• २०७६ जेठ ८ बुधबार

च्याउ खाँदा एक बालकको मृत्यु, एक गम्भिर

लमजुङ,
लम्जुङमा च्याउ खाएर एक बालकको मृत्यु भएको छ । क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो ।

शुक्रबार च्याउ खाएपछि उनी बिरामी परेका थिए । उनको उपचारको लागी काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना गरिएको थियो । तर उपचारमा संलग्न  डाक्टरले साजनको उपचार सम्भव नभएको भनेपछि गाउँ फर्काएको र मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए । स्थानीयका अनुसार आमा तारा र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बसेका थिए । सुलबहादुर र उनकी पत्नि सरिताले शुक्रबार गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र बेलुकी पकाएर खाएका थिए।

च्याउ खाएका सबै शुक्रबार राति बिरामी परेपछि गाउँलेले उनीहरुलाई उपचारका लागि पोखरा पुर्‍याएका थिए। सुलबहादुर र सरिता साथै गम्भीर भएका उनीहरुका छोरा १२ वर्षीय मन्तोष र छिमेकीका छोरा साजनलाई फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले ४ जनालाई काठमाडौं रिफर गरेपछि सोमबार उनीहरुलाई काठमाण्डौ लगिएको थियो । मन्तोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताएका छन् । सुलबहादुर र सरिताको अवस्था भने सामान्य अवस्थामा रहेको बुझिएको गुरुङले बताए। साजन गिलुङस्थित बुद्धोदय मावि कक्षा ५ मा पढ्थे भने  मन्तोष कक्षा ७ मा पढ्छन् ।

उपचारमा संलग्न डाक्टरले च्याउ विषालु परेका कारण उनीहरु बिरामी भएको गाउँलेले बताएका छन्। घटनाबारे प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादव ढकालले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार