• २०७७ कार्तिक १५ शनिबार

के यो सडक–प्रदर्शनको उपयुक्त समय हो ?

बैठक–सम्मेलन भर्चुअल हुन सक्छ, बिरोध हुन सक्दैन ?

कोरोनाकै बीच माइतीघरमा भएको प्रदर्शन

सरकारले कोरोना रोकथामका लागि भन्दै विद्यालय, विश्वविद्यालय,सिनेमा घर,रंगशाला लगायतका बढी भीडभाड हुने क्षेत्र र व्यवशाय संचालनमा लगाएको रोक अझै हटाएको छैन । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन पनि सरकारले आदेशतः रोक नै लगाएको अवस्था छ । तर संघीय राजधानी काठमाडौंमा दिनहुँ जस्तै विभिन्न निहुँ र ब्यानरमा बिरोध प्रदर्शनका नाममा अनियन्त्रित भीड बढ्दो छ ।

 २ साता अघिसम्म विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्नेहरुको भीडले भरीने गरेको काठमाडौंको सडक, त्यसयताको केही दिन डा. गोविन्द केसीका मागमा सरकारलाई दवाब दिन उत्रिएका मानिसहरुले भरीभराउ देखियो । अब डा. केसीको मागमा सरकारले सहमति जनाइसक्यो, तर निश्चित छ–अर्को कुनै न कुनै नाममा माईतीघर मण्डलाले आफ्ना दर्शनार्थीहरु भेटाउने नै छ ।  खासगरी सरकारले सामूहिक बिरोध प्रदर्शनका लागि छुट्याएको माईतीघर मण्डला र बानेश्वरबीचको मुल सडक क्षेत्र आन्दोलनकारी वा प्रदर्शनकारीको प्रमुख रोजाई बन्ने गरेको छ । त्यही क्षेत्रमा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित अत्यावश्यक सेवाग्राहीहरुको भीड लाग्ने सर्वोच्च अदालत,जिल्ला प्रशासन,जिल्ला अदालत लगायतका कार्यालयहरु समेत रहेका छन् । 

यत्तिकै पनि मानिसहरुको बाक्लो आउजाउ हुने माइतीघर क्षेत्रमा दिनहुँजसो हुने गरेका भीडभाड र प्रदर्शनले कोरोनाको शिखर चढ्दो ग्राफलाई गिज्याईरहेको भान हुन्छ । यो वा त्यो बहानामा माईतीघर मण्डला र आसपासको सडकले आराम नपाएको थुप्रै भैसक्यो । बिरोधका लागि भीड गर्नेहरुको एउटा तर्क हुनसक्छ– सरकारले नसुनेपछि के गर्ने त ?

एकछिन अर्को एउटा प्रसंगतर्फ पनि ध्यान दिऔं । के सरकारी , के गैरसरकारी वा के ब्यक्तिगत, मानिसहरुको कुराकानी, भेटघाट, पढाई र बैठक मात्र नभै अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलनसमेत सूचना र प्रविधिको उच्चतम प्रयोगमार्फत विद्युतीय रुपमा संचालन भैरहेका छन् । संयुक्त राष्ट्रसंघजस्तो विश्वस्तरमा मान्यताप्राप्त साझा संस्थाले समेत आफ्नो महासभामा प्रत्यक्ष सहभागी हुन असमर्थ राष्ट्र र सरकार प्रमुखहरुलाई यसपटक भर्चुअल सम्बोधन एवं सहभागीताको ब्यवस्था ग¥यो । सरकारका विषयगत बैठक, अन्तर कार्यालय छलफलदेखि विद्यालय,विश्वविद्यालयका पठन पाठन समेत जुम, गुगल मीट अनि माइक्रोसफ्ट टीमका भर्चुअल भेटघाट प्रविधिमार्फत भैरहेको छ,कोरोनाले आक्रान्त विश्वका सबैजसो भूभागमा । 

काठमाडौंका सडकमा विभिन्न समूह वा अभियानका नाममा संगठित हुनेहरु अधिकांश शिक्षित नै छन् । बिहान काम नगरे बेलुका खान नपाउनेहरु र एक छाक टार्नकै लागि खुलामञ्चको निःशुल्क खनाको लाइनमा लाग्नेहरुलाई केही सय मिटर परको माईतीघरको प्रदर्शनले कहिल्यै आकर्षित गर्न सकेको छैन र सक्दैन पनि । 
अहिले नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनकै ४–५ हजारको संख्यामा उकालो लागिरहेको छ । जसमथ्ये झण्डै ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै थपिने गरेका छन् । तर यही काठमाडौंमै मानिसहरु अत्यावश्यक कामका लागि भन्दा अनावश्यक कामका लागि सहर बजार र भीडभाडमा जाने लापरबाही बढ्दो छ । अझै केही उरण्ठेउलाहरु त कोरोना सोराना केही हैन भन्दै मास्क,भौतिक दूरी र ब्यक्तिगत सरसफाईको धज्जी उडाउँदै भीड सिर्जना गरीरहेका छन् । अर्कोतर्फ जायज नै माग उठाएर सडकमा उत्रिनेहरुले पनि एकपटक ठण्डा दिमागले सोंच्न जरुरी छ कि अरु कुनै विषयमा सडकमा उत्रिएर आन्दोलन गरेर घर फर्किंदा हामीले कतै परिवारका अन्य सदस्यलाई कोरोना कोशेली त लगिरहेका छैनौं ? संक्रमितहरुको संख्या बढ्दै जाँदा रोकथामको अनिवार्य र एकमात्र उपाय सामाजिक दूरी कायम गर्नु नै हो । 

तर अहिले कोरोना जोखिम उच्च रहेकै ठाउँमा भीडभाड, बिरोध  वा प्रदर्शन गर्नु आफैंमा कत्तिको जायज होला । मानिलिउँ कि बिरोध नगरी नहुने विषय आईप-यो वा सार्वजनिक रुपमा आवाज उठाउन परे के हामीसंग सडकमा ओर्लिएर भीड जम्मा गर्नुको विकल्प छैन ?

आज भर्खर विद्यालय जाने उमेरका कलिला बालवालिकाहरु जानीनजानी अभिभावको सहयोग लिएर भएपनि अनलाईन कक्षामा पढीरहेका छन् ,दुर्गममा डाक्टर उपलब्ध नभएका स्थानमा समेत सहरमा बसेका डाक्टरले टेलिमेडिसिनमार्फत उपचार गरीरहेका छन् । कार्यालय र संघसंस्थाका अत्यावश्यक र सम्भव काम वर्क फ्रम होमको अवधारणामा घरबाटै संचालन भैरहेका छन् । अरु त अरु बजार गएर संक्रमणको खतरा मोल्न नचाहनेका लागि काठमाडौसहितका ठूला सहरमा घरघरमै सामान उपलब्ध गराइदिने अनलाईन पसलहरुसमेत थुप्रै खुलेका छन् । यस्तो अवस्थामा चित्त नबुझेका वा विरोध गर्न मन लागेका विषयहरुमाथि आफ्नो मत जाहेर गर्ने थुप्रै सभ्य र सुरक्षित तरीकाहरु छन्–प्रविधिको संसारमा ।

संसारभर महिला हिंसाबिरुद्ध उठेको मी टु अभियान वा भारतीय नाकाबन्दीका बेला चर्किएको गो ब्याक इण्डिया लगायतका विरोध सडक नभरेरै उत्कर्षमा पुगेका थिए । यति धेरै सामाजिक सञ्जालहरु र सूचना प्रविधिको पहुँचका बीच सडकमा नओर्लिएरै सोसियल साईटहरुमा समूह बनाएर बिरोध वा अन्य अभियान सहजै संचालन गर्न सकिन्छ । मर्यादित र शीष्ट भाषाहरुको प्रयोग गर्दै विभिन्न पेज वा गु्रप बनाएर सम्बन्धित ब्यक्तिहरुलाई समेत ईंगित गरेर गर्न मिल्ने भर्चुअल बिरोध सुनुवाईका हिसाबले सडक प्रदर्शनभन्दा धेरै गुणा प्रभावकारी हुनसक्छ ।

सडकलाई नै महामारीको भेलले बगाउला झैं गरी उपत्यकामा मडारिईरहेको कोरोनाको कालो बादलका बीच पनि मूर्खता देखाउँदै फेरि बबरमहल र माईतीघरमा भीड जम्मा गर्ने हो भने हाम्रो कोभीडको अवस्था केही समयअघिको स्पेन वा ईटालीजस्तै नहोला भन्न सकिन्न । त्यसैले संसारभर सिकाई, भोगाई र दैनन्दिनी कारोबारहरुमा समेत सहजता ल्याइरहेको भर्चुअल विधिको प्रयोग गरेर असहमति, विरोध वा आवाज बुलन्द गर्नु सबैका लागि श्रेयस्कर छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार