• २०७७ माघ ५ सोमबार

अबको महाधिवेसनबाट काँग्रेस नेतृत्व कोइराला परिवारमै फर्कन्छः सुजाता कोईराला (भिडियो सहित )

पौडेललाई मात्रै बोकेर हिड्दा पार्टी सिद्धिन सक्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हालैमात्र सरकार विरोधी देशब्यापी प्रदर्शन गर्यो । केपी ओली नेतृत्वमा सरकार गठन भएको झण्डै तीन वर्षसम्म मौन रहेको कांग्रेसले गतसाता वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको सरकारी धरपकडपछि आन्दोलन चर्काएको हो । आफ्नै पार्टीभित्र कार्यसमितिको थपिएको म्यादसमेत सकिन लाग्दा पनि महाधिवेशन गर्नेबारे कांग्रेसको खासै ध्यान जान सकेको देखिंदैन । आगामी भदौभित्र पनि महाधिवेशन नगरे कांग्रेसको संवैधानिक अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा भएको छ । यतिबेला पनि महाधिवेशनतिर ध्यान नदिएर कांग्रेस नेतृत्वले पौडेललाई बोकेर हिंडेको भन्दै नेतृ सुजाता कोइराला पार्टी नेतृत्वको रबैयाले पार्टी सकिने बताउँछिन् । प्रस्तुत छ, कांग्रेसको विरोध, आसन्न महाधिवेशन र भावी नेतृत्वबारे नेतृ कोइरालासंग टिभी अन्नपूर्णले गरेको भिडियो कुराकानीको सम्पादित अंशः

आजकल के गदै हुनुहुन्छ ? कत्तिको व्यस्त हुनुहुन्छ ?

म फाउन्डेसनको काममा व्यस्त छु । अहिलेको राजनीतिक परिस्थितिलाई पनि अध्ययन गरिरहेको छु । मुलुक कतातिर जाँदै छ । एकदम अप्ठ्यारो अवस्थामा छ । देशमा लिडरसिपको भ्याक्युम भएको देखिन्छ । यसले गर्दा यो अवस्थालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि हामी छलफल गरिरहेका हुन्छौँ ।

नेपाली काँग्रेसले शक्ति प्रदर्शन भनेर आयोजना गरेका कार्यक्रमलाई तपाईँ के भन्नुहुन्छ ?

पार्टीले गरेको प्रदर्शनमा मसँग केही सल्लाह भएको छैन । मलाई बैठकमा पनि बोलाइएको छैन । सायद बैठकमा बोलाएको भए म आफ्नो कुरा त्यहाँ राख्थेँ तर नबोलाएकोले यहाँ तपाईँसँगै राख्नुपर्‍यो । मलाई के लाग्छ भन्दा हामीले त्यो बेला प्रजातन्त्रको लागी आन्दोलन गर्‍यौँ, संसद् पुनर्स्थापनाको लागी हिजो उहाँहरूले आह्वान गर्नुभयो त्यसमा जनताले पनि साथ दियो । नेपाल विकास हुनुपर्छ भन्ने हामी नेताहरूको जुन धारणा र कल्पना थियो त्यो म भएको देख्दिन र अहिले यत्रो भ्रष्टाचारको मुद्दा नउठाएर यो आन्दोलन गर्न अस्पष्ट छ । आन्दोलन किन गर्ने भन्ने कुरामा नै नेपाली काँग्रेस प्रस्ट छैन । मुलुकमा सबै चिज बिग्रेको बेलामा के का लागी आन्दोलन भयो भन्ने विषयमा ने मेले केही बुझ्न सकेको छैन । कोभिडको कारण देखाएर पार्टीको महाधिवेशन गर्ने तयारी ठप्प छ । तर, भिडभाडसहित जुन नेपाली काँग्रेसको प्रदर्शन भइरहेको छ यो गलत छ ।

केही दिन अघि तपाईँको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले दुर्व्यवहार गरेका कारण उहाँका सर्मथकहरु आक्रोशित हुँदै सडकमा निस्किए, पार्टी यसलाई थप व्यवस्थापनको गर्दा तपाईँको असहमति किन ?

पहिलो कुरा त पार्टीका साथीहरूबाट मैले सुनेको त्यहाँ स्थानीय प्रशासनले निषेध भेला समारोह गर्न निषेध गरेको थियो । प्रशासनले निषेध गरेको ठाउँमा उहाँ जानुभएपछि सम्मान त हुँदैन नी । निषेध गरिएको त्यो क्षेत्रमा उहाँ नगइदिएको भए पनि त हुन्थ्यो । देशमा कोरोना सङ्कट छ । जनता भोक भोकै मरेका छन् । यस्तो अवस्थामा एउटा जिम्मेवार दलको नेताले सङ्कट थप्ने होइन नी ।  अहिले त हामीले कसरी यो सङ्कटलाई सम्बोधन गर्ने र समाधानका लागी निकास खोज्ने त्यतातिर जाने हो भन्न मलाई लाग्छ । हो, सरकारले नेतालाई पक्राउ गर्दा कार्यकर्ताहरू त अलिकति चिढिने नै भए । तर मेरो भनाई स्पष्ट छ नेताले प्रशासनको नियम नमान्ने वा उसलाई कानुन नलाग्ने भन्ने हुँदैन । नियम र कानुन सबैलाई एकैनास हुनुपर्छ । नेतालाई छुट्टै, कार्यकर्तालाई छुट्टै र जनतालाई छुट्टै हुनुपर्छ भन्ने धारणा नेताहरूमा विकास भएको छ यसले पार्टीलाई असर गर्छ । यसर्थ म एउटा नेताको पछि लागेर नेपाली काँग्रेसको राजनीति धरापमा पार्नु हुँदैनथ्यो । हामीले आज गरेको आन्दोलनका कारण भोलि २ जनालाई मात्रै पनि कोरोना लगायो र कुनै दुर्घटना घट्यो भने त यसले नकारात्मक असर ल्याउँछ  । फाइदा भन्दा पनि बेफाइदा हुन्छ पार्टीलाई भन्ने कुरा नबुझेकाले नेपाली काँग्रेसमा यस्तो भइरहेको छ ।   

नेपाली कांग्रेसको एक प्रभावशाली नेतृ भएको नाताले भनिदिनुहोस् कांग्रेसले अहिलेको अवस्थामा एक प्रतिपक्ष दलले गर्ने भुमिका निर्वाह गरेको छ ?
यतिबेला त संसद् पनि नभएको अवस्था छ । कोभिडको महामारी कायमै छ । यसले गर्दा मुलुकमा अलिकति असजिलो र असहज अवस्था छ । यस्तो अवस्थामा नेपाली काँग्रेसले भष्ट्राचारका मुद्दा उठाउनुपर्ने थियो । कोभिडका बिरामीको सरकारले जिम्मेवारीपूर्वक उपचार नगरेको विषय उठाउनुपर्ने थियो । हस्पिटलमा सेवा सुविधा नपाएर मर्नुपर्ने अवस्था मा भएका बिरामीको कुरा उठाउनुपर्ने थियो । प्रतिपक्ष भएको नाताले त्यो कुराहरु हेर्नुपर्यो, त्यो आवाज सुनिँदैन यसमा चाहिँ म पनि असन्तुष्ट छु । यसको विरुद्दमा बालुवाटार अगाडी सामाजिक दुरी कायम गरेर धर्ना बस्न सकिन्छ, प्ले कार्डहरु देखाएर आफ्ना कुराहरु राख्न सकिन्छ । तर, त्यता ध्यान नदिने कोरोना महामारीको अवस्थमा यसरी आन्दोलन गर्नुको म त कुनै औचित्य नै देख्दिन । 
नेपाली कांग्रेस केन्द्रिय समितिको म्याद थपियो, फाल्गुनमा हुने भनिएको महाधिवेसन लाग्छ अझै हुने सम्भावना छ ?
छैन, अहिलेसम्म क्रियाशिलमै विवाद छ । क्रियाशिल सदस्यता नै बाँडिसकेको छैन, महाधिवेसन हुने त म सम्भावना नै देख्दिन । उहाँहरुले महाधिवेसनभन्दा आन्दोलन, प्रदर्शन ठूलो देख्नुभयो । अहिले पार्टीको संगठन एकदमै कमजोर छ, महाधिवेशन गरायो भने नयाँ नेतृत्व आउँछ, नयाँ नेतृत्वको गाउँबाटै विकास हुन्छ, त्यसले गर्दा पार्टीमा एउटा नयाँ रक्तसंचार हुन्थ्यो तर उहाँहरुले महाधिवेसनभन्दा आन्दोलन ठूलो ठान्नुभयो । यसले गर्दा महाधिवेसन सर्ने धेरै सम्भावना छ । 
भदौसम्म महाधिवेसन नहुने र पार्टीले संवैधानिक मान्यता गुमाउन सक्ने अबस्था आउने सम्भावना देख्नुहुन्न तपाई ?
६ महिना त हाम्रो संबिधानमा बिशेष परिस्थिती आयो भने पार्टीको महाधिवेसन सार्न सकिन्छ भनेको छ । तर त्यसपछि चुनावहरु आउछन् । अर्को केही समस्या आउन सक्छ, कोरोनाको अर्को लहर आउन सक्छ । त्यसैले यत्रो पार्टीलाई नै जोखिममा राखेर महाधिवेसन सार्नु उचित भएन । महाधिवेसन समयमै गराउनुपर्छ भन्ने मेरो मान्यता हो । पार्टी एकदम कमजोर अवस्थामा छ । त्यसैले अब हामीले अब यो पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारे सोच्नुपर्छ । 
तपाई अघिल्ले महाधिवेशनमा सभापतिको उम्मेद्धार बन्छु भन्नु भएको थियो,  आगामी महाधिवेसनमा तपाई सभापति बन्ने सम्भावना वा तयारी के छ  ? 
गएको महाधिवेसनमा मैले सभापति पदमा लड्छु किनभनेको हो भने, एउटा त यो देशको जनसंख्यामध्ये ५१ प्रतिशत महिला छन् । अब नेपालमा महिलाको पनि प्रतिनिधित्व हुनुपर्छ  र नेपाली कांग्रेसले नयाँ इतिहास बनाउनुपर्छ । अहिले काँग्रेसमा महिलाई अघि बढ्न दिएको अवस्था छैन । जबसम्म एउटा महिला नेतृत्व अगाडी बढ्दैन तबसम्म समग्र  महिला नेतृत्व अगाडी बढ्न सक्दैन । यस्तो अवस्थामा अब महिलालाई एकपटक मौका दिदाँ के जान्छ  ?पार्टीमा समानताको अनुभूति ल्याउनको लागि पनि महिलाले स्थान पाउनुपर्छ भन्ने मेरो भनाई हो । यो २१ औँ शताब्दिमा आएर हामीले परम्परागत र पुराना कुरामा गएर फिर्ता हुन त सक्दैनौ नि हामी अब त हामी अगाडी बढ्नुपर्छ । त्यसैले आफ्नो सोचमा पनि परिवर्तन ल्याउनुपर्छ । त्यसैले म लड्छु नै भनेर दाबी गरे तर अघिल्लो महाधिवेशनमा मैले फेरि एकपटक त्याग गरेकी हुँ । अब आउने महाधिवेशनमा म नै सभापतिको साझा उम्मेदवार बन्नेमा  धेरै विश्वस्त छु । मैले पार्टीलाई अगाडी बढाउन सक्छु । 

तपाईले यसो भनिरहदाँ तपाईकै कोईराला परिवारबाट सभापतिमा उठ्ने तीनजना पुग्नुभयो अनि कसरी तपाई सभापतिको साझा उम्मेदवार बन्न सक्नुहुन्छ ? 

हाम्रो परिवारभित्र मेरो दुईजना दाजुभाई हुनुहुन्छ । उहाँहरु पनि सभापतिमा लड्ने इच्छा गर्नुभएको छ । त्यो स्वभाबिक हो । उहाँहरु पनि राजनीतिमा हुनुहुन्छ तर हाम्रोमा कुनै बिबाद छैन । हामीमा एकदम राम्रो सुझबुझ छ ।  हामी एकआपसमा मिलेर नै जान्छौ । र मलाई पुरा बिश्वास छ उहाँहरुले पनि एकपटक ल दिदीलाई या बहिनीलाई बनाउ भनेर मलाई नै सभापतिको उम्मेदवार बनाउने कुरामा सहमत हुनुहुन्छ  । उहाँहरुको महिला अगाडी बढेस भन्ने सोच छ , भन्ने मलाई लाग्छ । अबको महाधिवेशनमा उहाँहरुले मलाई सर्मथन गर्नुहुन्छ । कोइराला परिवारबाट हामी मिल्छौ हामी फुटेर चुनाव लड्दैनौ । अहिले चर्चामा हामी तीनजनाको नाम भएपनि हामी बसेर सरसल्लाह गरेर एकजना उठ्छौ । हाम्रा पाठक दर्शकले बुझ्नेगरि भनिदिनोहोस् त्यो एकजना को हुन सक्छ ? 
यसमा सुजता कोईरालाई नै सभापतिको लागि अबको साझा उम्मेदवार हो भन्ने धेरै आधार देख्छु । तर अहिले छोटकरीमा भन्दा मैले पनि उम्मेद्धारी घोषणा गर्न ढिलो गरे । मैले अहिले पार्टीको साथिहरुसँग सम्पर्क गर्नु छ । धेरै जनासँग टेलिफोन, इमेल साथै सामजिक संजालबाट सम्र्पक गरिरहेको छु । मैले जहाँ जहाँ जेबाट सम्भव हुन्छ त्यसरीनै कुराकानी गरिरहेको छु । अर्को कुरा के छ भने हामी तीनजनाको कुरा गर्ने हो भने मलाई लाग्छ उहाँहरुले मलाई समर्थन गर्नुहुन्छ । अब जो एकदम बलियो हुन्छ, त्यसैलाई समर्थन हुन्छ । बिश्वास पनि गर्नुपर्यो नि महिलाले गर्न सक्छ भनेर । महिला पनि सक्षम हुन्छन्, सबै हामीले एकपटक सहयोग गरौ भन्ने पनि सोच राख्नु पर्यो  । हामी एकअर्कालाइृ समर्थन गरेर अगाडी बढ्छौ । 
नेपाली कांग्रेसको अबको महाधिवेसनबाट सभापति पद कोइराला परिवारबाहेक बाहिर जाने सम्भवना छैन ?
जसलाई बढी समर्थन आउछ त्यो चाहे कोइराला परिवार होस् या बाहिर होस् उ नै उठ्नुपर्यो । हामी त्याग पनि गर्नुपर्यो तर मलाई लाग्छ, सबैलाई आफु नै सक्षम लाग्छ त्यसै त दिदैँन नि उम्मेद्धारी । मेरोमा पनि त्रुटिहरु होलान तर मलाई लाग्छ म एउटा जेन्डरको हिसाबले पनि मैले समर्थन पाउछु भन्ने मलाई बिश्वास छ । अब मलाई सबैले जेन्डरकै हिसाबले त हेर्दैन नि म त अब एउटा राजनीतिज्ञ पनि हो । तर अब महिलाको पनि हित चाहिन्छ , महिलाको लागि बोल्दिने पनि चाहिन्छ र महिलालाई पनि स्थान दिनुपर्छ भन्ने मानिस पनि चाहियो नि । अब क्रियासिलमा पनि महिलाको तल देखि नै प्रतिनिधित्व एकदम न्यून छ । अब महिलाहरुको उपस्थिित बढाउन त महिला नै चाहियो नि । अब युवाहरु एउटा घरमा दुईजनालाई क्रियासिल दिनुपर्छ । त्यो क्रियासिलताको लागि महिला, युवाहरु हुनुपर्छ भन्ने मेरो मान्यता हो । पटकपटक मैले यो कुरा उठाइरहेको छु । अब त्यसैले सबैलाई समेटेर लिएर जाने मान्छे चाहिन्छ ।

नेपाली कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको कुरा पनि त्यत्तिकै उठिरहेको छ । के अबको महाधिवेशनले युवामा नेतृत्व हस्तान्तरण गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
त्यो त म आफैँ पनि भनिराखेको छु नि । अब नेतृत्व युवाहरुलाई दिदैँ जानुपर्छ । अब अहिले एकजनाले नेतृत्व गरेपनि अब त्यसपछिको त युवा नै हो । अब युवाहरुलाई नै नेतृत्व हस्तान्तरण गर्ने हो ।
तपाईको पार्टी सभापति शेरबहादुर देउवाजी साँच्ची सत्ता समर्थक दलको नेता हो कि प्रमुख प्रतिपक्षी दलको ? तपाई प्रतिपक्ष दलको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ? 
अब एउटा गलत के छ भने उहाँ सरकारसँग सानो सानो पद माग्ने, पदको लागि झगडा गर्ने गर्दा के हुन्छ भने पार्टी एकदम कमजोर देखिन्छ । अब हर कुरामा सरकारसँग यो पाइन भने यो गर्दिन भनेर कुनै पदको लागि, कुनै राजदुतको पदको लागि या कुनै संबैधानिक पदहरु छन् त्यो पनि बिचल्ली नै परिरहेको छ । त्यो पद नेपाली कांग्रेसले जहिले पनि खोज्यो भने त त्यो भन्दा पनि आवस्यकता के छ भने सरकारले गरेका गलत कामको बिरोधमा हामीले ब्यापक रुपमा आवाज उठाउनुपर्छ । अहिले सानो तिनो कुरा खोज्नु भन्दा पनि अब त आवज बलियो बनाउनु पर्यो । यो सबै सभापतिले नै लिड गर्ने हो , सभापतिले नै निर्देशन दिने हो । त्यसैले सभापति नै गुटमा बाँधिनुभयो भने कसरी हुन्छ ? सभापतिको कुरा नै कोही सुन्दैन । एउटा गुटले मात्रै सुनेर त भएन नि । पुरा नेपाली कांग्रेसले सुन्नुपर्यो । मुख्य समस्या नै अब सभापति नै गुटमा हुनुहुन्छ । जसले गर्दा नेपाली काँग्रेस कमजोर भइराखेको छ । 

अन्त्यमा यो सरकारले गरिरहेका काम र सत्तारुढ नेकपा भित्रको विवादलाई चाहिं यहाँले कसरी हेरिरहनुभएको छ ?
छोट्करीका भन्दा स्थानीय तहमा बाटो घाटो बनेको देखिन्छ । अब जे होस् नेपाली कांग्रेसको पालामा एडिभीको प्रोजेक्ट आएको थियो तर ढिलो भयो र अहिले आएर लागु भयो । यो गएको स्थानीय निर्वाचनको कारणले पनि होला म जति जिल्लामा गए त्यहा बाटोघाटो स्वास्थ्य शिक्षाको अवस्था राम्रो हुदै गएको छ । कमजोरी नहुने त कोही पनि हुदैन तर सरकारले रामै्र प्रयास गरिरहेको छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । जस्तो यो कृषि मन्त्रालयले धेरै नयाँ कानुन, नियमहरु बनाएको छ । जसले कृषकहरुलाई फाईदा गरेको छ । तर त्यो कत्तिको लागु हुन्छ त्यो भने हेर्न बाँकी छ । बाटोहरु राम्रो बनेको छ । बिभिन्न जिल्लामा जाँदा म आफैँ छक्क परे । बिकासका कामहरु देख्दा खुसी लाग्यो । नेपाल त हामी सबैको हो नि, देश राम्रो भयो भने हामी सबै खुसी हुन्छौ नि । तर यस्ता कामहरुले अझ गतिशिल हुनसक्थे । त्यो हुन सकेन । सबैभन्दा नराम्रो के भने पदको लागि यो सरकारले जुन झगडा गर्यो, त्यसले म आफैँलाई पनि खिन्न बनायो । यस्तो मैले कहिल्यै देख्या छैन ।


  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार