• २०७७ माघ ५ सोमबार

'चार करोडको मोटर' को म्युजिक भिडियो सार्वजनिक 

कोरोनाका नाममा भएको भ्रष्टाचारप्रति श्रीकृष्ण सिंखडाको चोटिलो प्रहार

चर्चित हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले कोरोनाका नाममा भएको भ्रष्टाचार र विकृतिका बिरुद्ध चोटिलो प्रहार गर्दै निकालेको गीत “चार करोडको मोटर”को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा श्रीकृष्णले कोरोना महामारीमा जनताले पाएको सास्ती र कोरोनाका नाममा नेताहरुले लुटेको मस्तीलाई समेटेर जनताका दुःख नबुझ्ने नेताहरुलाई ब्यंग्य गरेका छन् । हाइलाइट्स नेपालले निर्माण गरेको म्युजिक भिडियोको परिकल्पना गायक सिंखडा आफैंले गरेका हुन् भने लोकचन्द्र थापाले छायांकन र सुविन दाहालले सम्पादन गरेका छन् । गीतमा संजय खड्गीको संगीत रहेको छ । 

कोरोना महामारीका बेला गरीब र दीनहीन नेपाली जनताले पाएको सास्ती  र कोरोनाका नाममा भएको भ्रष्टाचारको विषय उठान गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराउन गीमार्फत आवाज उठाएका हुन् । चार करोडको मोटर हजूर चार करोडको मोटर, बिरामीलाई स्वाश फेर्ने छैन भेण्टिलेटर भन्दै श्रीकृष्णले कोरोना महामारीमा नेपालमा देखिएको जनताको दर्द र मौलाएको बेथितिप्रति सटीक ब्यंग्य गरेका छन् । 

कोरोनाबिरुद्ध सचेतना फैलाउँदै हिड्ने क्रममा आफैं कोरोनाबाट थलिएपछि केही नहुने गरीबहरुले कोरोनाबाट कति तड्पिनुपरेछ भनेर सहजै अनुमान गर्न सकेको कलाकार सिंखडाको अनुभव छ । गरीब जनता भेण्टिलेटरको अभावमा स्वाश फेर्न नपाएको र एक गाँस भातका लागि खुलामञ्चमा हात पसारिरहेका बेला नेता मन्त्रीहरु भने आफ्नो सुविधाका लागि करोडौंको गाडी किन्नकै पछि दौडिएको देख्दा सहन नसकेर गीतमार्फत प्रहार गरिएको कलाकार सिंखडा बताउँछन् । 

हेर्नुहोस् भिडियो:

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार