• २०७७ माघ ३ शनिबार

यस्तो छ माघे संक्रान्तिको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व

कसरी शुरु भयो घ्यू, चाकु, तरुल र खिचडी खाने चलन ?

विक्रम संवतको दशौं महिनाको पहिलो दिनलाई नेपालको पहाडतिर “माघे संक्रान्ति” र मधेस तराईतिर “माघी” पर्वको रुपमा मनाउने चलन रहेको छ ।

माघेसंक्रान्ति वा माघी जे नामले सम्बोधन गरेपनि दुवै माघ महिनासँग सम्बन्धित छन् । यो पर्व विक्रम संवतसँग जोडिएको छ र त्यो सम्वत प्रचलनमा रहेको मुुलुक नेपाल मात्र हो । हिन्दू तथा बौद्ध समुदायका मानिसहरुले मिश्रित रुपमा मनाउने यो पर्व मूलभूत रुपमा खसआर्य,मगर र तराईमा थारुहरुले महत्वका साथ मनाउने गरेको पाइन्छ । पुरानो मगरात क्षेत्रमा बस्दै आएको खसआर्य समुदायले पनि मगरहरुबाटै माघे संक्रान्ति पर्व मनाउन थालेको श्रुतिहरु पाइन्छ । मगरात क्षेत्र अन्तर्गत बसोवास गर्ने खस समुदायमा माघेसंक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने चलन रहेको भए पनि त्यो पर्व त्यस समुदायको मौलिक भने होइन ।

आजकाल वैदिक परम्पराको “मकर संक्रान्ति”लाई नै माघेसंक्रान्तिको रुपमा मान्ने गरिएको हो भन्ने भनाईले मान्यता पाएको देखिन्छ । तर मकर संक्रान्तिको महत्व र मान्यतालाई स्वीकार्नुभन्दा अगाडि देखिनै खस समुदायले माघे संक्रान्ति मान्न थालेको हुनुपर्छ भनेर अनुमान गर्नुपर्ने हुन्छ । मकरसंक्रान्तिलाई हिन्दू धर्मसंस्कारले निकै महत्व दिएको पाइन्छ । खासगरी संक्रान्ति , औंशी पूर्णिमा वा ग्रहण लागेको समयमा गंगास्नान गर्दा पापमोचन हुने र मोक्ष प्राप्त हुने विश्वासका साथ माघे संक्रान्तिका दिन त्रिवेणी धामसहितका घाटहरुमा गंगास्नान गर्नेहरुको भीड लाग्ने गर्दछ । मकर संक्रन्तिमा सक्नेहरुले काशी,प्रयाग वा समुद्र (सिन्ध)मा स्नान गर्ने, नसक्नेहरुले नजिकको गंगा वा साना नदी तथा तलाउहरुमा डुबुल्की लगाएर पुण्यार्जन गर्ने परम्परा रहेको छ ।

त्रिवेणी मेला 

खस समाजले माघे संक्रान्तिलाई नै मकर संक्रान्ति हो भनेर मान्ने गरेको भए पनि मकर संक्रान्ति र माघे संक्रान्ति एउटै होइनन । नेपाली समाजमा “संक्रान्ति” भन्नाले महिनाको पहिलो दिन भनेर बुझ्ने गरिन्छ । महिनाको पहिलो दिनलाई संक्रान्ति मानिने पररम्परा विक्रम संवतको हो । वैदिक परम्परामा भने संक्रान्तिको शाब्दिक व्युत्पत्ति महिनाको पहिलो दिनबाट भएको मानिदैन ।

यस्तो छ धार्मिक ऐतिहासिक पक्ष
वैदिक मान्यतानुसार हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्दछ र त्यही प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुका संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् । चन्द्रमास अनुसार मकर संक्रान्तिमा सूर्य उत्तरायण हुने शुभ मुहुर्त पर्दछ । सूर्यले धनुराशी छोडेर मकर राशीमा पदार्पण गर्ने हुनाले त्यो दिनलाई “मकर संक्रान्ति” नाम दिइएको हो । इस्वी संवतको क्यालेण्डर अनुसार त्यो तिथि जनवरी महिनाको १३÷१४ तारिखमा पर्दछ । माघी वा माघे संक्रान्ति विक्रम संवतको मास गणनासँग सम्बन्धित देखिने हुनाले त्यो पर्व वैदिक संस्कृतिको मकरसंक्रान्तिभन्दा अलिकता जेठो होकि भन्ने अनुमान हुन्छ ।अर्को मत अनुसार हिन्दू धर्मशास्त्रमा मकर संक्रान्तिदेखि नै देवताहरुको दिन सुरु हुन्छ । जुन आषाढ महिनासम्म चल्दछ । महाभारत कालमा भीष्म पितामहले आफ्नो देह त्याग्नको लागि मकर संक्रान्तिको नै दिन चयन गरेका थिए । मकर संक्रान्तिको दिन नै गंगाजीले भगीरथको पछिपछि गएर  कपिल मुनीको आश्रम हुँदै सागरमा गएर विलिन भएकी थिइन् । महाराज भगीरथले आफ्नो पूर्वजको लागि यसैदिन तर्पण गरेका थिए । यसकारण मकर संक्रान्तिमा गंगासागरमा मेला लाग्ने गरेको छ । 

माघीको सामाजिक मत
माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोटो हुँदै जान्छ ।  माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र र मकलसहितको सीदा दान गरे बिशेष फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । साथै सर्दी नाशक र उष्णतायुक्त कन्दमूल र खाद्यान्न खाँदा शरीरलाई चीसोबाट जोगाउने सकिने विश्वासका आधारमा माघीमा घ्यू, चाकु, तरुल र मासको दाल र चामल मिसाएर पकाइएको खिचडी खाने परम्परा छ । 

तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । खासगरी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारुहरुले घोंगी, ढिक्री लगायतका परम्परागत परिकारहरु खाएर रमाइलो नाँचगान गर्दै माघी पर्व बनाउँदछन् ।

माघी नाँच्दै थारु महिला 

माघे संक्रान्ति मनाउन शुरु गर्ने मगर मुदायमा भने यो पर्व १ दिन मात्र नभएर  ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् । विगतमा बनभोज खान जाँदै जंगलमै पाइने तरुल, गिठा, भ्याकुर पालेर खाने क्रममा बिस्तारै आजका दिनसम्म पनि तरुल खेती नै गरेर माघीमा खाने चलन निरन्तर रही आएको छ । पूजाआजा र खानपान सकिएपछि माघीको अन्तिम दिनअर्थात भोलिपल्ट गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने खेल खेलिन्छ । हिजो आज यसले विभिन्न स्थानमा प्रतियोगिताकै रुप लिन थालेको पाइन्छ ।

मगर समुदायमा चर्चित तारो हान्ने खेल 

तिलको लड्डू तथा चाकूको पर्व 
माघमा अत्यधिक जाडो हुने भएकाले सर्दीजन्य रोगव्याधीको सम्भावना बढी हुन्छ । त्यसो हुनाले चीसोबाट बच्नका लागि चाकु, सख्खर तील , मास, फापर आदी गर्मी गर्ने खाध्य सामाग्रीबाट बनेका परिकारका विभिन्न मिष्ठान्न तयार पारेर खाने गरिएको छ । यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो । यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ । 

गोरु जुधाउने पर्व 
माघे संक्रान्तिलाई गोरु जुधाउनने पर्वको रुपमा पनि मान्ने गरिएको छ । हिउँदको खेती लगाउने काम सकेर फुर्सदमा रहेका किसानहरुले आ आफ्ना गोरुहरुलाई बलियो बनाएर माघीका दिन जुधाएर मनोरञ्जन लिने चलन समेत विभिन्न स्थानमा छ  । मध्ये पहाडी भेगका नुवाकोट,धादिङ, गोरखा लगायतका स्थानमा गोरु जुधाउने प्रचलन छ । पछिल्लो समय नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता नै संचालन हुँदै आएको छ । 

नुवाकोटको तारुकामा गोरु जुधांइदै

हाम्रा संस्कृति र चाडपर्वहरुले आपसी भाइचारा विस्तार, भेटघाट, हाँसखेल रमाइलो मात्र नभै आफ्ना पहिचान र परम्पराहरुको संरक्षण समेत गर्दछन् । स्वास्थ्य र शरीरलाई फाइदाका हिसाबले बैज्ञानिक आधार समेत भेटिने खानपान, ब्यायाम र मनोरञ्जनका पर्वहरुमा नकारात्मक पाटोहरु सुधार गर्दै संरक्षण गर्न सके भावी दिनमा माघीले नेपालीहरुलाई जोड्ने एउटा सांस्कृतिक कडीको काम गर्न सक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार