• २०७७ कार्तिक ५ बुधबार

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई दशैंटीका नलगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले यस वर्ष सर्वसाधारणलाई दशैँमा टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिक रुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै उपराष्ट्रपति पुनले पनि दशैँको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम नगर्ने भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैँमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिए ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् । कोरोना महामारीका कारण यसपालि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रोकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताए । दशैँको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको पाठकले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार