• २०७७ मङ्सिर ११ बिहीबार

के कोरोनासँग जिस्किन मिल्छ ?

दैनिक २० जना भन्दा बढीको मृत्यु सामान्य हो ?

बुधबार असनमा देखिएको भिडभाड

९ महिनाअघि नेपालमा पनि कोरोना संक्रमण भित्रियो रे भन्ने समाचार जब एकाएक संचारमाध्यमहरुबाट बाहिर आयो, मानिसहरु सरकारले लकडाउन घोषणा नै नगरे पनि घरबाट बाहिर निस्कन ठप्पै बन्द गरे । अत्यावश्यक काममा नगई नहुनेहरु पनि चर्को मूल्यमा मास्क र स्यानिटाइजर बोकेर काममा जान थाले  । कार्यस्थल र बजारमा पनि मानिस यति सजग देखिन्थे कि मानौं अरु मान्छेको अनुहार हेर्दा पनि कोरोना सर्छ । यही पंक्तिकारको पनि त्यतिबेलाको दैनिकी कार्यालयमा काम गरीरहँदा प्रत्येक १० मिनेटमा आधा कप तात्तातो पानी सुरुप्प पार्नु र कोही मान्छेसंग भेट भैहाल्यो भने लगत्तै हातमा स्यानीटाइजर दल्नु बनेको थियो ।

तर ९ महिना नबित्दै कोरोनाप्रति मानिसहरुको डर भागिसकेको जस्तो देखिन्छ । सरकारले अत्यधिक भीडभाड हुने विद्यालय, सिनेमा हल लगायतका क्षेत्र अझै नखोले पनि बजारमा मानिसहरुको चहलपहल देख्दा लाग्छ, नेपालबाट कोरोनाको त्रास हटिसक्यो । मानिसहरुले रेडियो, टेलिभिजन र पत्रिकाका कोरोनासम्बन्धी समाचारमा ध्यान नै दिन छोडिसके । स्वास्थ्य मन्त्रालयले समेत दैनिक रुपमा गर्दै आएको कोरोना अपडेट घटाएर सातामा दुई दिनमा झारिसक्यो । बन्द रहेका अधिकांश क्षेत्र र गतिविधि खुल्ला भैसके । तर नगरी नहुने एउटा महत्वपूर्ण काम भने भएकै छैन–त्यो हो नागरिक सजगता र स्वास्थ्य मापदण्डको पूर्ण पालना ।

कोरोनाबाट मृत्युको मुखमा पुगेर फर्किएकाहरु बारम्बार चिच्याइरहेका छन् –कोरोनालाई खेलाँची नसम्झौं । सामाजिक सञ्जालमा लेख्दा लेख्दा वाक्क भैसकेका केही बुद्धिजीवि र अभियन्ता त नेपालीहरुलाई आफैंले नभोगी नचेत्ने बानी परेको गुनासो गर्न थालेका छन् । के नौ महिनाअघि एउटा संक्रमणको खबर सुन्दा थरथर काम्ने हामीहरु अब दिनहुँको दुई दर्जन मृत्युको खबरलाई सामान्य रुपमै पचाउँन सक्ने भैसकेका हौं ? अथवा हामीलाई अझ यसभन्दा पनि बढी दीदिबहिनी दाजुभाईको मृत्यु स्वीकार्य छ ? हैन भने किन सरकार र खासगरी नागरिक स्तरमा कोरोनाप्रतिको संवेदनशीलता हराउँदै गएको छ । 

सरकारले लक्षणबिहीनको परीक्षण र उपचारको परिकल्पना नै गरेको छैन । तर होम आईसोलेशनमै रहेका मानिसहरु भटाभट मरेका समाचारहरु बाहिर आइरहँदा सरकारले पर्याप्त संस्थागत आइसोलेशनको ब्यवस्था गर्न सकेको छैन । बुधबारसम्म सक्रिय अवस्थामा रहेका ३८ हजार ९१२ संक्रमितमध्ये करीब २५ प्रतिशतमात्र अर्थात १० हजार बिरामी मात्रै अस्पताल वा अन्य संस्थागत आइसोलेशनमा रहेको सरकारी तथ्यांक छ । यस्तो अवस्थामा विभन्नि ठाउँमा संक्रमितहरु नै समुदायमा डुलेर हिंडेका समाचारहरु समेत बाहिरीएका छन् । केही दिन अघिमात्र संक्रमितहरु समुदायमा घुम्दै हिंडेको भन्दै मापदण्ड पालनामा कडाइ गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न जिल्ला प्रहरीलाई निर्देशन नै दिएको थियो । 

पछिल्ला केही दिनको तथ्यांक हेर्ने हो भने दैनिक जसो नै मृतकको संख्या २० भन्दा बढी छ । बुधबार २६ जनाले कोरोनाबाट ज्यान गुमाएकमा मंगलबार पनि यो संख्या २२ थियो । सोमबार सरकारी तथ्यांकमा १८ जना देखिएपनि साँझसम्म यो संख्या दुईदश माथि पुगिसकेको थियो । आइतबार पनि कोरोनाका कारण २१ जनाले नै ज्यान गुमाएका थिए ।

अब पालो संक्रमणसंग कतिको संवेदनशील हो भनेर सोच्ने र तदनुरुप नै आफ्ना ब्यवहार र गतिविधिलाई सुरक्षित बनाउने । तिहारको मुखैमा बुधबार कोरोना महामारी ब्यवस्थापन समिति सिसिएमसी निर्देशक समितिले उपत्यकाका नगरपालिका मेयर फोरमसंग गरेको छलफलमा अधिकांशले संक्रमण, जोखिम र मृत्युदर बढ्दै गरेका कारण छठपछि कडा लकडाउन गर्ने सुझाव आएको छ । 

अब सरकारलाई नै कडाई गर्न बाटो दिने कि आफू र आफ्नाहरुको जीवन जोगाउन अधिक सचेत भएर स्वास्थ्य मापदण्डको पूर्ण पालनामा गम्भीर बन्ने ? जिम्मेवारी तपाईं हाम्रै काँधमा आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार