• २०७७ माघ ३ शनिबार

के आमसभामा जाँदा कोरोना सर्दैन, प्रधानमन्त्रीज्यू ?

एकजना संक्रमित हुँदा घरबाहिर ननिस्केका नेता ५ हजार सक्रिय संक्रमित हुँदा सडकमा 

सरकारले कोरोना जोखिमका लागि भन्दै गएको चैतमा बन्द गरेका विद्यालय, कलेज, जिमखाना र सिनेमा हलजस्ता क्षेत्र खोल्ने औपचारिक निर्णय अझै गरिसकेको छैन । गतसाता सम्पन्न कोरोना रोकथाम तथा ब्यवस्थापन केन्द्र (सिसिएमसि) निर्देशक समितिको बैठकले बल्ल ती क्षेत्र खोल्न सिफारीश गर्दै जोखिम देखिए तत्काल जिल्लास्तरबाटै बन्द गर्न दिन सरकारलाई सुझाएको छ । बेलायत लगायतका केही देशमा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण देखिएसंगै ती देशबाट नेपाल आउन केही समय प्रतिवन्ध लगाउनुपर्ने र आएकाहरुलाइ पनि १० दिन अनिवार्य क्वारेण्टाइनमा राख्न उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको निर्देशक समितिको बैठकले सरकारलाई उल्लेखित ब्यवस्था गर्न सिफारीश गरेको हो ।

केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजावादी शक्तिहरुले संघीय राजधानीमा प्रदर्शनको तयारी गर्दै गर्दा सरकारले सबै जिल्ला प्रशासन कार्यालयहरुलाइ संक्रामक रोग ऐनको प्रावधान बमोजिम भीडभाड नियन्त्रण गर्न निर्देशन नै दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना देखिएदेखि नै बालुवाटार बाहिरका कार्यक्रममा फिटिक्कै निस्किएनन् । प्रधानमन्त्रीको सरकारी कार्यालयमा नै बस्ने मन्त्रिपरिषद् र पार्टीका बैठक अनि सिमित कार्यक्रमहरुमा जानेले जुत्तामा समेत नीलो प्लाष्टिकको खोल हालेको दृश्य अब नेपालीहरुका लागि नौलो रहेन । 

तर केही दिनमै दृश्य पुरै बदलियो । प्रधानमन्त्रीको संसद विघटन र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसंगै सडकमा सरकारको समर्थन र विरोधमा दिनहुँ सभा, जुलुस प्रदर्शन हुन थाले । दलका बैठकमा सामाजिक दूरी कायम गर्दै बस्ने नेताहरु सडकमा कार्यकर्ता हौस्याउन उनीहरुका माझ पुगेर चर्का भाषण गर्न थाले । न सामाजिक दूरी, न अनिवार्य मास्क वा अन्य स्वास्थ्य सुरक्षा सावधानी नै । अहिले राजधानीसहित देशैभरी वडादेखि केन्द्रसम्म विभाजित नेकपा मात्र हैन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी अनि राप्रपादेखि विवेकशील सम्मका दलका नेता कार्यकता सडकमा उत्रिएका छन् । 

मान्छे सरकारी होस् कि प्रतिपक्षी, ठूलो पदमा पुगेको होस् वा गरीब कार्यकर्ता, काठमाडौंको होस् या कर्णालीको महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणले कसैमा भेदभाव राख्दैन । कोरोनाको दोस्रो लहर र नयाँ प्रकार देखिएका कयौं मुलुकहरुले फेरि लकडाउन गर्न थालिसकेका छन् । तर गएको चैतमा एक जना नेपालीमा कोरोना संक्रमण देखिएपछि महिनौंसम्म घरबाहिर ननिस्कएका र अझ कतिपय त महत्वपूर्ण काम र बैठकमै सहभागी नभएका नेताहरु अहिले संसद विघटनको समर्थन र विरोधमा कार्यकर्ता उराल्न देश दोडाहादेखि सडक कब्जा गर्न सम्म ओर्लिएका छन् । हिजो कोरोनाको सहज उपचार नपाएर जनता मर्न विवश हुँदा सरकारविरुद्ध संयुक्त विज्ञप्तीसम्म निकाल्न नसक्ने तथाकथित जिम्मेवार प्रतिपक्षहरु आज सरकारढलिहाले भाग पाइन्छ कि भन्ने आशमा संयुक्त सडक आन्दोलनको नारा उरालिरहेका छन् । 

विरोधी त विरोधी भइहाले, विपक्षी दल र सरकार छोडेर सडकमा उत्रिएको विभाजित नेकपाको एउटा टुक्राले त यो सरकारका कुनै आदेश मान्दिन, नियम जान्दिन पनि भन्न सक्ला । तर के आफैं दिनहुँ सरकारी सञ्चारमाध्यम र मोबाइलका रिंगब्याक टोनमा कोरोनाबाट बच्न सावधानी अपनाउन आग्रह गरिरहेको सरकार,त्यसका प्रधानमन्त्री, मन्त्रीहरु र त्यो पार्टीका नेता कार्यकर्ता हुँ भन्नेहरुलाई पनि सडकमा भीड जम्मा गरेर भर्खर अलिअलि शान्त हुँदै गरेको विश्व महामारी कोरोनाको जोखिम बढाउने छुट छ ?

के तपाईंको सरकार धरमाराएपछि, सबै क्षेत्रबाट संसद विघटन र निर्वाचन घोषणा असंवैधानिक भएको आवाज उठ्न थालेपछि चाहिं सरकार र आफ्नो कदमको बचाउ गर्न हजारौंको भीड जम्मा गर्दै सडकमा गरिने प्रदर्शन र सरकार पक्षीय नेकपाको आमसभामा जाँदा कोरोना सर्दैन प्रधानमन्त्री ज्यू ?
  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार