको धारणा राख्छन् । प्रस्तुत छ –नेपाली काँग्रेसको आगामी महाधिवेशनमा नयाँ नेतृत्वको बहस, डा. गोविन्द केसीको १९औ पटकको अनसन र सरकारका पछिल्ला काम कारबाहीबारे टिभी अन्नपूर्णले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना कहरले राजनीतिक माहौल पनि सुनसान जस्तै छ, तपाई चाहिँ आजकल के मा व्यस्त हुनुहुन्छ ? 

आजकल खासै व्यस्तता छैन । भौतिक रूपमा भेटघाट तथा कार्यक्रम नभए पनि जुमबाट विभिन्न कार्यक्रम हुने गरेका छन् । यसैमा पार्टीका गतिविधि तथा अन्य विभिन्न कार्यक्रममा सहभागिता जनाउने गरेको छु । आजभोलि यसैमा बढी व्यस्त हुनुपर्ने अवस्था छ । 

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गदै डा. गोविन्द केसी १९औ पटक अनसनमा हुनुहुन्छ । यसमा तपाई र तपाईँको पार्टी नेपाली काँग्रेसको धारणा के छ ? 

यो अनशनको विषयमा पार्टीको धारणा के भन्ने बारेमा मैले बोलिन्न । यसका लागी पार्टीको बैठक बस्नुपर्छ र पार्टीको संस्थागत निर्णय गर्नुपर्ने हुन्छ । गोविन्द केसीको १९औँ पटकको अनसनप्रति मेरो व्यक्तिगत धारणाको कुरा गर्नुहुन्छ भने नेपालका हरेक क्षेत्रमा जस्तै शिक्षा क्षेत्र पनि माफिया तन्त्रबाट मुक्त छैन । यसको सुधारका लागी सत्याग्रहमा हुनुहुन्छ डा. गोविन्द केसी । यो सत्याग्रह माफियातन्त्रको चङ्गुलमा फसेको नेपालको समग्र शिक्षा क्षेत्र शुद्धि करणको अभियान हो । उहाँ पटक पटक अनसनमा बस्नुभयो,तर उहाँको माग अहिले पनि सम्बोधन हुन नसक्नु दुर्भाग्यपूर्ण छ । 

गोविन्द केसीका माग अहिलेसम्म राज्यले सम्बोधन नगरेकै हो त ? अनि अहिलेको विषम परिस्थितिमा केसीको अनसन उपयुक्त छ भन्ने लाग्छ ? 

माग सम्बोधन गर्छु भनेर राज्यले नीतिगत रूपमा सहमति जनाउने,विभिन्न समयमा सम्झौता पनि गर्ने तर यसको कार्यान्वयनमा दृढता नदेखाएको अवश्य हो ।  अर्को, जुन यो अनसनका लागी उपर्युक्त समय हो भन्ने यहाँको प्रश्न छ । हेर्नुस् कोरोनाको विषयलाई देखाएर अहिले अनसन वा आन्दोलन गर्ने समय होइन भन्ने कुरा कुनै पनि हिसाबले तर्कसङ्गत लाग्दैन । सरकार आफैले यो महामारी नियन्त्रणका लागी केही गर्न नसकेको अवस्थामा केसीको अनसनको समय उपयुक्त वा अनुपयुक्त भन्ने बहस जरुरी छैन । बरु सरकारले आफ्नो अकर्मण्यतालाई त्यागेर गोविन्द केसीले अघि सारेका मागको सम्बोधन गर्नुपर्छ । 

गोविन्द केसीका माग जायज हुन् र यसको पूर्णतः सम्बोधन हुनुपर्छ भन्ने लाग्छ भने तपाईँको पार्टीले यसमा ऐक्यबद्धता जनाएर यसलाई पुरा गराउन पहल किन गर्दैन ?  

गोविन्द केसीको मागकै जगमा काँग्रेसले आन्दोलन गर्नुपर्छ भन्ने भन्दा पनि यी माग सम्बोधन गराउन तथा सरकारले पछिल्लो समय आम जनताको स्वास्थ्यमा गरेको खेलबाडका बिरुद्ध, रोजगारी गुमाएका जनतालाई राहत नदिएको विरुद्धमा , मौलाई रहेको भ्रष्ट्राचार बिरुद्ध सिङ्गो पार्टी नेतृत्व आमरण अनशनमा बस्नुपर्छ भन्ने मेरो व्यक्तिगत बिचार हो । एउटा प्रतिपक्षको भूमिका पनि त्यस्तै हुनुपर्ने थियो । 

 

तपाईँले सरकारले भष्टाचारलाई मलजल गर्‍यो, मनलाग्दी गरेर अघि बढ्यो भन्दै गर्दा तपाईँको पार्टी नेतृत्व त यति बेला विभिन्न भागबन्डामा रुमलिने र यसकै साक्षी बनिरहेको अवस्था हो नि ? 

हो, मलाई पनि तपाईँले जे भनिरहनुभएको छ । त्यस्तै त्यस्तै हो कि झैँ लाग्दै छ । सरकारको नालायकीपनको साक्षी नै त म भन्दिन,तर दर्शक भने अवश्य हो । संसदीय पद्धतिमा सत्तापक्षले गरेको कमीकमजोरीलाई सच्चाउन प्रतिपक्षले आवाज उठाउनुपर्ने थियो । तर अहिले नेपाली काँग्रेस संवैधानिक परिषद्को सदस्य हुनुका नाताले यस्ता बैठकमा स्वभाविक रूपमा सहभागिता जनाउनुपर्ने हुन्छ । तर भागबन्डामा रुमलिनु गलत छ । अहिलेको अवस्थामा पार्टी नेतृत्व सच्चिनुपर्ने थियो । विद्यमान नेतृत्वको हिजोको योगदानलाई कम आङ्कलन गर्न मिल्दैन, तर अहिलेको परिदृश्यलाई हेर्दा हाम्रो पार्टीको नेतृत्व थाकेर लखतरान परेको अवस्था भने अवश्य हो । यस कारण यो नेतृत्वबाट यो भन्दा थप अपेक्षा गर्न सकिने अवस्था छैन । 

महाधिवेशनको मिति तोकिए पनि निर्धारित समयमा हुन्छ भन्नेमा ढुक्क हुने अवस्था अझै छैन ।  आखिर पार्टी त अझै पनि यही नेतृत्वले हाँक्नुपर्ने देखिंदैछ नी होइन ?

महाधिवेशन अब तोकिएकै समयमा हुन्छ ।  फागुनको ७ देखी १० सम्म हुने महाधिवेशनको विकल्प नै छैन । विद्यमान अवस्थामा विधि र प्रक्रिया फरक अपनाउनुपर्ने हुनसक्छ तर अब यसको विकल्प खोज्नु हुँदैन । पुरानै नेतृत्वले पार्टी हाँक्ने जुन कुरा गर्नुभएको छ यहाँले , फेरि पनि त्यही लखतरान नेतृत्वलाई भारी बोकाएर अब काँग्रेस पार्टीको सबलीकरण र रूपान्तरण सम्भव छैन । नेतृत्वमा बसिरहने इच्छा देखाउनै नपाउने भन्ने हुँदैन । तर काँग्रेस जनले बुझिसकेका छन् कि अब पनि काँग्रेसले पार्टीलाई हाँक्न सक्ने नेतृत्व स्थापित गर्न नसक्ने हो भने नेपाली काँग्रेस पार्टी नै बाँकी रहदैंन । अबको महाधिवेशनले पार्टी हाँक्नका लागि त्यस्तै खालको नेता ल्याउँछ भन्नेमा म ढुक्क छु । मेरो कुरा गर्नुहुन्छ भने अहिले नेपाली काँग्रेस पार्टी बलियो बनाउनुपर्ने मुख्य चुनौती हो । अहिले पार्टी नेतृत्वमा को आउने भन्दा पनि पार्टीको आगामी कार्यदिशा के हुने प्रधान कुरा हो । 

देश कोरोना महामारीसँग लडिरहेको छ तपाईँले सरकारका पछिल्ला कामकारबाहीलाई कसरी समीक्षा गर्नुभएको छ ? 

तपाईँले कोरोना महामारीसँग लडिरहेको भन्नुभयो तर मेरो यसैमा असहमति छ । सरकार कोरोना महामारी नियन्त्रणमा कहाँ देखिएको छ ? रोजगारी गुमाएर हातमुख जोड्न नसकेका जनताको पीडामा सरकार देखिएन । कोरोना परीक्षण गर्ने सवालमा परीक्षणको दायरा बढाउनुपर्ने थियो, यसमा सरकार देखिएन । अहिले यसको उद्गम चीनमा भन्दा बढी सङ्क्रमित नेपालमा पुगिसके । खै सरकारले नियन्त्रण गरेको ? भ«दुष्टाचार कसरी गर्ने भन्नेमा मात्रै देखिएको यो सरकारले महामारी नियन्त्रणमा पटक्कै केही गर्न सकेको छैन । यसमा सरकार पूर्णतः असफल देखियो । यदि सरकारले केही गर्न खोजको भए देशको प्रधानमन्त्रीले मनलाग्दी बोल्दै हिँड्न मिल्छ । यस्तो संवेदनशील विषयमा बेसार पानी खानुहोस् र हाच्छिउँ गर्नुहोस्, कोरोना आफैँ निको हुन्छ भनेर एउटा सामान्य नागरिकले भनेको भए अहिले ऊ जेलमा हुनेथ्यो । तर प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तै भनेर अफवाह फैलाउदैं हिँड्नुभएको छ । यस कारण यो सरकार महामारी नियन्त्रणमा पूर्णतः असफल भएको अवस्था हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार