• २०७७ मङ्सिर ८ सोमबार

त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा दुई वर्ष पछिको अप्रेसन मिति पर्खिंदै बिरामी

निजी अस्पतालमा महँगो पैसा तिर्न नसक्नेहरू रोग पालेर बस्न विवश

राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँच भन्दा बाहिर छ । अहिले पनि झण्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्ष पछिको अप्रेसन मिति कुरेर बसेका छन् । 

बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि श्रीमती र पाँच छोराछोरी लिएर काठमाडौं आए । नरजित गोकर्णस्थित सुन्ताखानमा रहेको गाई फार्ममा काम गर्न आएका थिए । बाजुराको भीरपाखामा जति नै हाडछाला घोट्दा पनि गुजारा नचलेपछि गाउँकै चिनजानका हितैषीले काम लगाइदिने भनेर उनलाई काठमाडौं ल्याएका थिए ।

सुन्ताखानमा नरजितको सात जनाको परिवारले गाई फार्मसँगै बस्ने टहरो पनि पायो । दुई छोरा र तीन छोरीसहित शाही दम्पती गाई फार्मको काममा घोटिन थाले । परिवारले नै काम गर्थे, खाने–बस्ने सुविधा बाहेक मासिक रु.२० हजार पारिश्रमिक हुन्थ्यो । नरजितको परिवारले आफ्नै फार्म जस्तै मन लगाएर काम गरिरहेका थिए ।

अचानक २०७६ फागुनको शुरूतिर नरजितको कम्मर दुख्न थाल्यो । दुखाइ असह्य भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा जँचाउन गए । अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो । नरजित अलि दिन घरमै बसे । दुखाइ कम हुनुसाटो झन् बढेपछि उनी फागुनको अन्तिम साता काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल गए ।

अस्पतालले उनको उपचारमा रु.३ लाख लाग्ने बतायो । अरूको फार्ममा काम गरेर गुजारा चलाएका शाहीसँग त्यति पैसा जुटाउने स्रोत थिएन । उनी त्यहाँबाट फर्के, केही दिनपछि, २०७६ चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे । त्यतिञ्जेल नेपालमा कोरोनाभाइरसको संक्रमण शुरू भइसकेको थियो । अस्पतालले उनलाई भर्ना लिन मानेन । त्यहाँका कर्मचारीले सुनाए– ट्रमा सेन्टरमा उपचार गर्न रु.२ लाख जति लाग्छ ।  

नरजितसँग फेरि सुन्ताखान फर्कनुको विकल्प भएन ।त्यतिञ्जेलसम्ममा यताउता गर्दा उनीसँग भएको रु.५० हजार सिद्धिइसकेको थियो । नरजितले भने, “सरकारी अस्पतालमा त्यति पैसाले उपचार गर्न पुग्थ्यो होला, अन्यत्र धाउँदैमा त्यो पनि सकियो ।” 

अस्पताल चहार्दाचहार्दै २०७७ वैशाखदेखि उनको कम्मरभन्दा मुनिको भाग चल्न छाड्यो । दुईछाक सजिलै खान पाएका लालाबालाले उनी थला परेपछि दुःख पाउन थाले । आफ्नै पाखुराको बलमा फार्ममा बस्न पाएको परिवारलाई उनी थला परेपछि साहुले निकालिदिए । त्यसपछि गोकर्णको एउटा टहरोमा ओत लाग्न पाएको नरजितको परिवार अहिले केही समाजसेवीको सहयोगको भरमा छ ।

“उहाँलाई ठीक थियो र सबैको हेरचाह गर्नुहुन्थ्यो, अब हामीले उहाँलाई हेरचाह गर्नुपर्छ, काम केही गर्न सकिएको छैन, कसरी पालिने ?” नरजितकी श्रीमती धौलीदेवीले भनिन् । देशको राजधानीमा उपचार नपाएर बिजोग भोगिरहेका नरजित भन्छन्, “काठमाडौं पढेलेखेका मानिस बस्ने र सुविधा भएको ठाउँ होला भन्ने थियो, तर यो झन् दुखारी ठाउँ रै’छ, गरीबका लागि झन् बढी निर्दयी रै’छ ।”

नरजित कुनै मनकारीले सहयोग गरेर सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुन्थ्यो कि भन्ने आशामा छन् ।

दुई वर्षपछि पालो

काठमाडौं, धापासी बस्ने म्याग्दीकी रिता केसी (२९),– २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको अप्रेसन गराउन त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगिन् । म्याग्दी गएका बेला दुखाइ धेरै भएपछि त्यहींको अस्पतालमा भिडिओ एक्सरे गराउँदा पत्थरी देखिएपछि डाक्टरको सल्लाह अनुसार उनी शिक्षण अस्पताल पुगेकी थिइन् । साह्रै दुखेर अस्पताल पुगेकी रितालाई डाक्टरले दुई वर्षपछिको अप्रेसन गर्ने मिति दिए ।

निजी अस्पतालमा अप्रेसन गर्दा लाग्ने खर्च जुटाउन नसक्ने रिता पालो कुरेर बसेकी छिन् । कोरोनाभाइरस संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउने नआउने टुंगो छैन ।

“गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन” उनले भनिन्, “अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले अप्रेसन हुँदैन भनेर फर्काइदिए ।”

बाजुराका नरजित शाही र म्याग्दीकी रिता केसी मात्रै होइन, पेट र छातीको दुखाइ सहेर बूढानीलकण्ठ, काठमाडौंकी शुभद्रा गजुरेल पनि अप्रेसनको पालो पर्खेर बसेकी छिन् । उनको कथा झनै मार्मिक छ ।

उपचार गर्न २३ पुस २०७६ मा त्रिवि शिक्षण अस्पताल पुगेकी शुभद्रा पुरानो भवनमा रहेको ओपीडीको ई–थ्री कक्षमा पसेर डाक्टरको प्रतीक्षा गरिन् । श्रीमान् सुमन गजुरेल पनि साथमै थिए । तीन दिन पहिले भिडिओ एक्सरे गर्दा मिर्गौलामा पत्थरी देखिएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिंदै अप्रेसनको समय लिन बोलाएका थिए । पालो आएपछि उनी ओपीडी कक्षमा पसिन् ।

डाक्टरले सूची हेरे र उनको पालो २०७८ माघ पहिलो हप्ता आउने व्यहोरा शुभद्राको बिरामी कार्डमा लेखिदिए । असह्य दुखाइ खपिरहेकी श्रीमतीलाई दुई वर्षपछिको अप्रेसन मिति दिएको देखेर श्रीमान् चकित परे । अनुनय विनय गर्नुको विकल्प थिएन । उनले डाक्टरसँग अनुरोध गरे, “अलि पहिले सार्न मिल्दैन सर ?”

त्यहाँ डाक्टर ज्ञानेश्वर श्रेष्ठ थिए । उनले केही रुखो पारामा भने, “छिटो अप्रेसन गर्ने भए अन्त जानुस् ।” डाक्टरको वचनले घोचेपछि ऋण खाजेरै भए पनि निजी अस्पताल जाऔंला भन्दै उनीहरू बाहिरिए । तर, खर्च हिसाब गर्दा निजीमा जाने उनीहरूको सामथ्र्य थिएन । सुमन भन्छन्, “निजी अस्पतालमा डेढ लाख रुपैयाँ भन्दा धेरै खर्च लाग्छ भने, त्यसपछि त्यहाँ जाने आँटै आएन ।”

शुभद्रा अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जको २०७८ माघ पहिलो साताको अप्रेसन मिति कुरेर बसेकी छिन् ।

काठमाडौं, लाजिम्पाट बस्ने पार्वती श्रेष्ठ (३७) पनि पित्तथैलीको पत्थरीसँग जुध्दैछिन् । धेरै दुखाइ भएपछि भिडिओ एक्सरे गर्दा उनको पित्तथैलीमा पत्थरी देखिएको थियो । त्यसपछि २०७७ असार पहिलो हप्ता त्रिवि शिक्षण अस्पताल पुगेकी उनलाई अस्पतालले २०७८ असारमा अप्रेसन मिति लेखिदिएको छ ।

पार्वतीको परिवारलाई निजी अस्पतालको खर्च जुटाउन सकिएला भन्ने हिम्मत छैन । निजी अस्पतालमा उपचार गर्ने आँट नभएकाले सरकारीमै पालो कुरेर बसेको पार्वतीका श्रीमान् उपेन्द्रले बताए । “कुर्दाकुर्दै बिरामीको ज्यान पो जाने हो कि, यसको जिम्मा कसले लिने ?” उनले भने, “बेलाबेला अस्पताल जान्छौं, अलि छिटो गरिदिनुप¥यो भन्छौं, अस्पतालले पालो परेको कोही नआए गरिदिउँला भन्छ, अहिलेसम्म त्यो दिन आएको छैन ।”

सप्तरी, राजविराजका वसन्तनाथ शरण (४०) प्यारालाइसिसका बिरामी हुन् । त्यसमै थपियो, पित्तथैलीमा १० एमएमको पत्थरी । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मंसीर पहिलो हप्ता भिडिओ एक्सरे गर्दा पत्थरी देखिएपछि प्यारालाइसिसका बिरामीलाई पत्थरी देखियो भनेर घरपरिवारका मानिस आत्तिए । डाक्टरले पनि छिटो अप्रेसन गरेर पित्तथैली फ्याँक्नुपर्ने सल्लाह दिए । तर, उनको अप्रेसन मिति भने २०७८ कात्तिक अन्तिम हप्ताका लागि तय भएको छ । 

वसन्तकी बहिनी प्रिन्सा शरणका अनुसार, निजी अस्पताल गएर अप्रेसन गर्ने स्रोत नभएकाले उनीहरू राजविराज फर्के । उनी भन्छिन्, “दुई दुईवटा रोग भएका बिरामीलाई राजविराजका अस्पतालले भर्ना लिनै मानेनन् ।” अहिले वसन्तलाई घरमै राखिएको छ । उनी २०७८ कात्तिकको मिति पर्खेर बसेका छन् ।

बाँके, कोेहलपुरकी कमलाकुमारी योगी पनि पित्तथैलीको पत्थरीको अप्रेसनका लागि त्रिवि शिक्षण अस्पतालले दिएको दुई वर्षपछिको पालो कुरेर बसेकी छिन् । २०७६ मंसीरमा अस्पतालले उनलाई २०७८ कात्तिक पहिलो हप्ताको अप्रेसन मिति दिएको थियो । कमला भन्छिन्, “डाक्टरसँग दुखाइ सहनै सक्दिनँ, छिटो पालो मिलाइदिनुस् भन्दा छिटो गर्ने भए निजीमै जानुस् भन्नुभो ।”

दाङ, लमहीकी मालती कुमाल (५२) पनि पित्तथैलीको पत्थरीको अप्रेसनका लागि २०७५ वैशाखदेखि पालो कुरिरहेकी छिन् । त्रिवि शिक्षण अस्पतालले २०७७ पुस दोस्रो हप्ता उनको अप्रेसन मिति तोकेको छ । “बीचमा समय मिल्यो भने बोलाउँछौं भनेको थियो” मालतीका छोरा गुरुप्रसादले भने, “आफंै गएर पनि बेलाबखत बुझ्छु ।”

शल्यक्रिया गरेर पित्तथैलीको पत्थरी फाल्न शिक्षण अस्पतालमै २०७५ चैतदेखि पालो कुर्दैछिन्, पाँचथर, हिंगुवाकी शान्ता थापा पनि । उपचारका लागि पाँचथरदेखि काठमाडौं आएकी उनलाई डाक्टरले अप्रेसन गर्न २०७७ माघ दोस्रो हप्ताको मिति दिएका छन् ।

ऋण खोजेर निजीमा 

नुवाकोटको शिवपुरी गाउँपालिका, खोलेगाउँकी सानुमाया तामाङ खप्न नसक्ने गरी पेट दुखेपछि २०७६ पुस पहिलो साता वीर अस्पताल गएर भिडिओ एक्सरे गरिन् । १३ एमएमको पत्थरी देखियो । अप्रेसन गर्नुपर्ने भयो, तर पालो पाइयो एक वर्ष पछिको ।

रोग पालेर बस्न गाह्रो भएपछि उनी ३ माघ २०७६ मा त्रिवि शिक्षण अस्पताल पुगिन् । रिपोर्ट हेरेर जाँच गरेपछि डाक्टरले उनलाई अप्रेसनका लागि २०७८ कात्तिक तेस्रो हप्ता आउन भने । “दुइटै अस्पतालमा अप्रेसन नहुने भो, गाह्रो भएपछि ऋण खोजेर निजी अस्पतालमा गएर अप्रेसन गरें” सानुमायाले भनिन्, “अप्रेसन गर्दा रु.१ लाख ३० हजार जति खर्च लाग्यो ।”

मकवानपुर, आल्दोमारकी शोभा बर्तौला (७०) पित्तथैलीको पत्थरीले सहनै नसक्ने दुखाइ भएपछि २३ मंसीर २०७६ मा त्रिवि शिक्षण अस्पताल पुगिन् । शल्यक्रिया गरेर पत्थरी फाल्नुको विकल्प थिएन । तर, अस्पतालले उनलाई २०७७ पुस दोस्रो साता मात्रै अप्रेसनको पालो आउने समय दियो ।

शोभालाई त्यसअघि, एक महीनासम्म चाबहिलस्थित ओम हस्पिटलमा भर्ना गरिएको थियो । तर, बुढ्यौलीमा भएकाले जोखिमपूर्ण हुने भन्दै अस्पतालले अप्रेसन गर्न मानेन । त्यसपछि श्रीमान् सीताराम बर्तौलाले उनलाई शिक्षण अस्पताल पु¥याएका थिए । “एक महीना राखेर ओमले अप्रेसन गर्न नमानेपछि यहाँ आएँ । डाक्टरले एक वर्षपछि मात्र पालो आउँछ भने”, सीताराम भन्छन् । शोभा अहिले त्यही पालो कुरेर बसेकी छिन् ।

पेट असाध्यै दुखेर ज्वरोसमेत आएपछि धादिङ, नौबिसेकी कालीमाया तामाङ (२८), २०७६ कात्तिक पहिलो साता त्रिवि शिक्षण अस्पताल पुगेर भिडिओ एक्सरे गरिन् । पित्तथैलीमा पत्थरी देखियो । तर, अस्पतालले उनको अप्रेसन २०७७ चैत दोस्रो साताभन्दा पहिले गर्न नसकिने बतायो । उनका श्रीमान् मम्बा च्याङ भन्छन्, “एकपटक फेरि डाक्टरलाई सोध्छौं, पालो नआउने भए रोग पालेर बस्नुभन्दा ऋण लिएरै भए पनि निजी अस्पताल जानुपर्ला ।”

‘सबैलाई थेग्नै सक्दैनौं’

त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा गम्भीर रोगका बिरामी बाहेक अरूले प्रायः शल्यक्रियाका लागि पालो पाउँदैनन् । यी अस्पतालमा पत्थरी लगायत रोग पालेर बसेका बिरामीका लागि एक वा दुई वर्षपछि मात्र अप्रेसनको पालो आउनु सामान्य जस्तै छ ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसी सीमित सरकारी अस्पतालमा आउने बिरामीको संख्या बढी भएकाले लामो समय पालो कुर्नुपरेको बताउँछन् । उनी भन्छन्, “वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा देशैभरका बिरामी आउँछन्, त्यत्रो संख्या दुईवटा अस्पतालले मात्रै थेग्न सक्दैनन्, संरचना थप गर्नुपर्छ ।”

२०७८ कात्तिकसम्मको अप्रेसन मिति कुरिरहेका बिरामीहरुको अभिलेख– ‘बिरामी पुर्जा’ ।

त्यसमा पनि कोरोनाभाइरस संक्रमणको महामारीले यस्ता बिरामीका लागि सरकारी अस्पतालमा शल्यक्रिया गर्नु असम्भव जस्तै भएको छ । परिणाम, निजी अस्पतालमा महँगो पैसा तिर्न नसक्नेहरू रोग पालेर बस्न विवश छन् ।

‘लकडाउन’ शुरू भएयता राजधानीका ठूला सरकारी अस्पतालले अप्रेसन गर्ने अवस्था नभएको भन्दै यस्ता बिरामी भर्नासमेत लिन छाडेका छन् । २०७८ चैतसम्म अप्रेसन गर्ने पालो कुरिरहेका बिरामीको संख्या त्रिवि शिक्षण अस्पतालमा ५४० भन्दा बढी छ भने वीर अस्पतालमा यो संख्या २४७ छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले उपचारको पालो कुरेर बसेका सयौं बिरामीहरू लकडाउनयता अस्पतालमा नआएको बताए ।

त्रिवि शिक्षण अस्पताल जीआई तथा जनरल सर्जरी (पाचन प्रणाली सम्बन्धी रोगहरूको शल्यक्रिया गर्ने) विभाग प्रमुख प्रा.डा.पलेश्वा जोशी लाखे दैनिक पाँचजना पत्थरीका बिरामीको शल्यक्रिया हुने गरेको बताउँछिन् । पेट सम्बन्धी शल्यक्रिया हुने यो विभागमा सातजना शल्यचिकित्सक छन् । देशभरका बिरामी त्रिवि शिक्षण अस्पतालमै आउने, तर अहिले भएको जनशक्तिले सबै बिरामी हेर्न नसक्ने भएकाले पालो कुर्नुपरेको उनको भनाइ छ । “गम्भीर रोगका बिरामीले लामो समय पर्खनु पर्दैन” उनले भनिन्, “तर, यहाँ सबै बिरामीको अप्रेसन सम्भव छैन, लामो समयसम्म कुर्नुभन्दा अरू ठाउँमा पनि सजिलै हुने अप्रेसनका लागि अन्यत्र जानुस् भनेर हामी नै सल्लाह दिन्छौं ।”

त्रिवि शिक्षण अस्पतालका अनुसार २०७६ साउन यता हाडजोर्नी, नसा, पत्थरीलगायत सबैखाले रोगका बिरामी २ हजार ५१ जनाको अप्रेसन भएको छ । त्रिविमा सामान्यतया एक हप्तामा ५० जनाको अप्रेसन हुन्छ ।

सामान्य अवस्थामा त्रिवि शिक्षण अस्पतालमा शल्यचिकित्सा अन्तर्गतका विभाग पाँच वटा छन् । जसअन्तर्गत जीआई तथा जनरल सर्जरी, न्यूरोसर्जरी, युरोसर्जरी, प्लास्टिक सर्जरी, पेडियाट्रिक सर्जरी (बाल शल्यचिकित्सा) विभाग छन् । यी विभागमा सोमबार, बुधबार र शुक्रबार अप्रेसन हुन्छ । तर, अहिले यी विभागले पालोे कुराएर राखेका बिरामीको अप्रेसन हुनसकेको छैन । सामान्य अवस्थामा बिरामीको चाप बढी हुने भएकोले यति मात्रैै विभागले नथेग्ने डाक्टर ज्ञानेश्वर श्रेष्ठ बताउँछन् ।

उनले भने, “सबैजसो बिरामी सहज उपचार खोज्दै सरकारीमै आउँछन् । यहाँको जनशक्ति र स्रोतसाधनले भ्याउँदैन । त्यही भएर पनि धेरै बिरामी क्यूमा बस्नुपर्छ ।”

तर यहाँ पनि भनसुन चल्ने र नातागोता भएकाले पालो कुर्नु पर्दैन । त्रिवि शिक्षण र वीर अस्पतालमा दूरदराजबाट आएका बिरामीहरू पहुँच हुने बिरामीले पालो कुर्नै नपर्ने, तर आफूहरूले वर्षौंसम्म कुर्नुपरेको गुनासो गर्छन् । शिक्षण अस्पतालमा भेटिएका महेश साहले भने “हामीभन्दा पछि आएका उहिल्यै अप्रेसन गरेर फर्किसके, हामीलाई एक वर्षपछि आउनू भनेर समय दिएको छ ।”

शिक्षण अस्पतालमै पत्थरीको अप्रेसनका लागि पालो कुरेर बसेकी भक्तपुर खरिपाटीकी राधा तिम्सिनाले अस्पतालका कर्मचारी र चिकित्सकमार्फत आउने बिरामीको छिट्टै अप्रेसन भए पनि पहुँच नपुग्नेहरूले कुरेर बस्नुपरेको गुनासो गरिन् । उनको अप्रेसनका लागि अस्पतालले २०७७ वैशाखको मिति दिए पनि कोरोना महामारीका कारण अस्पतालले उपचार गर्न मानेन । उनी भन्छिन्, “चिनजान र आफ्ना मान्छे भए उहिल्यै उपचार भइसक्थ्यो, अस्पतालमा फोन गरेर बुझ्दा पर्खिनुस् मात्रै भन्छन् ।”

अस्पतालको प्रशासनका निमित्त प्रमुख माधव घिमिरेले नै उपचारको लागि दबाब आउने र बिरामीको अवस्था हेरेर उपचारमा सहजीकरण गरिदिने गरेको भनेर त्यहाँ ‘भनसुन चल्ने’ जनाउ दिए । उनले भने, “चिनजानका व्यक्तिले अरूको पालो मिच्न खोज्छन्, कतिपयले सीधै डाक्टरलाई फोन गरेर पनि अप्रेसनको समय लिन्छन्, त्यसले गर्दा उपचारको पालो पर्खिरहेका बिरामीलाई केही मर्का पक्कै पर्छ ।” 

रोग पालेर बाँच्न विवशहरूको यो पीडाले निर्वाचनताका दलहरूले जनतासमक्ष गरेका स्वास्थ्य सेवा सम्बन्धी बाचाहरू मात्र सार्वजनिक खपतका लागि थिए भन्ने पनि खुलासा गरेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ का लागि हालको सत्तारुढ दल (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) को संयुक्त चुनावी घोषणापत्रमा ‘स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी वृद्धि गरिने’ भनिएको थियो । घोषणापत्रमा भनिएको थियो, “सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरिनेछ, गरीबीको रेखामुनि रहेका जनताको लागि बीमा रकममा ५० प्रतिशत सरकारले भुक्तानी गरिदिनेछ, हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालन गरिनेछ ।” तर, सुगम र राम्रो स्वास्थ्य पूर्वाधार भएको राजधानीमा समेत नागरिकले भोगेको यो कष्टकर जीवनले लोकतान्त्रिक प्रणालीमा दलहरूले गर्ने सार्वजनिक बाचाको विश्वसनीयतामै प्रश्न उठाइदिएको छ ।

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार