• २०७६ जेठ १३ सोमबार

विदेशी लगानीबारे बनेको विधेयकमाथि छलफल

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथि दफावार छलफल भएको छ ।

बैठकमा सांसदहरूले विधेयकमा रहेको विदेशी लगानी भित्राउने सम्बन्धमा उल्लेख गरिएका दफाहरूका बारेमा समेत धारणा राखेका थिए । त्यस्तै घरेलु तथा साना उद्योगमा वैदेशिक लगानी आवश्यक नभएकोमा उनीहरूले जोड दिए । बैठकमा सांसद गगन कुमार थापाले विदेशी लगानी स्वीकृत गर्ने विषयमा विधेयकमा स्पष्ट हुनुपर्ने बताए । विदेशी लगानी स्वीकृत गर्ने प्रक्रिया निकै झण्झटिलो भए पनि अहिलेको विधेयकले यसलाई सम्बोधन गर्न नसकेको उनले बताए । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले नेपालमा लगानी गर्न चाहनेलाई सहज वातावरण निर्माण गर्नुपर्ने तर्क गरे । बैठकमा सांसद सोमप्रसाद पाण्डेले विगतको ऐनमा भएको नराकात्मक पाटोलाई हटाउनुपर्ने बताए । उनले मुलुकको हितमा जनताले नेपालमा गर्न सक्ने साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । नेपालका साना उद्योगीको हित विपरीत विदेशी लगानीलाई प्रोत्साहन गर्न नहुने उनको भनाई छ ।

उक्त विधेयकमाथि केही सांसदहरूले संशोधन समेत दर्ता गराएका छन् । विधेयकमा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्ता लगानीकर्ताले नेपालमा स्थापना भएका कुनै उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्मको शेयर खरिद गरेर पनि लगानी गर्न सक्नेछन् । लगानी मात्रै नभई प्रविधि हस्तान्तरण गर्ने विषयसमेत समेटिएको सो विधेयकमा विदेशमा स्थापना भएका उद्योगको शाखा खोल्नसमेत सकिने व्यवस्था छ । त्यस्तै आयातित कृषि उपजमात्र नभई सिधै बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ नै ल्याएर यही उत्पादन गर्न पाउने व्यवस्था पनि विधेयकमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार