• २०७६ मङ्सिर २३ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देख्दा आहा ! भन्ने बनाउँछु

ढोका बन्द गरेको विमान रोकेको भए झन् ठुलो समस्या आउँथ्यो

सधैजसो आलोचनाको विषय बन्ने नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय सुधारका सङ्केतहरू देखा परेका छन् । विमानस्थलका वाह«य भौतिक संरचनासँगै आन्तरिक व्यवस्थापनमा समेत धेरै सुधार भएका चर्चा चल्न थालेको छ । यात्रु, पर्यटक तथा हवाई सेवा कम्पनीहरूले यसको खुलेरै प्रशंसा गर्न थालेका छन् । विमानस्थलको बाह्य स्वरूपसँगै आन्तरिक व्यवस्थापनमा समेत अहिले तुलनात्मक रूपमा यात्रुले सहज महसुस गरेका छन् । पार्किङ व्यवस्थित बनेको छ । सरसफाइ तथा रंगरोगनले हवाई टर्मिनल, यात्रु कक्ष र अध्ययागमन क्षेत्र चिटिक्क देखिन्छ । बेला बेला उप्केर सास्ती दिने धावन मार्ग रिहावको काम हुँदैछ । तर यी र यस्ता सुन्दर पक्षलाई कहिले काहीँ विमानस्थल व्यवस्थापनमा देखिने सामान्य त्रुटिले पनि कुरूप पार्ने गरेको छ । गएको महिना मात्रै ५ दिन अघि नेपाल एयरलाइन्सको विमान रोकेर र ५ दिनपछि फलाई दुबई को विमानलाई उड्ने अनुमति दिएर विमानस्थल प्रशासनबारे प्रश्न उब्जिए । यिनै प्रश्नसँगै विमानस्थलभित्र भएका सुधार र आगामी योजनाका विषयमा टिभी अन्नपूर्णले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीसँग गरेको कुराकानी  :


 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम कस्तो चल्दै छ  ? 

मैले विमानस्थल प्रमुखको जिम्मेवारी सम्हालेपछि विमानस्थल झट्ट देख्दा आकर्षक मात्रै होइन यसको व्यवस्थापनलाई पनि चुस्त राख्ने सङ्कल्पका साथ काम गरेको छु । विभिन्न प्याकेज बनाएर सुरु भएका मेरो योजना केही पुरा भए केही हुदैंछन । यसमा महानिर्देशकज्यू निक्कै राम्रो सहयोग मिलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी अहिले रन वे  रिहाबको काम गर्दै छौ । रन वे रिहावलिस भनेको रनवेको सबै सामग्री फालेर नयाँ बनाउने हो । यो काम अहिले चलिरहेको छ । जसका कारण  अहिले राति १० देखि बिहान ८ बजेसम्मको लागि एयरपोर्ट बन्द हुँदा ट्राफिक बढेको छ । कम समयमा नियमित सबै उडानलाई व्यवस्थित गर्नु अहिलेको चुनौती हो । हामीले कुनै पनि उडान प्रभावित नहुने गरी दिउँसो र बिहानको को समयमा व्यवस्थापन गरेका छौँ । त्यसबाहेक सम्मानीय प्रधानमन्त्रीज्यूले अघि सारेको बुटिक एयरपोर्टको अवधारणालाई कार्यन्वयनको काम भइरहेको छ । धेरै काम भई पनि सकेका छन् जसले हामी धेरै क्षेत्रबाट वाही वाही पाई रहेको अवस्था छ  । अब दोस्रो चरणको कामको लागि टेन्डर गरेका छौँ । त्यो अबको ६ देखी ७ महिनामा सकिने काम हो । समग्रमा भन्दा आगामी एक बर्ष्भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ स्वरूप दिने गरी काम गरिरहेका छौँ । 

तपाइहरू वैशाख १ गतेभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने लक्ष्य राख्नुभएको थियो हैन ? 


हो हाम्रो योजना त्यही थियो । मैले अघि पनि भने विमानस्थलमा हुनुपर्ने काम निरन्तर चलिरहेको छ । यद्यपि यसबिचमा केही समस्या परे जसले हामीलाई  वैशाख १ गते नै त्यो साइत जुरेन भनौँ । हामी काम गरिरहेका छौ । जस्तै मूर्तीहरू राख्ने, गैडाहरुको ब्यानर राख्ने , पार्किङ व्यवस्थापन, सरसफाइ गर्ने देखी लिएर बुटिक एयरपोर्टकै अवधारणअनुसार भित्रको रंगरोगन, कार्पे्टिङ लगायतका  पहिलो चरणका काम सकिएका छन् । दोस्रो चरणका काम यो भन्दा केही ठुला सम्भवतः अबको ४ देखी ६ महिनामा पुरा हुन्छ । हामी यसमा निरन्तर लागिरहेका छौँ ।   

सुधारका ठोस कामहरू भर्खर देखिन थालेका थिए यही बिचमा विभागीय मन्त्रीको निधन भयो यसले तपाईँको कामलाई कत्तिको असर गर्र्यो ? 

मैले यसअघि पनि धेरै पटक भन्ने गरेको छु  । सम्मानीय प्रधानमन्त्री ज्यू र स्वार्गिय मन्त्रीज्यूको विमानस्थलप्रति खास चासो थियो । जसका कारण निक्कै छोटो समयमा विमानस्थलमा धेरै सुधारका कामहरू गर्न हामी सफल भएका हौँ । यसैबीचमा जुन दुःखद घटना घट्यो यसले हामीलाई मर्माहत बनाएको छ । यो पीडामा हाम्रा कामहरुपनि स्वाभाविक रूपमा प्रभावित भए । यद्यपि हामीले शोकलाई शक्तिमा बदलेर स्वर्गीय मन्त्रीज्यूले देखेका सपना साकार पार्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वासले काम गरिरहेका छौँ । त्यसमा हामी प्रतिबद्ध छौ । तर समस्या नभएको कुनै ठाउँ र समय नै नहुने रहेछ । हामीले गरिहाल्नुपर्ने केही काम अझै बाँकी छन् । अब बर्सातको बेला लागेकाले अपेक्षित समयमा हाम्रा काम सम्पन्न गर्न सकिदैंन की भन्ने चिन्ता हामीलाई छ । हामी यसलाई रातदिन नभनी गर्नुपर्ने अवस्था छ । 

ससाना काम गरेर देखाउने बेला रन वे रिहाबिलिटेशनको काम सुरु भएपछि तपाईँको मुख्य समय त अरू काम भन्दा उडान व्यवस्थापनमा खर्चिने भयो नि हैन ? 

हो पक्कै पनि यति वेला भारी उडान अवधि कटौती गरेको अवस्थामा नियमित उडानलाई कम समयमा व्यवस्थापन गर्ने चुनौती छ । तर मैले तपाईँलाई भन्नै पर्छ यो अपरिहार्य थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बनेपछि अहिलेसम्म टालटुलको कामबाहेक रिहाबिलिटेशनको काम हुन सकेको थिएन । जसका कारण अघिल्लो बर्सातमा एकैदिनमा चार पटक सम्म रन वे उप्कने, बिग्रने हुँदा यसको मर्मतका लागी  जहाजलाई बारम्बार होल्ड गराउनु पर्ने अवस्था आयो । धेरै उडान यही कारण प्रभावित भए । फेरि यो वर्ष पनि यस्तै समस्या आउनु हुँदैन भनेर हामीले केही समयलाई समस्या निम्ताएर दीर्घकालीन समाधान खोजेका हौँ । मलाई त यो आजभन्दा दुई तीन वर्ष पहिले नै गर्नुपर्ने काम थियो भन्ने लाग्छ । यो रनवेको मर्मत सुधार गरेपछि अब अर्को २५ वर्ष कुनै  समस्या आउँदैन । हो हाम्रा धेरै लिमिटेशन छन् रन वे एउटा छ , टर्मिनल सानो छ, स्पेस सानो छ फेरि पर्यटक आउने सिजन भएकाले चहलपहल यही बेला अत्यधिक छ । जुन तपाईँले भने झै चुनौतीपूर्ण पक्कै छ तर हामी विश्वस्त छौँ की यही कारण सम्बन्धित विमान सेवा कम्पनीको कमजोरी बाहेकका अवस्थामा कुनै पनि उडान क्यान्सिल गर्नुपर्ने अवस्था आउने छैन । र¥हो तपाईँको प्रश्न यो बेलाको सबै महत्त्वपूर्ण समय उडान व्यवस्थापनमा खर्चियो भने अन्य काम कसरी हुन्छ भन्ने ।  अवस्यपनि यसले केही न केही अप्ठ्यारो त बनाउँछ नै तर यसकै कारण अन्य काम ठप्प हुने भन्ने होइन । हामी निरन्तर हाम्रा कामलाई अघि बढाई रहेका छौँ । 


समय एकै पटक दैनिक १० घण्टा कम हुँदा  पनि उडान प्रभावित भएको छैन भन्नुभयो यो कसरी ? 


विगतमा समयको व्यवस्थापन  ११ बजे देखि २ बजेसम्म म्याक्सिमम उडान , बेलुका ७ बजे देखि ११ बजेसम्म म्याक्सिमम उडान र अरुबेला चाहिँ लिनियर उडान जस्तै थियो ।  हामीले पिक आवर बाहेकको खुला समयलाई यति बेला सदुपयोग गरेका छौँ । बिहान ६ बजे देखि ८ बजेको समय डोमेस्टीक उडानको समय हुन्थ्यो । यसमा बिशेषगरि लुक्ला को उडानले धेरै समय लिने गरेको थियो यसलाई अहिले हामी रामेछापको मन्थलीबाट उडाउन सुरु गरेका छौँ । अहिले रामेछापबाट लुक्ला मा २२ वटा उडान भर्ने गरेका छन् । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप थियो । 

तपाईँले उडानमा डिस्र्टब भएको छैन सेडुयल अनुसार नियमित काम भइरहेको छ , भनिरहँदा तपाइमाथि केहीदिनअघिमात्रै फलाई दुबईको उडानमा नोटाम अवज्ञा गरेको आरोप लाग्यो नि ?

 
हो , नोटाम अवज्ञा गरेको भन्दा पनि नोटाम एस्पाण्ड गरेको घटना थियो त्यो दिन । त्यो भन्दा ठिक ५ दिन पहिले म एउटा कार्यक्रमका लागी  हङकङमा थिए । नेपालमा नोटामका कारण नेपाल एयरलाइन्सको विमान उड्न नपाएर सयौँ विदेशी तथा नेपाली यात्रुले समस्या भोग्नु परेको विषय बजारमा आएको थियो । यसले यति धेरै चर्चा पायो की यो हामीले गर्नै नहुने थियो जस्तो भयो । तपाईँ हेर्नु भए होला सरकारले यो विषयमा छानबिन समिति नै बनायो । समितिको प्रतिवेदन पनि आयो जसले उडान रोकिएको विषयमा केही कर्मचारीलाई कारबाही समेत गर्न निर्देशित दियो । ठिक त्यसको ५ दिनपछि उड्नका लागी ढोका बन्द गरिसकेको विमान मैले रोकेको भए यसले झन् ठुलो समस्या आउन सक्ने देखेर त्यो दिन मैले सम्बन्धित इन्जिनियरको राय लिएर उड्न अनुमति दिएको हुँ । यसलाई केही साथीहरूले गलत अर्थले पनि व्याख्या गरेको पनि भेटियो । उड्नका लागी यात्रु चढाएर ढोका बन्द गरेको विमान थप समस्या नआउने अवस्थामा उड्न दिनुपथ्र्यो मैले त्यही गरेको हुँ । यदि त्यो दिन मैले उड्नबाट रोकेको भए ५ दिन पहिले फ्लाई दुबईको उडान रोक्दा जुन समस्या आएको थियो त्यस्तै अवस्था आउन सक्थ्यो । मलाई त लाग्छ मैले त्यो दिन नोटामको  केही अवधि थपेर भए पनि उड्नका लागी तयारी अवस्थामा रहेको विमान उड्ने अनुमति दिएर ठिक गरे । 


धावनमार्ग पुर्न्निर्माणको बाहेक अहिले अरू हुँदै गरेका खास कामहरू के के  हुन ? 

धावनमार्गको काम बाहेक हामीले नयाँ स्टाइल जोन बनाउँदै छौ । जुन ४ देखी ५ महिनामा सकिने छ । यो सारै साँघुरो भएका कारण यात्रुलाई समस्या भएको थियो । हामीले ४ वटा जहाज राख्न सक्ने पार्किङ वे बनाउदैंछौ यसलाई भदौंसम्म पुरा गर्ने लक्ष्य छ । यसबाहेक डोमेस्टिक तर्फ पनि केही समस्या अझै छन् । भवनलाई बिस्तार गनुपर्ने अवस्था अहिले विद्यमान छ । तलको पार्किङ अलिकति व्यवस्थित हुन सकेको छैन । यसलाई तुरुन्तै व्यवस्थित बनाउन त्यहाँको ठेकेदारलाई टाइम फ्रेमसहित निर्देशन दिएको छु । फेरि पनि दोहोराउन चाहन्छु अबको एक वर्षभित्र मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आहा भन्ने बनाउँछु । सम्झनुस् केही काम भई सकेका छन् तपाईँ विमानस्थल प्रवेश गर्दा अहिले नै अनुभूति गर्नुहुनेछ केही बाँकी काम छिट्टै सम्पन्न हुनेछन् । 

सुरुवातका ६ महिनामा भएका कामको निक्कै चर्चा भयो त्यसपछि तपाईँको सक्रियता केही कम भएको हो ?

हो अवश्य अहिले रूपमा त्यस्तै देखिएको छ तर सारमा त्यस्तो होइन । तपाईँले भनेको कुरा हो की भन्ने मलाई पनि आजकल कहिलेकाहीँ महसुस हुन्छ  । तर यो मैले स्पष्ट भन्नै पर्छ सक्रियता कम भएको होइन सबै कुरा गएर बजेटमा टुगिदो रहेछ । मैले कामको सुरुवात ससाना प्याकेज बनाएर गरेको थिए । जुन कामका लागी मलाई कुनै समस्या थिएन । बजेटले पनि मेरो योजनालाई सपोट गरेको थियो । पछिल्लो समय मैले थालेका काम अलिक ठुला बजेटका छन् । जसका लागी मैले चाहेर मात्रै भन्दा बढी माथिल्लो निकायको सहमतिका आधारमा गर्नुपर्छ । तपाईँलाई थाहा छ अहिले पनि हाम्रो प्रचलित प्रक्रिया निक्कै झण्झटिलो पनि छ । जसका कारण हामीले चाहेकै बेला नतिजा ल्याउने गरी काम गर्न सहज छैन । जसले झट्ट रिजल्ट हेर्न खोज्दा सक्रियता घटेको हो की झैँ देखिन्छ यद्यपि म पटक्कै यही अवस्थामा पनि निराश छैन म झन् सक्रिय बनेर लागेको छु । मैले जुन योजनाहरू अघि सारेको छु यसलाई मेरै कार्यकालमा पुरा गर्ने कुरामा म दत्तचित्त छु । मलाई पुरै विश्वास छ, सम्माननीय प्रधानमन्त्री ज्यूको बुटिक एयरपोर्टको अवधारणा अवश्य पुरा गर्न हामी सफल हुनेछौँ । 

 

तपाईँले विमानस्थलको स्वरुपमात्रै नभएर आन्तरिक व्यवस्थापन सुधारका लागी जुन प्रयास गर्नुभएको छ , यसमा तपाईँको टिमबाट कस्तो सहयोग भइरहेको पाउनुभएको छ ? 


हरेक काम गर्ने टिमले हो टिमबाट सहयोग नहुने हो भने त के गर्न सकिन्छ र ? विमानस्थलमा रहेको टिमबाट असाध्यै सहयोग भएको छ । कहिलेकाहीँ यसबाहिरबाट लिनुपर्ने सहयोगमा समस्या त प्रवृत्तिगत आधारमा नेपालका हरेक क्षेत्रमा देखिन्छ नै त्यसबाट अछुतो हामी पनि छैनौँ । तर म सुरुवातका दिनमा जुन स्प्रिटका साथ लागेको हुँ आज पनि त्यही स्प्रिटमा काम गरिरहेको छु । केही यस्ता काम हुन्छन् जुन आम पब्लिकले तत्कालै होस भन्ने चाहान्छन तर मैले मेरो मात्रै निर्णयले गर्न सक्ने अवस्था हुँदैन । जसका लागी हेड अफिसबाट अनुमति लिनुपर्छ । हेड अफिसबाट अनुमति लिनु भनेको बोर्डमा जानुपर्छ । यो प्रक्रियागत हिसाबले लामो र झण्झटिलो हुँदा चाहेकै अवस्थामा पब्लिकले बुझ्नेगरि नतिजा दिन असहज त हुन्छ नैे । तर हामी देशको नियम कानुनको अधीन रहेर प्रक्रियागत रूपमै काम गर्नुपर्छ भन्ने मैले बुझेको छु । यही अनुसार टिआईएलाई व्यवस्थित गर्ने मेरो सपना हो । यसमा म दृढसंकल्पित छु । 

योग्यताक्रमका आधारमा तपाईँलाई अबको महानिर्देशकको रूपमा पनि चर्चा हुने गरेको छ हैन ?  

योग्यताक्रमका आधारमा चर्चा हुने कुरासँग मेरो विमति रहेन । महानिर्देशक ज्यूको कार्यकाल सकिन अब केही महिना मात्रै बाँकी हुँदा स्वाभाविक रूपमा हाम्रोमा यस्ता चर्चा यसअघि पनि चल्ने गरेका छन् । यसबाहेक जिम्मेवारी लिने सवालमा थप दौडधुप समेत हुन्छ भन्ने सम्म पनि सुन्छु  । तर अहिले नै म यो दौडधुपमा छैन । ठिक यो बेला मैले जुन जिम्मेवारी सम्हालेको छु । यसलाई थप सिर्जनात्मक र नतिजामुखी बनाउने प्रयत्न गरिरहेको छु । अहिले मैले सोच्ने भनेको कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अझै सुन्दर र व्यवस्थित बनाउन सकिन्छ भन्ने मात्रै हो । यद्यपि यो भनिरहँदा मेरो योग्यता र क्षमताको कदर गरेर मलाई त्यो जिम्मेवारी आउँछ भने म त्यो पनि उत्तिकै सिर्जनशिल र कुशलतापूर्वक निर्वाह गर्नबाट पछि हट्नुपर्छ भन्ने लाग्दैन  । किनकि नेपालको उड्डयन क्षेत्रमा अहिले पनि धेरै समस्या विद्यमान छन् । यसको सुधारका लागी पनि हामी केही ठोस काम गर्नुपर्ने आवस्यता छ । टिआई ए  व्यवस्थित गरेसँगै भैरहवा र नेपालगन्ज विमानस्थलमा  भविष्यको ट्राफिकलाई हेरेर दीर्घकालीन योजनासहित काम गर्नुपर्छ । देशभरका सञ्चालनमा रहेका विमानस्थलहरूको स्तरउन्नती गर्ने देखी लिएर बन्द विमानस्थल पुन सञ्चालनका लागी समेत काम गनुपर्ने आवश्यकता मैले महसुस गरेको छु । 


 

 

यो पनि हेर्नुहोस बिमानस्थलभित्र पछिल्लो समय भएका सुधारका कामहरु भिडियोमा : 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार