• २०७६ असोज ६ सोमबार

नेपाल टेलिभिजन प्रदेश नं. ३ को ब्युरो अफिस हेटौडामा

दीपक पराजुली
टिभी अन्नपूर्ण, हेटौंडा । 

टेलिभिजन इतिहासमा अग्रणी संस्था नेपाल टेलिभिजनको प्रदेश नं. ३ को ब्युरो कार्यालय हेटौडामा स्थापना भएको छ।  नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल प्रसाद बास्कोटाले एक कार्यक्रमका बिच उक्त ब्युरो कार्यालयको उद्घाटन गरेका हुन् ।

मन्त्री बास्कोटाले ब्युरो उद्घाटनले जनताको आवाज जनता समक्ष पुर्‍याउने माध्यम अझ सशक्त भएको बताएका छन् । जनतामा सूचना, सञ्चार र मनोरन्जनात्मक कार्यक्रमहरू अझ परिष्कृत रूपमा लैजाने बताउँदै उनले ब्युरो स्थापनाले प्रदेश भित्रका विभिन्न गतिविधिहरूलाई उत्पादन र प्रसारणको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्री बास्कोटाले सरकारले विकाशको सबै क्षेत्रमा   हात हालेकोले तत्कालको लागि केही उपलब्धि नदेखिए पनि सरकारले जनताकै पक्षमा काम गरिरहेको बताएका छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिस्टले हाल नेपाल टेलिभिजनका चार वटा च्यानलहरू सञ्चालनमा रहेका र आगामी दिनमा सबै प्रदेशहरूमा ब्युरो कार्यालय स्थापना गरी सञ्चालन गरिने बताए ।

प्रदेश राजधानीमा भएका सूक्ष्म गतिविधिहरूलाई जनता माझ लैजान ब्युरो कार्यालयले अझ सशक्त भएर काम गर्ने उनले जानकारी दिएका छन् । लोकतन्त्रको जरा भनेको जनता भएकोले जनताको आवाजलाई माध्यमको रूपमा पुर्‍याउन नेपाल टेलिभिजन सदैव लागिपर्ने उनको भनाई छ । नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले सातै प्रदेशमा ब्युरो कार्यालय उद्घाटन गरी सञ्चालन गरिनुका साथै नेपाल टेलिभिजन प्रविधिमा जानु महत्त्वपूर्ण उपलब्धि भएको बताए । नेपाल टेलिभिजनले २०४१ साल साउनमा परियोजनाको रूपमा गठन भई २०४१ माघ १७ गते देखि अहिले सम्म  नियमित प्रसारण गर्दै आएको छ।

कार्यक्रममा नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्ली अधिकारी, राष्ट्रिय अनुसन्धानका निर्देशक  कुलदिप थापा, संरक्षण मुद्रण समितिका कार्यकारी निर्देशक विकल पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलाल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा, लगायत स्थानीय बुद्धिजीवी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार