• २०७६ बैशाख ७ शनिबार

विश्वकै ठूलो विमानले गर्‍यो पहिलो उडान

पखेटाको फैलाइलाई आधार मान्दा विश्वकै सबैभन्दा ठूलो भनिएको विमानले पहिलो पटक उडान गरेको छ । स्ट्रेटोलञ्च नामक कम्पनीले निर्माण गरेको विमानले आइतबार पहिलो उडान गरेको हो । यसबाट उड्दाउड्दै भू‍उपग्रह प्रक्षेपण गर्न सकिन्छ। माइक्रोसफ्टका सहसंस्थापक पोल एलनले सन् २०११ मा उक्त कम्पनीको स्थापना गरेका थिए।

 यो विमानलाई सेटेलाइटको ‘लन्च प्याड’ का रूपमा तयार गरिएको छ । विमानको मुख्य उद्देश्य अन्तरिक्षमा सेटेलाइट छोड्नुअघि १० किलोमिटरसम्म उड्नु हो । विमानको तीन सय ८५ फिट लामो पंखा अमेरिकी फुटबल मैदान जति नै ठूलो छ । यो परियोजना सफल भए अन्तरिक्षमा कुनै वस्तु पठाउन जमिनबाट रकेटबाट पठाउँदा लाग्ने आर्थिक व्ययभार सस्तो हुने बताइएको छ । 

आफ्नो पहिलो उडानमा सो ट्विन-फ्युजलाज अर्थात् दुईवटा विमान जोडेर एउटै बनाइएको विमान चार हजार पाँच सय ७२ मिटर उड्यो र यसको गति २७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो।

यसमा छवटा इन्जिन छन्। यसको अधिकतम गति एक सय ७० माइल प्रति घण्टा मापन गरिएको छ । 

पहिलो उडानबाट फर्किएपछि विमानचालक एभन टामसले "अद्भुत" अनुभव भएको र अधिकांश समय विमान सोचेजसरी नै उडेको सञ्चारकर्मीहरूलाई बताए। आफ्नो वेबसाइटमा स्ट्र्याटोलन्चले आफ्नो लक्ष्य "अक्षको पहुँच एउटा व्यावसायिक विमान चढेकोजस्तै सजिलो" बनाउने भएको बताएको छ। ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनको कम्पनी भर्जिन गल्याक्टिकले पनि धेरै माथिबाट अक्षमा रकेट प्रक्षेपण गर्न मिल्ने विमान बनाएको छ।

स्ट्र्याटोलन्चले आफ्नो विमानलाई "संसारकै ठूलो विमान" भनेको छ। तर चुच्चोदेखि पुच्छरसम्मको लम्बाइलाई मान्दा योभन्दा ठूला विमानहरू पनि अस्तित्वमा छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार