• २०७६ असोज ६ सोमबार

उदयपुरमा वडाअध्यक्षकै सिफारिसमा एकै व्यक्तिका दुई नागरिकता 

नागरिकता ऐनमा लिने र दिने दुवैलाई कारबाहीको व्यवस्था

अभिमन्यु लामिछाने
टिभी अन्नपूर्ण,उदयपुर । 

 उदयपुरको कटारी नगरपालिका -४ स्थाई ठेगाना भएकी एक महिलाले वडा अध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएकी छन् । साबिक कटारी-३ हाल  कटारी-४ गबुवा घर भएकी धनमाया राईले दोहोरो नागरिकता लिएको प्रमाण टिभी अन्नपूर्णले फेला पारेको छ । २०५२ साल वैशाख ४ गते जन्मिएकी दर्वजीत राई र  मनसरि राईकी छोरी धनमायाले दुई भिन्न नागरिकता लिएको खुलेको छ ।

धनमाया राईले पतिको नामबाट आफ्नै ( धनमाया राई )नाममा र बाबुको नामबाट नक्कली शीतल राईको नाममा नागरिकता निकालेकी छन् । धनमायाको २०६७ सालमा जातीय परम्परा अनुसार दुधौलीको प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुईवर्षपछि हालको दुधौली नगरपालिका साबिकको कुकुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । सोही दर्ता अनुसार श्रीमानको नामबाट धनमाया राईका नाममा नागरिकता लिएकी राईले फेरि  कटार नगरपालिका वार्ड नम्बर ४ को सिफारिसमा दोस्रो नागरिता लिएको देखिन्छ । धनमायालाई नाम फेरेर शीतलको नाममा नागरिकता दिन कटारी नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष  कृष्णराज दनुवारले सिफारिस गरेका छन् । हाल राईसँग सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २०६९ साल माघ २३ गते पतिको नाममा लिएको २०/०१/६९र०३३७५ नम्बर भएको धनमाया राई नाम उल्लिखित नागरिकता छ भने अर्को इलाका प्रशासन कार्यालय कटारीबाट लिएको १४/०२/७४/०१४१२ नम्बरको शीतल राईको नाम उल्लेख भएको नागरिकता प्रमाणपत्र प्रयोगमा छ । सिन्धुली जिल्ला प्रशासनबाट लिएको पहिलो नागरिकता लिएकी राईले पति प्रकाशसँग मनमुटाब सुरु भएपछि कटारीबाट नाम फेरेर लिएको देखिएको छ । यसरी एउटै व्यक्तिलाई फरक ठाउँबाट दुई भिन्न नामका नागरिकता लिनका लागी स्थानीय प्रशासनले आर्थिक चलखेल गरी सिफारिस गरेको स्थानीयले आरोप लगाएका छन्  । 

तर दोस्रो नक्कली नाममा एउटै व्यक्तिको दोहोरो नागरिकताको सिफारिस गरेका कटारी नगरपालिका वडा ४ का अध्यक्ष  कृष्णराज दनुवार भने यो आरोपको खण्डन गर्छन् । दनुवारले भने पहिलो नागरिकता लिएको जानकारी नभएकाले मैले दोस्रो नागरिकताका लागी सिफारिस गरेको हुँ यदि एउटै व्यक्तिका दुईवटा नागरिकता एउटा खारेज हुन्छ ।  नागरिकता प्रदान गर्ने इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले स्थानीय वडाअध्यक्षले नागरिकता दिने आवस्याक सम्पूर्ण कागजात सहित सिफारिस गरेकोले यसको जिम्मेवार वडा अध्यक्ष हुनुपर्ने तर्क गरे । तर उदयपुरका जिल्ला प्रशासन अधिकारी धु्रब बहादुर खड्काले भने यदि एकैव्यक्तिले दुईवटा नागरिकता लिएको भए नागरिकता ऐन अनुसार नागरिकता लिने र दिने दुवैलाई कारबाही हुने बताए । नागरिकता ऐन २०७५ अनुसार यदि कसैले झुटो विवरण दिएर दोहोरो नागरिकता ५ वर्षसम्म कैद र २० हजार देखी एकलाखसम्म जरिवाना हुने व्यवस्था छ भने सिफारिस गर्ने व्यक्तिलाई समेत कानुनी कारबाही हुने व्यवस्था छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार