• २०७७ माघ ३ शनिबार

बढीमा एक महिनाभित्र सबै बिमितले कोरोना बीमाको दाबी भुक्तानी पाउँछन् : दीप प्रकाश पाण्डे

एकै पटक सोचेको भन्दा धेरै आएकाले यसको प्रमाणीकरण गरेर भुक्तानी गर्न समय लागेको हो

शिखर इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको अग्रणी संस्था हो । बजारमा स्थापित अरू धेरै बीमा कम्पनीभन्दा पछि सुरु भएर पनि पुराना कम्पनीहरूले भन्दा सबै सूचकाङ्कमा राम्रो गरेको शिखर इन्स्योरेन्सले आम सर्वसाधारणको विश्वास जित्दै अघि बढेको छ । बीमाका परम्परागत प्रडक्टसँगै, स्वास्थ्य बीमा मात्रै होइन स्याउ खेतीमा मौसमी सूचकाङ्कका आधारमा कृषिमा आकर्षक प्रडक्टहरू आवश्यकता अनुसार प्रस्तुत गर्दै जानु नै शिखरको सफलताका सूत्र हुन । भर्खरै मात्रै सवारी साधनका लागि नयाँ “अटो केयर पोलिसि” सार्वजनिक गरेको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेसँग टिभी अन्नपूर्णले पछिल्लो समय असाध्यै लोकप्रिय बनेको कोरोना बीमा र यसको दाबी भुक्तानीमा भएको ढिलाइ, शिखर इन्स्योरेन्सका भावी योजना र कार्यक्रमका साथै बीमा बजारका चुनौतीका विषयमा गरेको कुराकानीको सम्पादित अंश : 

विश्वभर कोरोना महामारी कायमै छ । नेपालको बीमा क्षेत्रमा के कस्तो असर गरेको छ ?

सुरुमा लकडाउनको चरणमा नेपालका सबैजसो क्षेत्रमा यसको प्रभाव परेको थियो । जसमध्ये पर्यटन क्षेत्र, होटेल रेस्टुरेन्ट, रिशोर्ट , नागरिक उड्डयन तथा यातायात क्षेत्र यसबाट बढी प्रभावित देखिए । जसमध्ये यातायात क्षेत्र प्रभावित हुँदा यसको असर स्वभाविक रूपमा बीमा क्षेत्रमा पनि देखिएको अवस्था अवश्य हो । किनभने हाम्रो ७५ प्रतिशत यातायात क्षेत्रमा पर्छ । यस कारण पनि हामी कोराना महामारीबाट सबैजसो क्षेत्र प्रभावित हुँदा नेपालको बीमा क्षेत्र पनि अछुतो रहन सकेन । 

कोरोना बीमा असाध्यै लोकप्रिय त बन्यो तर कम्पनीले दाबी भुक्तानी समयमा दिन सकेनन् यसको अर्थ कतै तपाईँहरूलाई कोरोना बीमा सुरु गरेर गल्ती भयो भन्ने महसुस भएको त होइन ?  

यो कार्यक्रम कम्पनीले मुनाफा कमाउने उद्देश्यले ल्याएको थिएन । नेपालको दूर दराजका नेपालीलाई स्वास्थ्य सेवामा सहयोग पुग्ने अपेक्षा सहित हामीले कोरोना बीमाको कार्यक्रम ल्याएका थियौँ । जुन तपाईँले भनेझैँ निक्कै पपुलर पनि भयो । कोरोना बीमा गलत भन्ने फिल हामीलाई भएको पनि छैन र हुनु पनि हुँदैन । हामीले यसलाई प्रयोगकै रूपमा ल्याएका थियौँ । जसलाई हामीले समय सापेक्ष परिमार्जन पनि गदै जाने योजना थियो । सुरुवातमा नेपाल सरकारले नै कोरोना परीक्षण गर्ने र उपचार पनि गर्ने गरेको थियो । त्यति बेला जो सङ्क्रमित हुन्छ उसलाई उपचारका लागी सहरी भेग वा सम्बन्धित क्षेत्रको केन्द्रमा ल्याउने र उपचार गर्ने गरेको अवस्था थियो । त्यतीबेला सङ्क्रमितसँगै उसको परिवार पनि आउने होटेलमा बस्नुपर्ने, खाना खानुपर्ने गर्दा खर्चिलो हुने भएकाले, उनीहरूलाई राहत हुने अपेक्षासहित कार्यक्रम थालेका थियौँ । तर यो हामीले खास एउटा वर्गलाई लक्षित गरेर माइक्रो इन्स्योरेन्सको रूपमा कार्यक्रम थालेका थियौँ । तर, त्यो वर्गमा भन्दा सहरी क्षेत्रमा यो बढी पपुलर हुन पुग्यो । छोटो समयमा हामीले सोचेको भन्दा धेरै सङ्ख्या पुग्यो तर पनि हामी सबै बिमितको दाबी भुक्तानी दिने प्रक्रिया छौं । यो बिचमा यसको दाबी गर्ने सवालमा पनि फ्रडहरु हुने सम्भावना बढी छ भन्ने कुरा तपाईँहरू जस्तै मिडियाले पनि लेख्नुभयो । यस कारण पनि हामी यसलाई विधि पु¥याएर यसको भोरिफाई गर्ने र दाबी भुक्तानी गर्ने क्रममा अन्य कार्यक्रमको भन्दा केही लामो समय लागेको छ । दाबी भुक्तानीमा केही ढिला हुँदा बिमितलाई कतै भुक्तानी नहुने त होइन भन्ने लागेको हुन सक्छ । तर, हामी जति पनि बिमित हुनुहुन्छ उहाँहरूको दाबी भुक्तानी नहुने भन्ने हुँदै होइन । आजको दिनसम्म १० हजार जति भुक्तानी गरिसकेका छौ । पुलमा १९ हजार जति दाबी आएको छ । ३ हजार जति अहिले इडिसिडीमा प्रमाणीकरणका लागी गएको छ । दुई हजार जति मात्रै अब बाँकी छ अन्य बाँकी सबै भुक्तानीको प्रक्रिया गइसकेको छ । एकै पटक धेरै दाबी आएकाले यसको प्रमाणीकरण र भोरिफाई गर्न पनि अलिकति समय त लाग्छ । यो एकै पटक आएको ठुलो सङ्ख्यालाई क्लियर गरेपछि अनि हामी सामान्य अवस्थामा आइपुग्छौँ । सामान्य अवस्थामा फर्केपछि  १५ दिनमा बीमितले दाबी भुक्तानीबापतको रकम प्राप्त गर्न सक्नेछन् । 

कोरोना बीमा जुन वर्गलाई लक्षित गरेर ल्याउनुभएको थियो सोही वर्गमा नपुगेर अर्को वर्गले फाइदा लिएको अवस्था हो ? 

होइन त्यस्तो । हाम्रो लक्षित वर्गमा पनि त्यो पुगेको छ । किनकि शिखर इन्स्योरेन्सले मात्रै झन्डै पोलिसी बेचेको छ । यसमध्ये धेरै त लक्षित वर्ग नै हो । तर यसबाहेक अर्को वर्गले पनि यसबाट लाभ लिएको भने अवश्य हो । सबैभन्दा बढी त यसले बीमाको दायरा बढाएको छ । कोरोना बीमा लागु हुनु पूर्व ठप्प रहेको उद्योग कलकारखाना फेरि सञ्चालन गर्ने सवालमा कोरोना बीमाले काम गरेको छ । तपाईँहरू मिडियाले पनि यसलाई भनिदिनुपर्छ की कोरोना बीमाले नेपालमा बीमाको दायरा बढाउनुका साथै कोभिड १९ को महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनः चलायमान गराएको छ । हामीले न्यून आय भएकाहरूलाई स्वास्थ्य सेवामा सुविधा होस् भनेर सुरु गरेको यो कार्यक्रमबाट शहरमा बस्ने आर्थिक अवस्था सबल हुनेहरूले पनि लाभ लिएको भने अवश्य हो । 

शिखर इन्स्योरेन्सले जोखिमलाई मध्यनजर नगरी बिजनेस टार्गेटमा राखेर काम गर्छ भन्ने हल्ला छ । कतै कोरोना बिमाले यसलाई थप मलजल त गर्ने होइन नि ? 

तपाईँले पाएको यो सूचना जुन स्रोतबाट भएपनि पुरै गलत छ । आजको दिनमा शिखरको जस्तो बलियो रिइन्स्योरेन्स प्रोग्राम कुनै पनि कम्पनीको छैन । म गर्वका साथ भन्छु, आजको दिनमा हामीसँग एक सय करोड जतिको हाम्रो रिइन्स्योरेन्स प्रोग्राम प्रपोर्टी छ  । कुनै पनि जोखिम हामीले  राम्रोसँग विश्लेषण गर्छु हाम्रो जस्तो लाभदायक बिजनेस, रिइन्स्योरेन्सले के गर्छ ? बिजनेस लाई हेरेर प्रत्येक वर्ष रिइन्स्योरेन्सल कमिसन दिन्छ । नेपालमा हाम्रो जस्तो रिइन्स्योरेन्स कमिसन  अरू कम्पनीको सायदै होला । बजारमा क्याटस्थोपिक रिजर्भ भन्छ क्याटअस्ट्रोफिक (विनाशकारी) रिजर्भ इन्ट्रेन्स रिइन्स्योरेन्स भनेको नि तपाईँको एउटा एउटा  इन्ट्रेन्स रिइन्स्योरेन्स गरेको हुन्छ तर आफूले पनि जति बहन गर्नुहुन्छ नि त्यो बहन गर्ने  उसलाई भोलि भूकम्पजस्तो विनाशकारी विपत्ति आयो भने नि एउटै जोखिमले कम्पनी डुबाउन सक्छ ।   आजको दिनमा शिखर इन्स्योरेन्सको जस्तो रिइन्स्योरेन्स  प्रोग्राम कसैको पनि छैन । क्याटअस्ट्रोफिक (विनाशकारी) रिजर्भमा हामीले हाम्रो कुल नाफा अर्को आठ करोड जति बढाउन सक्थ्यौँ होला भोलि त्यस्तो क्याटअस्ट्रोफिक (विनाशकारी) रिजर्भ गर्‍यौ भने सबैभन्दा पहिला कम्पनीलाई प्रभाव पार्छ । त्यसले गर्दा अतिरिक्त ८ देखि १० करोड खर्च गरेर हामीले  क्याटअस्ट्रोफिक (विनाशकारी) रिजर्भ लिएको छौ ।  त्यही भएर हाम्रो कम्पनीले  व्यापार बढाउनको लागि जोखिमलाई मध्यनजर नगरी काम गरेको छैन । हाम्रोमा  व्यापारको निश्चित वर्ग त नेगेटिभ लिस्ट हुन्छ । हामी रिइन्स्योरेन्सले दिएको गाइडलाइनबाहेक बेभिएट गर्दैनौँ । शिखर इन्स्योरेन्सको सिईओको रूपमा दाबीका साथ के भन्न सक्छु भने, नेपालमा हामीजस्तो  जोखिमलाई  विश्लेषण गरेर व्यवस्थापन गर्ने क्षमता भएको अरू कम्पनी छैन । 

अलिकति प्रसङ्ग बदलौँ, शिखर इन्स्योरेन्स पछि सुरु भएर पनि पुरानालाई जितेर अघि बढ्यो यसको खास रहस्य के हो ? 

विविध वर्गको शिखर इन्स्योरेन्स प्रतिको विश्वास भन्छु म ।  हामी पहिला अरू कम्पनीले जे पनि पाउँछ भनेर बजारमा जाँदा हामी यो यो पाउँदैन भनेर जान्थ्यौँ । ४–५ वर्ष हामीलाई त्यसैमा लाग्यो ।  जब भूकम्प आयो हामीले जुन हिसाबले बिमा दाबी बचत ग¥यौँ सोही किसिमको विश्वास पायौ । मलाई त्यो नै हाम्रो सफलता हो जस्तो लाग्छ ।  बिमित वर्गलाई हामीले गरेको सेवाले हामीप्रति जुन विश्वास बढेको छ, त्यही अनुसार हाम्रो बिजनेस बढेको छ । यसको खास श्रेय म मेरो टिमलाई दिन्छु ।  मेरो टिमले धेरै दुख गरेको छ ।  हामीसँग आजको दिनमा एक सय तीन वटा शाखा छन्  ।  ६ सय ३० जना जति कर्मचारी छन् ।  ती मध्य पनि १५ जना मात्रै अन्तबाट आएर यहाँ काम गर्नुभएको त्यो बाहेक अरू सबैको पहिलो कार्य अनुभव शिखरमा नै हो ।  शिखरले ती कर्मचारीलाई प्रशिक्षित गराइरहेको छ ।  भविष्य छ काम गर र यसबाट तिम्रो भविष्य उज्ज्वल हुने छ भनेर विश्वास दिन सकेको छ । आज हामी जुन स्थानमा छौ, यसैको प्रतिफल हो भन्ने लाग्छ मलाई । 

 

शिखर इन्स्योरेन्सले आम नागरिकलाई बिमाप्रति आकर्षित  गर्न अघि सारेका विभिन्न प्याकेजमध्ये तपाईँको बिचारमा असाध्यै प्रभावकारी भयो भन्न सकिने कार्यक्रम कुन हो ? 

 

धेरै छ । हामी कृषि बिमामा जुन किसिमले पहिला सरकारले गर्दा हामी लादियौँ भन्थ्यौ, जबरजस्त लगायो भन्थ्यौ तर आजको दिनमा कृषि बिमामा हामीले उल्लेखनीय काम गरेका छौ । पहिला पहिला चैत वैशाखमा हावाहुरी आउँथ्यो चितवनमा । चितवनका कृषकहरू अनुदानको लागि अर्थ मन्त्रालय धाउनु पर्थ्यो आजको दिनमा त्यो अवस्था छैन ।  बीमाले उनीहरूको क्षतिपूर्ति हुने गरि बीमाले तिरिदिएको छ । उनीहरूलाई यसैका लागी सरकारी अनुदान खोज्दै सिंहदरबार धाउनु परेको छैन ।  हामीले स्याउ खेतीको बीमा गराएका छौ । सायदैले मात्रा कल्पना गरेका थिए होला सुुचकांङ्कका आधारमा पानी कम पर्‍यो भने बीमाले तिर्छ अथवा असिना पर्‍यो भने यसबाट हुने क्षतिको बहन बीमाले गर्छ भन्ने कुरा आज त्यो सफल भएको छ । हामीले धान, गहुँ, उखु जस्ता बालीमा पनि  मौसमी सुचकाअङ्कमा जादैँछौ । त्यसपछि जङ्गली जनावरले टोक्यो भने अथवा त्यसको कारणले दुर्घटना भयो भने त्यसको लागि पनि बीमाले कभर गर्गनेरि हामीले प्रडक्ट ल्याएको छौं । तल्लो तहले पनि सुविधा लिन सक्ने गरि हामीले अघि सारेका कार्यक्रम अहिले जति प्रभावकारी भएका छन् त्यसैगरि कर्पोरेट स्थानमा  परम्परागत प्रडक्टमा पनि हामी उत्तिकै बलियो छौ ।   हामीले स्वास्थ्य  बिमा क्यास लेस ल्यायौ । अब नयाँ प्रडक्ट छिट्टै सार्वजनिक (लन्च) गर्दै छौ । मान्छेले बिमा गर्छन् तर डिप्रिसिएसन बिमाको निश्चित सिद्धान्त अनुसार नपाउने चिजहरू काटिन्छ । मान्छेले गाडी लगेर महिनौँसम्म थन्किएको हुन्छ । त्यो थन्किँदा उहाँहरूको लस अफ यूज भइरहेको हुन्छ । त्यो सबैलाई ध्यानमा राखेर हामीले नयाँ प्रडक्ट ल्याउँदै छौ । त्यो अनुसार हामीलाई अझै अघि बढ्न मद्दत गर्छ जस्तो मलाई लाग्छ । यसर्थ मैले माथीपनि उल्लेख गरेको छु , शिखर इन्स्योरेन्सले ल्याएका प्रडक्टहरू सबैजसो लोकप्रिय भएका छन् । 

नेपालमा बिमा कम्पनीहरूले  कर्मचारीको वृतिबिकास  र बिमा सचेतनाका सवालमा कम ध्यान दिएको छ भन्ने सुनिन्छ,  शिखर इन्स्योरेन्सको सवालमा कत्तिको लागु हुन्छ ? 

हाम्रोमा त यो कुरा लागु नै हुँदैन । हामी त भारत लगायत अहिले त नेपालमै आइआइएन भन्छ इन्स्योरेन्स इन्स्टिच्युट नेपाल त्यसमा हाम्रा कर्मचारीलाई नियमित तालिमका लागि पठाइराखेको छौ । यसबाहेक हाम्रो आफ्नै इनहाउस ट्रेनिङ पनि नियमित  हुने गरेको छ ।  दैनिक बिहान अथवा बेलुका शिखर इन्स्योरेन्सले इनहाउस तालिम दिन्छ । यति बेला कोरोनाका कारण यो रोकिएको छ  तर पनि भर्चुअल कक्षाहरू भने चलिरहेकै छ । माथि पनि उल्लेख भइसकेको छ की १५ जनाबाहेकका कर्मचारी साथीहरू हामीले आफैले तयार गर्न सफल भयौँ ।  यो लकडाउनको समयमा प्रत्येक विभागमा र शाखामा वैकल्पिक जनशक्ति विकास गरेर अगाडी बढिरहेका छौ । त्यो प्रमुख कार्यकारी अधिकृतको रूपमा मेरोलागि गर्वको विषय हो । मेरो कर्मचारीको मनोबल बढ्यो भने मेरो कम्पनीले फाइदा गर्छ भन्ने मैले विश्वास गरेर अघि बढेको छु ।

 

शिखर इन्स्योरेन्सले आम नागरिकलाई बिमामा आकर्षित गर्न निकट भविष्यमा के कस्तो प्याकेज अथवा कार्यक्रमहरू ल्याउँदै छ ? 

अब हामीले पश्चिममा धानको लागि मौसमी सुचाअङ्कमा जादैछौ । हाम्रोमा धानको लागी ल्याएको जुन प्रडक्ट छ । परम्परागत छ, त्यति आरक्षण भएको छैन । तर, अब हामी कृषक आरक्षित हुने खालको प्रडक्ट लिएर धानमा जाँदै छौ पश्चिमको तीन वटा जिल्ला कैलाली कञ्चनपुर र बर्दियामा यो तीन ठाउँमा हामी   ।  मौसमी सुचकांङ्कको  आधारमा जाँदै  छौ ।  त्यसपछि सानो सानो किसानलाई लक्षित गरेर फेरी मौसमी शुसाअङ्ककै  आधारमा अरू बालीहरूमा पनि जाने योजना छ ।  स्याउमा हामीले विविधता ग¥यौँ त्यो बिस्तारै अघि बढ्दै छ ।  त्यसपछि हामी स्वास्थ्य बिमामा जान्छौ किन भने  स्वास्थ्य बिमा पनि  भविष्य हो ।  जुन किसिमको महामारीहरू देख्नु भयो, नयाँ नयाँ रोगहरूको वृद्धि विकास भइराखेको छ, आइराखेको छ ।  त्यसले गर्दा  रोगको त उपचार हुन्छ तर त्यो खर्च लाग्छ ।  खर्च मान्छेलाई धान्न गाह्रो हुन्छ ।  त्यसैले बिमा नै त्यो तिर्ने मध्यम हुनसक्छ  । त्यसैले त्यो किसिमको बिमा प्रोडक्टहरु हामी लिएर अघि बढ्दै छौ । यसबाहेक पनि  मान्छेको आवश्यकता अनुसारको प्रोडक्टहरु के के हुन्छ हाम्रो रिसर्च एन्ड डेभलपमेन्टको टिमले अनुसन्धान गर्ने काम भइरहेको छ । मैले अघि तपाईँलाई भने मोटर बिमामा मान्छेले मैले राम्रोसँग पाउन सकिन, पाउन त पाए तर काटेर दियो भन्छ ।  त्यसले गर्दा कहीँ बिलहरू पनि हेरफेर हुने मौका भैरहेको छ ।  त्यसैलाई लक्षित गरेर हामीले अटो पोलिसी  भर्खरै सार्वजनिक गरेका छौ । त्यो आएपछि सायद अब हामी अझै आक्रामक रूपमा अगाडी बढ्छौ । 

तपाईँले भर्खरै ल्याएको यो अटो केयर पोलेसीमा के छ ?   

यो अटो केयर पोलेसीमा यदि तपाईँले एउटा गाडी अथवा मोटरसाइकल बिमा गर्नुभयो भने प्लास्टिकका बस्तुमा ५० प्रतिशत डिप्रिसिएसन काट्छ । अरू पार्टसमा १० देखि ५० प्रतिशतमा डिप्रिसिएसन काट्ने फरक सवारीका आयु अनुसार काटिरहेको अनुसार ती काटिएको खर्च हजुर आफैले तिर्नुपर्ने व्यवस्था थियो ।  अब हामी त्यसलाई अर्को पोसिलीबाट राइट ब्याक गर्छौ । तपाईँले आफै खल्तीबाट हाल्नुपरेन अब भर्चुअल्ली के हुन्छ भने तपाईँले गाडी बिग्रियो भने तपाईँले ग्यारेज पठाइदिनु गाडी बनाउछ्  र तपाईँलाई दिन्छ । तर त्यसबापतको खर्च इन्स्युरेन्स कम्पनीले तिर्छ । हामी क्यासलेमा पनि काम गर्न सक्छौ । हस्पिटलमा गएपछि सिधै इन्सुरेन्स कम्पनीले त्यसबापतको खर्च तिरिदिन्छ  त्यसैगरि अब मोटर दुर्घटना भयो । अथवा,  रिपियर गर्ने अवस्था आयो भने इन्स्युरेन्स कम्पनीले सिधै त्यसबापतको खर्च तिरिदिन्छ । त्यस्तै यदि तपाईँको गाडी बिग्रियो भने  तपाईँहरू त ट्याक्सी चढ्नुपर्ने भयो, एक हजार देखि चार हजारसम्म दिनको खर्च होला हामी गाडीको भ्यालुअनुसार त्यो खर्च पनि दिन्छौ । अर्को चाहिँ तपाईँले आज १० लाखमा गाडी किन्नुभयो, २ वर्षपछि दुर्घटना भएर पुरै क्षति भयो । त्यो गाडी तपाईँले २ वर्षपछि फेरी त्यो इन्स्युरेन्स कम्पनीले तिर्‍यो भने तपाईँलाई फेरी त्यो किन्नलाई त खर्च जुटाउन पर्‍यो अर्को पटक १५ लाख भइसक्छ त्यो गाडी । त्यो १५ लाख इन्स्युरेन्स कम्पनीले दिन्छ । यो नयाँ प्रडक्ट हो । हामीलाई विश्वास छ, यो पोलिसीले आम मानिसमा समेत खास प्रडक्ट आयो भन्ने म्यासेज दिनेछ । 

तपाई बिमक सङ्घको अध्यक्ष पनि हुनुहुन्छ, आम सर्वसाधारण स्वतःस्फूर्त रूपमा आजसम्म पनि बिमाको दायरामा आउन सकेका छैनन्, यसको कारण के हो र अबका चुनौती के हुन् ?

खासमा जनचेतना मात्रै भन्दा पनि म विश्वासको जनचेतना भन्न चाहन्छु । अहिले पनि आम मानिसको क्रय क्षमताले यसलाई प्रभावित पारेको अवस्था छ । म तपाईँलाई नै यही प्रश्न सोध्न चाहन्छु की तपाईँको घरको र स्वयं आफ्नो समेत बीमा गर्नुभएको छैन होला । के यो तपाईँलाई बीमाबारे जानकारी नभएर हो र ? होइन नि । सरसर्ती हेर्दा बीमाको दायरामा  जनचेतना नभएर आएको भन्ने विश्लेषण हुन्छ तर, यसको खास कारण भने उसको आर्थिक उपार्जन र खर्चसँग जोडिएको छ । मान्छेको आम्दानी हुन्छ नि त्यसका आधारमा खर्च गर्ने प्राथमिकताका क्षेत्र हुन्छन् । बीमाबारे बुझेर पनि त्यो प्राथमिकताका बिमा अहिले सम्म नपरेको अवश्य हो । किनभने पहिलो प्राथमिकता त खाने बस्ने लत्ताकपडा अनि बालबालिकालाई पढाउने कामलाई मान्नुपर्ने हुन्छ । वर्तमान नचलेसम्म भविष्यबारे त मान्छेले महत्त्व बुझे पनि खर्च गर्न सक्दैन । खर्च गर्न नसक्ने अवस्था भएपछि त यसबारे प्रशस्त जानकारी भएर पनि आफ्नो आर्थिक अवस्थाका कारण बिमाको दायरामा आउन सकेको छैन ।   हाम्रा अधिकांश नागरिकको आय स्तर कमजोर छ । बिमा गरेपछि किस्ता तिर्न सक्ने गरी आर्थिक रूपमा सक्षम हुनुपर्छ । मैले अघि पनि भने सुरक्षित भविष्यका लागि बिमा सबैभन्दा राम्रो आधार हो भन्ने जान्दाजान्दै पनि धेरैले यसको योजना किन्न सकिरहेका छैनन् । नेपालीको प्रतिव्यक्ति आय निकै कम हुनु पनि बिमा क्षेत्रको चुनौती हो । 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार