• २०७७ माघ ५ सोमबार

विभाजित नेकपाका नेताहरुलाई पार्टीको नामभन्दा बढी सूर्य चिन्हको चिन्ता

किन छोड्न चाहँदैन दुबै पक्षले चुनाव चिन्ह ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई समूह पुस ७ गते राजनीतिक रुपमा अलग अलग केन्द्रिय कमिटीको बैठक गरेर विभाजित भइसकेका छन् । तर निर्वाचन आयोगमा आफूहरु नै आधिकारीक नेकपा भएको दावी गरिरहेका केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आयोगले भनेको औपचारीक ढाँचामा पार्टी आधिकारीकताको दावी गरिरहेका छैनन् । आयोगले मागेको चालिस प्रतिशत केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको दावी नगरेका दुवै समूहका नेताहरुले सार्वजनिक भाषण र पार्टीका आन्तरिक बैठकमा जोडजोडका साथ दोहोर्याउने एउटै वाक्यांश छ–नेकपा नाम र चुनाव चिन्ह सूर्य हाम्रै हुन्छ, ढुक्क हुनुहोस् ।

तर सामान्य राजनीतिक चेत भएको मानिसले पनि सहजै बुझेको कुरा हो कि आधिकारीक रुपमा नत एउटै नाम भएका दुईवटा पार्टी हुन सक्छन्,नत दुईवटा पार्टीको एउटै चुनाव चिन्ह नै । फेरि पनि अघिल्लो आम निर्वाचनमा चुनावी गठबन्धन गर्दा साझा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमतिबाट एकदिनमै पछि हटेका प्रचण्ड हुन् वा १३ लाख मतदाताले छाप लगाएर सूर्य चिन्हमा दिएको मतको पाँच वर्षे म्याण्डेट पूरा गर्न नसकेका केपी ओली दुबैले चर्को स्वरमा सूर्य चिन्ह आफूले नै पाउनुपर्ने जिकिर गरीरहेका छन् । पूर्व एमालेबाट नेकपामा आएका नेताहरुले सूर्य चिन्हप्रति मोह देखाउनु स्वाभाविक भएपनि प्रचण्ड माधव समूहका अध्यक्ष पूर्व माओवादीबाट आएका प्रचण्डले पनि ओलीकै हाराहारीमा सूर्यमाथि दावी गर्नु धेरैलाई अस्वभाविक लाग्न सक्छ । 

नेपाल यस्तो देश हो, जहाँ राजनीतिक चेतभन्दा पनि चुनाव चिन्ह हेरेर मतदान गर्ने मतदाताको संख्या अहिले पनि निकै ठूलो छ । त्यस्तो देशमा एकपटक हात पारिसकेको र स्थापित भएको चुनाव चिन्ह कायम रहनु र गुम्नुले निकै महत्वपूर्ण अर्थ राख्दछ । खुला राजनीतिमा आएर तीनवटा मात्र चुनाव लडेका पूर्व माओवादीहरुका लागि निर्वाचन चिन्ह परिवर्तन हुनुले त्यति अर्थ नराख्न सक्छ । तर २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना यताका तीन दशकमा केन्द्रिय र स्थानीय तहका गरी दर्जनौं पटक सूर्य चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएका पूर्व एमाले पृष्ठभूमिका केपी ओली र माधव नेपालहरुका लागि भने यो चिन्हको प्राप्ति राजनीतिक जीवन मरणकै प्रश्न हुन्छ । त्यसैले पनि विभाजित नेकपाका दुबै पक्षलाई पार्टीको नामभन्दा चुनाव चिन्ह कसले पाउने हो भन्ने पीरलोले यतिबिघ्न सताएको हो ।

निर्वाचन आयोगले गएको पुस १७ गते प्रचण्ड माधव समूहलाई राजनीतिक दलसम्बन्धी ऐनको ब्यवस्था अनुसार ४० प्रतिशत केन्द्रिय सदस्यको हस्ताक्षरसहित आधिकारीकता दावी गर्न पत्र पठायो भने ओली समूहलाई त्यसको जानकारी मात्र । तर आफूहरुले आयोगमा त्यसअघि नै ६४ प्रतिशत केन्द्रिय सदस्यको उपस्थितिमा भएको कमिटी बैठकका निर्णय जानकारी गराइसकेको भन्दै दफा ४४ बमोजिमको दावी गर्न अस्वीकार गर्यो । आयोगको सात दिने म्यादमा ढाँचाअनुरुपको दावी नपरेपछि आयोगले २३ पुसमा फेरि दुबै पक्षलाई एउटै ब्योहराको पत्र लेखी आधिकारीकता दावी गर्न भनेको छ । 

आयोगले भनेको ढाँचामा कुनै पक्षले दावी प्रस्तुत नगरेपनि प्रचण्ड माधव समूहले आयोगलाई लेखेको जवाफी पत्रमा निर्वाचन चिन्ह सूर्य अरु कसैले प्रयोग गर्न नपाउने प्रवन्ध गर्न आयोगलाई अनुरोध गरेको छ । तीन वर्ष अघिको आम निर्वाचनमा तत्कालीन एमालेले सूर्य चिन्हमार्फत करीब १३ लाख मत बटुलेको थियो भने गोलाकार भित्रको हसिया हथौडा चिन्हसहित मैदानमा ओर्लिएको तत्कालीन माओवादी केन्द्रले ८ लाख हाराहारी । अहिले पार्टी विभाजित हुँदा पूर्व माओवादीको ठूलो पंक्ति प्रचण्ड माधव समूहतिर छ भने ओली समूहमा पूर्व एमालेहरुको बाहुल्यता छ । तर २०७५ जेठमा पार्टी एकता भैसकेपछिको साझा चुनाव चिन्ह सूर्य गुमाएर भावी चुनावहरुमा शून्यबाट शुरुवात गर्न दुबै पक्षको आँट देखिंदैन । 

नेकपाको आधिकारीकता वा चुनाव चिन्ह कसले पाउला, त्यसका लागि त निर्वाचन आयोग वा त्यहाँबाट विवाद नसकिए सर्वोच्च अदालतसम्मको लामो प्रक्रिया पर्खनुपर्ला । तर कम्युनिष्ट पार्टी नामका दर्जन हाराहारी दलहरु भएको नेपालमा नेकपाभन्दा पनि सूर्य चिन्ह पाउनेले नै चुनावी मैदानमा बाजी मार्ने हुँदा त्यसमा दुवै समूहले अहिले गरीरहेको भगिरथ प्रयत्नलाई राजनीतिका जानकारहरु अस्वाभाविक मान्दैनन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार