• २०७७ कार्तिक १५ शनिबार

काठमाडौँको अवस्था भयावह भइसकेको छ, कोरोना केही होइन भन्नेले जोखिम निम्ताए : डा. गौतम

दुई प्रतिशत जनसङ्ख्यालाई मात्रै सङ्क्रमण भएपनि राज्यले धान्ने अवस्था छैन 

नेपालमा कोरोना सङ्क्रमण अनपेक्षित रूपमा फैलिँदै छ । पछिल्ला केहि दिनदेखी बढेको सङ्क्रमणको दरलाई हेर्दा नेपालमा छिट्टै कोरोना महामारी थप भयावह हुने आँकलन गर्न सकिन्छ । देशभर ३१ हजार बढी सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा मात्रै अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै २० हजार नजिक पुग्दै छ । चाडबाड नजिकिदै जाँदा खागसरि काठमाडौँ उपत्यकामा बढेको भिडभाड र असावधानीका कारण उपत्यकामा सङ्क्रमणको दर विस्फोटक बन्दै छ । अहिलेसम्मको सरकारको तयारीलाई हेर्दा झन्डै ५० लाख बसोबास गर्ने काठमाडौँ उपत्यकामा जनसङ्ख्याको दुई प्रतिशतलाई मात्रै सङ्क्रमण भए अस्पतालमा बेडको अभाव हुने र उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता हुनेछ । यही सन्दर्भमा कोरोना महामारीको अहिलेको अवस्था र नियन्त्रणमा भएका सरकारी पहलका विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमसँग टिभी अन्नपूर्णले गरेको कुराकानीको सम्पादित अंश ः 

आजकल निक्कै व्यस्त हुनुहुन्छ होइन ? 
व्यस्त नै छु आजकल मात्रै हैन सधैजसो दैनिक १८ घण्टा काम गर्ने मान्छे हुँ । तुलनात्मक रूपमा अहिले बरु फुर्सदिलो भन्नुपर्छ । पछिल्लो समय दैनिक १४ देखी १५ घण्टा मात्रै काम गर्छु । संसारभरका सबैलाई आतङ्कित पारेको कोभिड १९ को महामारीले नेपालमा पनि उत्तिकै असर गरिरहेको छ । जसका कारण अहिले देशको सबै क्षेत्रको ध्यान यसैमा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय त झन् यसको म्यानेजमेन्टमा गर्ने मुख्य मन्त्रालयको प्रवक्ता भएकाले स्वभाविक रूपमा व्यस्तता छ । 

नेपालमा कोरोना महामारीको अहिलेको अवस्थालाई कुन रूपमा चित्रण गर्नुभएको छ ? 
कोभिड १९ सङ्क्रमणका विभिन्न चरण हरू हुन्छन् । सुरुमा एउटा दुई वटा केशहरू आएका थिए त्यसलाई इस्पोराइडिक केस भन्छौ । अहिले  ती केसहरू फैलिँदै कलस्टर कलस्टरमा पुगेको छ । सुरुवातमा बाँकेमा देखियो । त्यसपछि पर्साको वीरगन्ज अहिले काठमाण्डौमा यस्तो देखिएको छ । काठमाण्डौमा फैलिएको यो एरिया सबैभन्दा बढी हो । यसका लागी हामीले सबैभन्दा पहिले यसको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । यो रोग विश्वकै लागी नयाँ हो । यसको अवस्था लक्षण र यसको हिष्ट्रि हेरेर हामीले पनि सिक्दै आएका छौं । पहिला नेपालमा दुई वटा केश देखियो त्यो बेला लकडाउन सुरु भयो । जुन बेला त्यो जरुरी पनि थियो किनभने हाम्रोमा यसको परीक्षण गर्ने व्यवस्था पनि थिएन । अस्पतालमा कार्यरत चिकित्सकहरू त बिरामी छुन मान्ने अवस्थामा पनि थिएनन् । यसबिचमा यो रोगको सङ्क्रमितको सङ्ख्या त बढेर गएको छ तर सोही अनुपातमा परीक्षणको काम पनि भइरहेको छ । अहिले दैनिक १४ हजार परीक्षण एकै दिन भइरहेको छ । अहिले काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दा मानिसहरू बढी त्रसित छन् । तर नेपालले वान अफ दि वेस्ट रिजल्ट ल्याएको छ । जुन रूपमा सङ्क्रमण फैलिँदो छ यसको नियन्त्रणका लागी पनि असाध्यै धेरै कामहरू भएका छन् । यसबाट हामी सन्तुष्ट छौं । 

कोरोना महामारी सुरु भएको देश चीनलाई नै उछिनेर हाम्रोमा दैनिक हजारौँका दरले सङ्क्रमित बढेका बढ्यै छन् फेरि पनि तपाई भन्दै हुनुहुन्छ हामीले नियन्त्रण गरिरहेका छौं ? 
हो, तपाईँले भनेको चीनको कुरा जुन छ, हो त्यहाँ नियन्त्रण सजिलो थियो । ७ करोड जनसङ्ख्या भएको देशमा जब महामारी फैलन थाल्यो पुरै सिल गरेर परीक्षण र उपचार सुरु भएको थियो । नेपालमा पनि सरकारको पक्षबाट हुने काम भएको छ । जनताले जुन रूपमा सहयोग गर्नुपर्ने थियो यसमा पर्याप्त सहयोग नपाउँदा अपेक्षित रूपमा नियन्त्रणमा केही कठिनाइ अवश्य भएको हो । जनताले विज्ञहरूले दिएका सुझाव पालना गर्ने र सामान्य स्वास्थ्य सावधानी मात्रै अपनाउने कुरामा अनुशासित भइदिएको भए आजसम्म पुरै नियन्त्रणमा आइसक्ने थियो । 

सरकारले भनेको मानेर भोकभोकै पनि जनता ७ महिनासम्म ढोका थुनेर बसेका थिए , तर तपाई भन्दै हुनुहुन्छ सरकारले राम्रो गरेको छ जनताले सहयोग गरेनन् ? 
हो त्यो बेला सङ्क्रमण सामान्य थियो तर जब खुकुलो भयो । मान्छे बेप्रवाह सामान्य स्वास्थ्यका मापदण्ड पनि नअपनाई हिँड्न थाले हामीले भनिरहेका थियौ । जोखिम कायमै छ । मास्क लगाउनुस् अनिवार्य सामाजिक दुरी कायम गर्नुहोस् तर कतिले माने, कतिले मानेनन् अहिले पनि हेर्नुहोस् पुरै सतर्कता अपनाउनेहरूमा निक्कै कम सङ्क्रमण भएको अवस्था छ । यो बिचमा सरकारले केही गरेन भन्छन् यो सत्य होइन । किनकि हिजो कुनै पनि व्यवस्था थिएन आज धेरै कुराको व्यवस्था भएको छ । हङकङ लैजानुपर्ने अवस्था थियो परीक्षणको लागी पनि , तर आज दैनिक हजारौँको परीक्षण भइरहेको छ । पहिलो परीक्षण शुल्क ५ हजार थियो यो बेला पनि राज्यले निःशुल्क परीक्षण गराएकै हो । अहिले दुई हजार पर्छ एउटा परीक्षण बराबर यो पनि दैनिक हजारौँको सङ्ख्यामा भइरहेकै छ । सङ्क्रमित भएर आइसियुमा जानुपर्ने भए दैनिक एक जनाको लागी १५ हजार खर्च हुन्छ  । आवस्याक उपचार हुनेसम्म त गरिरहेकै छ । यहाँ राज्यले जतिसुकै  गरे पनि जनताले स्वास्थ्य सुरक्षाका सामान्य मापदण्डको पनि पालना नगर्ने हो भने सरकारले जति गरे पनि केही हुँदैन । सरकारले गर्नुपदैन भनेको होइन सरकारले पनि अझै गर्नुपर्ने धेरै काम छन् तर यो सँगसँगै आम मानिसले पनि आफ्नो सुरक्षाका लागी धेरै केही नगरे पनि मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने कुरामा ध्यान दिनुपर्ने थियो । 

यसको अर्थ सरकारले कोरोना नियन्त्रणमा गरेको करोडौँ रुपैयाँ खर्च अन्यत्र भन्दा  आम मान्छे लाई सचेत हुनेतर्फ लगाउनुपर्ने देखियो हैन ? 
हामीले आम मानिसलाई सचेत बनाउने कुरामा पनि निक्कै ठुलो खर्च गरेका छौं । नेपाल जस्तो गरिब देशले अहिले यो महामारीसँग जुध्न गरेको खर्च सामान्य होइन । यसबिचमा हामीले अध्ययन अनुसन्धान पनि गरेका छौं । कतिले मास्क लगाएका छन् वा छैनन् ? आवस्याक दुरी पालना गर्न सकिएको छ वा छैन ? यी र यस्ता थुप्रै विषयमा अहिले अनुसन्धानको काम भइरहेको छ । आम जनताको तहबाट पनि सहयोग मिलेको छ । तर अहिले सङ्क्रमणबाट बच्न ७५ देखी ८० प्रतिशत मानिसले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशन पालना गरेका छन् । यसलाई १०० प्रतिशत पु¥याउनुपर्ने हुन्छ । यसबाहेक अर्को यथार्थ तर  म नेपाल सरकारको कर्मचारी भएर धेरै बोल्न नमिल्ने वा नचाहने भएकाले अहिलेसम्म भनेको छैन । एउटा विडम्बना यो महामारीको समयमा पनि पक्ष प्रतिपक्ष वा तत्कालीन चर्चामा आउन गरिने हल्का टिप्पणीले पनि कोरोना फैलनलाई मद्दत गरिरहेको छ । यस्तो कार्य तत्काल बन्द गनुपर्छ । हामीले कोरोना लाग्यो भने बबार्द हुन्छ सचेत हुनुहोस् , स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोस् भन्ने तर कोही कोहीले यो होइन भन्ने र जनता भड्काउने अनि कोरोना फैलदैं जान्छ त्यसको दोष सरकारलाई लगाउन उद्धत देखिएका छन् । यस्तो कार्य तत्काल बन्द हुनुपर्छ । 

हिजो सरकारले यसलाई नजरअन्दाज गरेकै कारण आज नियन्त्रणबाहिर गएको छ । तपाई जनतालाई दोष लगाएर उम्कन मिल्छ ? 
मैले जनतालाई दोष लगाएको छैन । तर यसको दोषी सरकार मात्रै हो भन्न पनि मिल्दैन । सरकारले यसमा नजरअन्दाज गरेको भन्नु गलत हो   । सरकारले यसलाई कहिल्यै पनि नजरअन्दाज गरेको छैन । यो ८० प्रतिशतलाई लक्षण नै देखिँदैन त्यसो भएर सामान्य भनेका हुन । तर २० प्रतिशत जसलाई लक्षण देखिन्छ ती मध्ये दुई प्रतिशतको त डेथ नै हुने गरेको अवस्था छ । अस्तीमात्रै मेरो एक जना चिकित्सक साथीको यही कारण मृत्यु भयो । तपाईँलाई थाहै छ अहिले विकसित मुलुक अमेरिका, अस्ट्रेलिया, युरोपमा त मान्छे मरिरहेका छन् । यस्तो अवस्थामा सरकारले यसलाई कुनै पनि बेला सामान्य आँकलन गरेको छैन । 

देशको प्रधानमन्त्री आफैँले यो सामान्य हो । बेसार पानी खानुहोस् यसलाई हाच्छिउँ गरेर भगाईदिनुहोस भन्नुभएको तपाईँले सुन्नुभएको होइन ?  
कुनै प्रसङ्गमा त्यो भन्नु भयो होला तर उहाँ यसको बारेमा सिरियस हुनुहुन्न भन्ने मलाई लाग्दैन । उहाँले कतिपय त्रसित भएका जनतालाई सान्त्वना दिएर उनीहरूको मनोबल बढाउन पनि त्यो भन्नुभएको हुनसक्छ । 

अहिले काठमाडौँमा दैनिक सङ्क्रमितको दर बढेको छ । के यहाँको अवस्था भयावह भइसकेको हो ? 
हो, काठमाडौँको अवस्था एकदमै विस्फोटक देखिँदै छ । झन्डै ५० लाख जनसङ्ख्या बस्छ काठमाडौँमा जसमध्ये कुल जनसङ्ख्याको दुई प्रतिशतलाई मात्रै कोरोनाले छोयो भने १ लाखलाई पुग्छ । अनि ती एक लाखलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए के हुन्छ । सोच्नुहोस् त यस कारण अवस्था यही रूपमा अघि जाने हो भने भयावह हुनेवाला अवश्य छ । हेर्नुहोस् अहिले पनि मान्छेलाई चर्चामा आउन रेम्डिसिभिर भनेको छ । कन्भालेसन प्लाज्मा भनेको छ । आइसियु भनेको छ । भेन्टिलेटर भनेको छ । यी कुनै पनि सत्य होईनन । कोरोनाको अहिलेसम्म कुनै उपचार छैन । त्यसकारण सङ्क्रमणको रोकथाम गर्नु मुख्य कुरा हो । यो कुरामा मान्छेले अहिले पनि पटक्कै ध्यान दिएका छैनन् । यस कारण काठमाडौँमा आम मानिस सचेत नहुने हो भने जुन कुनै बेला भयावह हुने अवस्था छ । 

यो भयावह अवस्थाबाट जोगाउने सरकारको तयारी के छ त ? 
सरकारको तयारी भन्दा बढी जनता सचेत बन्नुपर्छ भन्ने कुरा मैले माथि नै भनिसकेको छु । सधैँ लकडाउन गर्न सम्भव छैन  । मास्क लगाउने र दुरी कायम गर्ने नै कोरानाबाट बच्ने एक मात्रै उपाय हो । 

काठमाडौँ बाहिरको अवस्था के हो ? त्यहाँ सहज भएको भन्न मिल्छ ? 
सहज भएको भन्नै मिल्दैन नि । संसारमा कहीँ पनि सहज भएको छैन । धेरै देशमा कम भएको छ तर यसको अन्त्य त कहीँ पनि भएको छैन ।  नेपालमा काठमाडौँ बाहिर सङ्क्रमित केही कम देखिँदैमा सहज भएको भन्न मिल्ने अवस्था हुँदैन ।

तपाईँले कहिदिन अघि २५ हजार बढी सक्रिय सङ्क्रमित हुँदा लकडाउन गर्नुपर्छ भन्नुभएको थियो के अब फेरि लकडाउन हुन्छ ? 
मैले भनेको थिए सङ्क्रमित थपिँदै गए भने र अस्पतालमा बेड पु¥याउन नसक्ने अवस्था आए लकडाउन गर्नुपर्छ । भोलि त्यही अवस्था आए लकडाउन गर्नुपर्ने बाध्यता सरकारलाई हुनसक्छ । तर लकडाउन हुन्छ वा हुँदैन भन्ने कुरा मैले भन्ने होइन । सरकारले आवश्यकता अनुसार निर्णय गर्ने कुरा हो । 

अहिले ठ्याक्कै अस्पतालको अवस्था कस्तो छ ? बेडहरूको अवस्था के हो ? 
काठमाडौँमा अस्पतालको कुरा गर्दा अहिलेसम्म जसोतसो म्यानेज भएको छ । तर यो पनि सजिलो गरि होइन मुस्किलले म्यानेज भएको छ । हुन त सङ्क्रमित निको भएर घर फर्केको अवस्था पनि निरन्तर छ । यसरी नै जुन किसिमले सङ्क्रमित थपिएका छन् त्यही किसिमले डिस्चार्ज पनि हुँदै गए भने बेडको समस्या हुँदैन, तर त्यो भएन र धेरै थपिने निको भएर जाने कम हुँदा अहिले नै मुस्किल भइरहेकाले पनि अवश्य हामीलाई त्यो बेला समस्या हुन्छ । 

चिसो मौसममा कोरोना बढी फैलिन्छ भन्छन् खास के हो ? 
मौसमसँग कोरोना सङ्क्रमणको कुनै सरोकार छैन । नेपालमा गर्मी  हुँदा अस्ट्रेलिया, ब्राजिलमा जाडो थियो । ब्राजिलमा गर्मी हुँदा युरोपमा निक्कै चिसो थियो । चिसो वा गर्मी मौसमको कोरोना सङ्क्रमणसँग कुनै सरोकार छैन भन्ने कुरा यी देशमा देखिएको सङ्क्रमणको दरले पनि स्पष्ट हुन्छ । 

चाडबाडको मुखैमा काठमाडौँमा दैनिक सयौँको सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । अब यहाँबाट गाउँघर पुग्नेहरूले गाउँ गाउँसम्म सङ्क्रमण फैलाउने जोखिम कत्तिको छ ? 
हो, यही कारण हामीले भनिरहेका छौँ, तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा चाडबाड मनाउनुस् । तपाईँहरू एक ठाउँबाट अर्को ठाउँ जाँदा तपाईँहरू आफैँ सङ्क्रमित हुने सम्भावना त रहन्छ नै यसबाहेक तपाईँसँगै गाउँगाउँमा सङ्क्रमण फैलिने जोखिम छ । दसैँ अर्को वर्ष पनि आउँछ । यो कठिन अवस्थामा आफूलाई वा आफ्ना आफन्तलाई बचाउन सके अर्को वर्ष आउने दसैँ उत्साहसहित मनाउने अवसर पाउनुहुनेछ । मैले फेरि पनि भन्दै छु अहिले मानवजगत नै कसरी बाँच्ने भन्ने बेला हो । 

तपाईँले गत हप्ता मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बेहोस हुने अवस्था आएपछि मात्रै अस्पताल आउनुहोला भन्नुभएको हो ? 
मैले भनेको आधा कुरा काटेर भनियो त्यो गलत छ । त्यो मिडिया को कमजोरी हो । मैले भनेको सामान्य खोकी लागेकोले अस्पताल धाउन पर्दैन । बेहोस होला जस्तो भए अथवा बेहोस नै भए,  इन्फेक्सन भएर पिसाब कम आए मात्रा अस्पताल गए हुन्छ भनेको हुँ । किनभने यो आफैँ ठिक हुने रोग हो । घरमै बसेका धेरै मान्छेलाई ठिक भइरहेको छ । हाम्रो अध्ययनले अस्पतालमा भन्दा घरमा बसेर मान्छे छिटो निको भएको देखिएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार