• २०७७ माघ ५ सोमबार

नेपालमा कम्युनिष्ट पार्टी विभाजनको नालीबेलीः केशरजंगदेखि केपी–प्रचण्डसम्म

नारा : एकता–संघर्ष–रुपान्तरण, ब्यवहारमा सँधै गुटफुट

पुष्पलाल श्रेष्ठ नरबहादुर कर्माचार्यसहितका जुझारु युवा नेताहरुले बि.सं.२००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ वर्षमै पहिलोपटक विभाजनको बिउ रोपिएको थियो । 

बि.सं.२०१९ मा भएको नेकपाको तेश्रो महाधिवेशनपछि दुई लाईन संघर्षका नाममा पार्टीभित्र गुट–फुट र विभाजनको शृंखला शुरु भएको हो । एउटै पार्टीभित्र लामो समय संघर्ष गरेका र २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान पु-याएका कम्युनिष्ट नेताहरुबीच २०१७ सालको तत्कालीन राजा महेन्द्रको कूपछि  एकअर्कामाथि आरोप प्रत्यारोपको श्रृंखला शुरु भैसकेको थियो । उनीहरुले एकअर्कालाई दक्षिणपन्थी, उग्रवामपन्थी, दरवारपरस्त जस्ता आरोप प्रत्यारोप लगाउन थाले । यतिसम्म कि पार्टी फुटेर नेकपा मसाल बन्ने क्रममा मोटो श लेख्ने कि पातलो स लेख्ने, कमा,कोष्ठक र फुलस्टपमा समेत रडाको मच्चाउन थाले कम्युनिष्ट नेताहरुले । मूल सिद्धान्त समाजवाद हुँदै साम्यवादमा जाने भएपनि यस्तै सस्याना विवाद र एकले अर्कोलाई नेता मान्नै नसक्ने प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनमा पञ्चायत स्थापनासंगै भएको विभाजनको बीजारोपण अहिले पनि झांगिरहेकै छ । 

पछिल्लो पटक तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा भएको पार्टी एकता प्रक्रियाले पूर्णता नपाउँदै फेरि दुई चीरा परेको छ । एउटै विशाल कम्युनिष्ट पार्टीको सपना देखाएर पार्टी एकीकरण गरेका दुबै पार्टीका तत्कालीन अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै साँढे २ वर्षपछि भएको नेकपा विभाजनका मुख्य कारकका रुपमा देखा परेका छन् । 

आखिर किन टिक्न सक्दैन नेपालमा कम्युनिष्ट एकता ? भन्ने बुझ्न नेपालका कम्युनिष्ट पार्टीहरुको विगतदेखिकै फुटको इतिहास केलाउनुपर्ने हुन्छ । नारामा एकता, संघर्ष र रुपान्तरणको रटान लगाउने कम्युनिष्ट पार्टीका नेताहरु खास सैद्धान्तिक वैचारिक भिन्नताभन्दा पनि ब्यक्तिगत टकरावका कारण पार्टी विभाजनको सूत्रधार बन्ने गरेको इतिहासदेखि बर्तमान सम्मका घटनाले प्रमाणित गरेकै छ । 

तत्कालीन राजा महेन्द्रको पञ्चायती साशनको समर्थन गरेपछि २०१९ सालको तेस्रो महाधिवेशनबाट  निष्काशनमा परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा (संयुक्त) तत्कालीन माओवादी हुँदै नेकपाको मूलधारमा मिसिएको थियो । अहिले त्यो समूह प्रचण्ड–माधव पक्षतिर लागेको छ । तर रायमाझी समूहले २०२४ सालमा पुनर्गठन गरेको उक्त समूहमा २०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा विभाजन भएका थिए ।

रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै २०४७ सालमा नेकपा (प्रजातान्त्रिक), २०४८ मा प्रजातान्त्रिक,बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा (संयुक्त) बनेको थियो ।  मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा मसाल अहिले पनि छँदैछ । 

नेकपाको दुई चीरा हुनुअघिको स्वरुप मूलतः नेपालका कम्युनिष्टहरुको मूलधार झापा विद्रोहबाट स्थापित कोओर्डिनेसन केन्द्र, माले, माक्र्सवादी हुँदै २०४७ सालमा बनेको नेकपा एमाले तथा अर्कोतर्फ चौंथो महाधिवेशनबाट छुट्टिएको नेकपा(चौम), मशाल, एकता केन्द्र हुँदै नेकपा (माओवादी) र खुल्ला राजनीतिमा आइसकेपछि पनि पटक पटकको टुटफुट र एकतापछि बनेको नेकपा (माओवादी केन्द्र) संस्लेषित रुप हो ।२०४० साल मंसिरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समुह २०४६ सालको जनआन्दोलनमा संयुक्त रूपमा सहभागी भई संघर्षमा होमियो । पार्टी विभाजन गरी निर्मल लामाले ने.क.पा.(चौम) गठन गरे पश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम महामन्त्री बने ।२०४१ मंसिर १–१६ सम्म पाँचौं महाधिवेशन भयो ।

महाधिवेशनले मोहन बिक्रमको सारसंग्रहवादी कार्यदिशा पास ग¥यो । तर यौन काण्डका कारण महाधिवेशनमा व्यापक बहस भई उनलाई हलबाट कार्वाही गरी बाहिर निकालियो । महाधिवेशनमा प्रचण्डद्घारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनालाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरे २०४३ सालमा यसको सम्मेलन गरे । २०४३ सालमा ने.क.पा.(मशाल) को तर्फबाट काठमाण्डौंका प्रहरी विटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । जुन घटनालाई सेक्टर काण्ड भनिन्छ ।

सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग-यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास ग-यो । २०४६ सालको जनआन्दोलनमा ने.क.पा.(मशाल), ने.क.पा.(मसाल), सर्वहारा श्रमिक सङ्गठन, ने.क.पा.(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो ।२०४९ सालमा वर्ग संघर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरूसँग व्यापक बहस भयो, तर निर्मल लामाहरु वैधानिक संघर्षलाई मूख्य माने। जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । २०५१ साल फागुन २–४ मा ने.क.पा.(एकताकेन्द्र) को तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गरियो । समन्वयको गन्ध आएको भन्दै प्रचण्ड नेतृत्वको  ने.क.पा.(एकताकेन्द्र)ले नाम परिवर्तन गरी ने.क.पा.(माओवादी) राखे ।  

मनमोहन अधिकारी सहाना प्रधानहरुले नेतृत्व गरेको माक्र्सवादी र मदन भण्डारीहरुले नेतृत्व गरेको माले मिलाएर बनेको नेकपा(एमाले) महाकाली सन्धिको विषयलाई लिएर २०५४ मा फेरि विभाजन भयो ।  विभाजित भएर सहाना प्रधानलाई अध्यक्ष मानेर बामदेव गौतमको अगुवाईमा नेकपा(माले) बन्यो । तर त्यो विभाजन लामो समयसम्म टिकेन । फेरि २०५८ सालमा एकता भयो । तर सिपि मैनालीसहितका केही नेताहरु पूर्वघर फर्किन नमान्दा नेकपा माले अझै सानै भएपनि अस्तित्वमा छँदैछ । 

त्यसो त १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२–०६३ साल पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रुपमा टुटफुटको श्रृंखला नै चल्यो । ६२÷६३को जनआन्दोलनपछि तत्कालीन नेकपा(एकताकेन्द्र–मशाल)संग एकीकरण गरी एकीकृत नेकपा माओवादी गठन भयो । तर पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादीले त्यो एकता धेरै समय टिकाउन सकेन । प्रचण्ड संसदवादी भासमा फस्दै गएको आरोप लगाउँदै २०६९ मा मोहन वैद्यले पार्टी फुटाए । नेकपा–माओवादीका नाममा अलग्गै दल बनाएका उनीबाट फेरि बैद्यलाई जडसूत्रवादी भएको आरोप लगाउँदै नेत्रविक्रम चन्दले विद्रोह गरे ।

उता दोस्रो संविधानसभाले संविधान पारित गरेसंगै डा. बाबुराम भट्टराईले माओवादी फुटाएर नयाँ शक्ति नामक पार्टी गठन गरे । बैद्य र बाबुरामसंग गएका धेरै नेता माओवादीमा फर्किएर अहिले नेकपाको प्रचण्ड माधव समूहमा छन् । माओवादी आन्दोलनबाट आएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह मणि थापालगायतका नेताहरु पूर्व एमालेहरुको बाहुल्य रहेको नेकपाको ओली समूहमा रहँदा ४७ सालमा माले र माक्र्सवादी बीच एकीकरण भएर बनेको एमालेका नेताहरु दुई भागमा विभाजित छन् । 

रुपमा एकले अर्कालाई दक्षिणपन्थी, पूँजीवादी, अवसरवादी वा यथास्थितिवादी भएको आरोप लगाउँदै विभाजित हुने गरेको नेपालको कम्युनिष्ट आन्दोलन सारमा नेताहरुको ब्यक्तिगत टकराव,आफ्नै राजनीतिक भविष्य सुनिश्चतताको चीन्ता र अर्कोलाई नेता मान्न नसक्ने दम्भका कारण पटक पटक टुक्रा टुक्रा हुँदै आएकोमा भने कसैको दुईमत नहोला । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार