• २०७७ माघ ५ सोमबार

गणतन्त्र नेपाल र राष्ट्रिय एकता दिवसको सान्दर्भिकता

जनताका लागि राजनीति गर्छु भन्नेहरुले पृथ्वीनारायणबाट सिकुन्

देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको १२ वर्ष पूरा भैसकेको छ । २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि ६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनबाट गठित संविधानसभाले २०६५ साल जेठ १५ गते औपचारिक रुपमा राजतन्त्रको विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेको हो । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने बुढा पाकाको उखान सुनेर हुनसक्छ वा आफूले राजतन्त्र बहाल रहँदा गर्न पाएको हालीमुहाली सम्झिएर, पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एकपटक राजतन्त्र पुनस्र्थापनाको एजेण्डामा एउटै झण्डामुनि गोलबद्ध भएको छ । 

इतिहासमा पटक पटक ठूला ठूला परिवर्तन भएका छन् र केही उल्टिएका पनि । तर आम जनताले तत्कालीन राजा बीरेन्द्रको बंशनाशपछि क्रमशः क्षय हुँदै गएको नेपाली राजसंस्थाप्रतिको मोहलाई ज्ञानेन्द्रको ४ वर्षे प्रत्यक्ष  शासन देखेर तिलाञ्जली दिइसकेका छन् । त्यसैले सडकबाटै जनअनुमोदित गणतन्त्र केही नेताहरुका कुत्सित र गलत कार्यहरुकै कारण हल्लिन वा मासिन सक्छ भन्ने कुनै गुञ्जायास देखिंदैन । तर गणतन्त्र नेपालमा नेपाल एकीकरणका सूत्रधार राष्ट्रनिर्माता पृथ्बिनारायण शाहको सम्मान नै गर्नु आवश्यक छैन भन्ने जुन दुराशय गणतन्त्र स्थापनाका शुरुवाती वर्षहरुमा मौलाएको थियो, त्यसमा भने क्रमशः परिवर्तन हुँदै आएको पाइन्छ ।

तर आफूलाई गणतन्त्रवादी भन्न रुचाउने बर्तमान राजनीतिको अग्रभागमा रहेका केही नेताहरुले भने अढाई सय वर्षपूर्व विभिन्न टुक्रे राज्यहरुलाई एकीकृत गर्दै अहिलेको नेपालको अस्तित्व स्थापित गरिदिने राष्ट्रनिर्माताको सम्मान गर्दा नै गणतन्त्र विरोधी भइहालिन्छ कि भन्ने भ्रम पाल्ने गरेको देखिन्छ । खासमा २ सय ५२ वर्षअघि पृथ्बिनारायण शाहले टुक्रा टुक्रामा विभाजित स स्याना रजौटाहरुलाई भौगोलिक र सांस्कृतिक रुपमा एकीकरण गरेको सन्दर्भ र १२ वर्षअघि संविधानसभाले जनप्रतिनिधि निर्मित संविधान जारी गरेर नेपालको वास्तविक एकीकरणमा शुरुवात र बाँकी अभिभारा पूरा गरेका हुन् । नेपालको इतिहासमा अन्तिम समयका शाहबंशीय शासकको सोंच र शासन ब्यवस्थालाई लिएर पृथ्बिनारायणको राष्ट्र एकीकरणको महान योगदानलाई भुल्नु सर्वथा इतिहास र नेपालको अस्तित्वमाथि नै अन्याय हुनेछ । 

नेपालको असंलग्न परराष्ट्र नीति निर्माणको सम्न्धमा मात्र होइन, सुशासन र न्याय सम्पादनका क्षेत्रमा पृथ्बिनारायण शाहले जीवनको उत्तरार्धमा दिएका दिब्योपदेशहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । तर पृथ्बिनारायण शाहले आफ्नो ३२ वर्षे शासनकाल र झण्डै त्यति नै लामो एकता अभियानबाट प्राप्त ज्ञानलाई भावी पुस्ताले समेत अनुसरण गरी नेपाल र नेपालीको हीतमा काम गर्न सकून् भनेर दिएको दिब्योपदेशको सही मानेमा अनुसरण हुन नसक्दा राजनीतिक दल र तिनका योजना जनमुखी बन्न सकिरहेका छैनन् । आफू गोरखाका राजा भएपनि काठमाडौंलाई राजधानी बनाउने र जितेका राज्यहरुका स्थानीयहरुको मन जित्दै शासन गर्ने पृथ्बिनारायणको शैलीबाट अहिले एक पटकको निर्वाचन जित्दा पनि सबैलाई रिझाएर सुशासन दिन नसक्ने राजनीतिक दल र त्यसको नेतृत्वले धेरै कुरा सिक्नुपर्ने देखिन्छ । 

पृथ्बिनारायण शाहको राष्ट्रनिर्माणको योगदानलाई एउटा राजनीतिक प्रणाली, शासन ब्यवस्था र वा एउटा सामान्य एतिहासिक घटनासंग मात्र जोडेर हेरिनु नेपालप्रतिकै अपमान हुने बताउँछन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा । पृथ्बिनारायणले आफ्ना विश्वासपात्र बिराज बखतीलाई सेनापति नबनाएर जनताको भावना र सर्वोच्चतालाई स्वीकार गरेर कालु पाँडेलाई काजीको पद दिएबाट पनि जनताको चाहना र भावनालाई असल शासकले कत्तिको सम्मान गर्छन् भन्ने पुष्टि भएको थापाको भनाइ छ । 

गणतन्त्र स्थापना भएलगत्तै सरकारले पुस २७ गते दिंदै आएको सार्वजनिक विदा मात्रै कटौति गरेन, सरकारी स्तरबाट बनाउँदै आएको राष्ट्रिय एकता दिवसको कार्यक्रम समेत बन्द हुन पुग्यो । तर आज राजनीतिमा मूल्य मान्यता हराएको छ । जनताका सुखदुःखका सवालबाट राजनैतिक नेतृत्व बिमुख बन्दै गएको छ । राष्ट्रिय राजनीतिमा बैदेशिक हस्तक्षेप विगतभन्दा प्रष्टसंग बढ्दै गएको छ । सुशासन र सदाचारको साटो घुसखोरी र भ«ष्टाचार ब्याप्त छ । दलहरुबीच परस्परमा मात्र हैन दल दल भित्र गुफुट र विवादको अवस्था छ । जनताका सवालमा समेत राजनीतिक दलहरुबीच साझा दृष्टिकोण बन्न सकेको छैन । ।

“प्रजा मोटा भया दरबार बलियो रहन्छ, राजाका भँडार भन्याका रैतीहरु हुन्” भन्ने राष्ट्रनिर्माताको उद्गारबाटै उतिबेला शासकहरुले जनतालाई कति महत्व दिन्थे भन्ने स्पष्ट हुन्छ । अहिले युग  फेरिएको छ,शासन ब्यवस्था पनि फेरिएको छ र शासकहरु पनि । तर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने र राष्ट्रिय एकताका लागि आम जनतालाई समेट्न्पर्ने आवश्यकता र सान्दर्भिकता अझैं उत्तिकै छ, पृथ्बिनारायण शाहले अढाई सय वर्षअघि देखेजस्तै र त्योभन्दा पनि बढी ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार