• २०७६ कार्तिक ५ मंगलबार

कलाकारिताले सबैलाई जोड्छः गायक देवकोटा

म त आउने थिइन,यही चाल होला भन्या भा…..

ढुक्कै मन गरी बसे अन्त नजर लाइन….. 
६ महिनामा भेट हुँदा नि मिठो बचन पाइन….
यही चाल होला भन्या भा… 
यही चाल होला भन्या भा….
म त आउने थिइन…. 
यही चाल होला भन्या भा…..
यी गीतका हरफ हुन चर्चित गायक शिरीष देवकोटाका । सुमधुर स्वरका धनी देवकोटा गायक मात्रै होइनन् । मनछुने शब्द र लोकगीतमा मिठो लय समेत उनले भर्छन् । करिब डेढ दशकको सांगेतीक यात्रामा उनले थुप्रै चर्चित गीतहरू गाएका छन् । म त आउने थिइन, दुर्गा हौ कि भवानी, माया लाउन मिल्छ र ? लगायत उनका दर्जनौँ गीत चर्चामा छन् ।
लोक सङ्गीत क्षेत्रका चर्चित देवकोटालाई विशेषतः रोइला गायक भनेर पनि धेरैले चिन्छन् ।
लोकगीतको मर्म र भावलाई बचाई राख्नुपर्छ भन्ने गायक देवकोटा सङ्गीतको गुरु भने आमालाई मान्छन् ।
पछिल्लो समय नयाँ ड्रिम प्रोजेक्टको तयारीमा रहेका रोइला(खेली) गायक देवकोटासँग टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले गरेको कुराकानीः
पछिल्लो समय नयाँ गीत ल्याउनु भएको छैन । हराउनु भएको त होइन नि ? के मा व्यस्त हुनुहुन्छ ? 
त्यस्तो होइन । वैशाख १ गते चाँचर भन्ने गीत बजारमा ल्याएको थिए । रिता थापा दिदी सँगको सहकार्यमा । दिलीप रायमाझीसँग पनि पहिलो पटक ऐतिहासिक सहकार्य भयो । पुरानो शैलीको गीत थियो धेरैले मन पराइदिनु भयो ।
मलाई बुझ्नेहरूलाई थाहा छ । अहिलेको बजार कस्तो छ भने छिटै आउने छिटै जाने । भाइरल टाइपको । म त्यो बाट टाढा छु । दुई चार महिना गीत नआउँदा हरायो नै भन्ने होइन । सङ्गीत क्षेत्रमै व्यस्त छु । देश विदेशका कार्यक्रम गरिरहेको छु । एउटा शैक्षिक परामर्श व्यवसाय चलाई रहेको छु ।
वर्षमा दुई चार गीत ल्याउनुहुन्छ । तिनै गीतले खुबै चर्चा बटुल्छन् । के हुन्छ र तपाइका गीतमा फरक कुरा ?
मैले ल्याएका गीतहरू चर्चित भन्दा पनि लोकप्रिय हुन्छन् । मैले लोकगीत भित्रका थुप्रै विधाहरूमा ध्यान दिएको हुन्छु । जस्तो सेन्टीमेन्टल, लोग दोहोरी देखि लिएर झ्याउरे, रोइला, सालैजो आदि । लोकगीतलाई माया गर्नेहरूले मन पराई दिनुहुन्छ । अहिलेको बजार त कस्तो छ भने दुई दिनलाई चल्ने गीत ल्यायो अनि हिट भयो । तर मेरो गीत त्यस्तो हुँदैन । जीवन्त हुन्छ । संख्यात्मक हिसाबले मेरा रोइला गीतहरू धेरै चलेका छन् ।
खरबाँरी मा जान्छु……
म त आउने थिइन, यही चाल होला भन्या भा…… 
नजरैको भर…..
दुर्गा हौ की भवानी…….


धेरैले मन पराउनु भयो । मेरो लामो समय संगीतमा त्यसै गएको होइन । मैले एउटा गीत लेखी गाउनुभन्दा पहिला मलाई मन पर्नुपर्छ । त्यस्ता गीत व्यवसायीक रुपमा नचल्दा पनि मलाई दुख लाग्दैन । किनकि त्यसमा मैले मेहनत गरेको हुन्छु ।
कतिपय राम्रा चिज पनि चल्दैनन् त्यो बुझ्नेले मात्रै बुझ्छ । त्यसैले गीत बढी निकाल्ने भन्दा पनि गुणस्तर कायम गर्ने कुरामा बढी मेरो जोड रहन्छ ।
हालसम्म कति गीतहरू ल्याउनु भयो बजारमा ? स्मरण छ ?
मलाई स्मरण छ । लामो समय गीत सङ्गीतमा खर्चिए पनि तुलनात्मक रूपमा मेरा थोरै गीत छन् । किनभने मैले व्यवसायीक हिसाबले खासै गीत गाउँदैन । व्यवसायीक हिसाबले अरूका लागि गीत पनि बनाउँदिन । मैले आफ्नो लागि मात्रै गीत गाएको छु । कहिलेकाहीँ केही व्यक्तिसँग सहकार्य पनि गरेको छु । अधिकांश मैले आफै लेख्छु, आफै गाउँछु र आफै बनाउँछु । एलबमको हिसाबले त मैले थोरै गीत गाएको छु । १७/१८ वर्षको अवधिमा १५/१६ वटा एलबम ।
मैले आफ्नै युट्युब च्यानल खोलेर व्यावसायिक हिसाबले भन्दा पनि अर्को पुस्ताका लागि हस्तान्तरण गर्ने हिसाबले सङ्ग्रह गर्ने तयारीमा छु । पाँच दर्जनको हाराहारीमा गीत गाएको छु । त्यसमा सबै खाले गीत छन् ।
तपाइले ल्याएका गीतमध्ये कुनले बढी चर्चामा ल्यायो ? 
मैले २०५९ सालदेखि साङ्गीतिक यात्रा सुरु गरेको हुँ । २०६१ सालमा मैले पहिलो रोइला (खेली) गीत ल्याए । खरवारिमा जान्छु, मुठी ल्याउँछु……


त्यो नेपालमै पहिलो थियो । त्यो पनि एक हिसाबले चल्यो ।
ढुक्कै मन गरी बसे अन्त नजर लाइन, छ महिनामा भेट हुँदा नि मिठो बोली पाइन… 
यसलाई मैले संजीवनी बुटी पनि भन्ने गरेका छु । व्यवसायीक हिसाबले यो धेरै चल्यो । यसले आफैमा एउटा इतिहास बनायो । मेरो इतिहास पनि यसैले बनायो ।
रोइला गीत सङ्गीतलाई पनि त्यसले धेरै उचाइमा र्पुयायो । यर्थाथमा लोपउन्मुख चिजहरूमा पनि दम छ । पुराना लोग सङ्गीतको पनि महत्त्व छ भन्ने कुरा यसले पुष्टि र्गयो । त्यही अनुसारको भिडियो पनि बन्यो । एक दशक बढी भयो । त्यो गीतको रौनक अझै छ । म अहिले पनि जहाँ जान्छु त्यो गीत गाउनुपर्छ । मान्छेको मनमा यसरी बस्यो कि हालका युवा पुस्ताले पनि मसँगै गाउँछन् । ।
त्यस कारण म त आउने थिइन यही चाल होला भन्या भा…..
मेरो जीवनको एउटा संजीवनी बुटी हो । यसबाट मेरो सांगेतीक यात्रामा थप बल र्पुयायो । उचाइ दियो ।

विगत तर्फ लागौँ । तपाइको सांगेतीक यात्रा कसरी सुरु भयो ?
म पाल्पामा जन्मेको । एसएलसी सकेपछि साइन्स पढ्न भनेर काठमाडौँ आए । त्यो बेला कक्षा प्रथम भएको । काठमाडौँमा सांगीतीक व्यक्तिहरूसँग भेटघाट भयो । भगवान् भण्डारी त्यति बेलाका चर्चित गायक ।
खैरेनीमा गेट, अन्तै दिन बस्यो कि निरमाया हुनै छोड्यो भेट……

वहाँको त्यति बेला चलेको गीत । मैले पनि वहाँलाई गीत सुनाए । मेरो स्वर सुनेर वहाँ प्रभावित हुनुभयो ।
त्यो बेला चलन पनि कस्तो थियो भने राम्रो प्रतिभालाई कम्पनीले पनि लगानी गर्थे । अडियो चक्काहरू बिक्थे बजारमा । कान्तिपुर म्युजिक कम्पनी थियो वहाँको । ल गीत निकाल्नु पर्छ भन्नुभयो । पहिलो गीत रेकर्ड गरे । त्यसले कलाकारहरुकोबीचमा चिनाउन मद्दत र्गयो । त्यपछि कलेज पढ्दै एक दुइटा एलबम पनि गर्दै गए ।
जब ०६४/०६५ बाट राष्ट्र भक्ति गीतहरूको सङ्ग्रह सहितको रगत भन्ने गीत ल्याए । त्यो गीतले मेरो आत्मबललाई बलियो बनायो ।
मैले सधैँ एकनासका गीतहरू मात्रै होइन देशका लागि पनि गाउनु पर्छ भन्ने हिसाबले गाए । त्यसपछि २०६५ बाट पूर्ण रूपमा यस क्षेत्रमै छु ।

पढाइमा निकै अब्बल छोरो सङ्गीतमा लागेर बिग्रियो भनेर आमा बुवाले कहिल्यै भन्नु भयो कि भएन ? 
हो, एक किसिमको द्वन्द्व थियो । मेरो आमा जसलाई म सङ्गीतको भगवान मान्छु । म यहाँसम्म आउनुमा आमाको ठुलो हात छ ।
आमा राम्रो गाउनु हुन्छ । अहिले पनि गाउनुहुन्छ । रोइला खेलीका अहिले सम्मका टुक्काहरूको पहिलो टुक्का आमाले लेख्नु भएको हो । आमामा पनि त्यो चाहाना थियो । तर आमाले व्यक्त गर्न सक्नु भएन । त्यसको प्रतिबिम्बको रूपमा मलाई प्रस्तुत गर्नु भएको जस्तो लाग्छ । आमाको त भित्री चाहाना हुन्थ्यो । तर बुवाको चाहिँ पढाई बिग्रिन्छ कि भन्ने चिन्ताले अलि अलि तनाव हुन्थ्यो । अलिकति दबाब थियो ।
तर मेरो के थियो भने जसरी भए पनि मास्टर डिग्री चाहिँ सक्छु भन्ने । दाइ र आमाले सहयोग गर्नु भयो ।
अहिले चाहिँ मास्टर पनि सके म्युजिक क्षेत्रमा पनि जुन स्थानमा छु । आमा बुवा खुसी हुनुहुन्छ ।

कलाकारिता क्षेत्रबाट जीवन चलाउन कत्तीको सहज छ ?
यसमा विभिन्न क्याटागोरी हुन्छ जस्तो लाग्छ । जागिर खानेहरूको क्याटकरी, दिनमा ५० रुपैयाँ कमाउने पनि नेपालमै छन् । दिनमा एउटा कार्यक्रममा गएर ५० हजार कमाउने पनि छन् । त्यस्तै म्युजिकमा पनि छ । स्टेज अहिलेको कमाई हुने सबैभन्दा ठुलो क्षेत्र हो । गाउने हरूका लागि लेख्नेहरूको लागी । गीत सिर्जना गर्ने हरूको लागि पनि । अरू कमाइहरू पनि छन् । केही युट्युबबाट पनि आउने जमाना छ ।
वास्तविक कुरा गर्ने हो भने कलकारले कमाउने भनेको घाँटी सुकाएर स्टेजमा गएर हो । चलेको कलकारलाई भ्याई नभ्याई छ ।
मेला महोत्सवहरू हुन्छन् । जहाँ नगरपालिका त्यहाँ महोत्सव, जहाँ स्कुल त्यहाँ वार्षिक उत्सव, यति मात्र होइन एउटा छोराको बैतबन्ध गर्दा पनि स्टेज बनाएर कलाकार, विवाह गर्दा कलाकार ।

हरेक क्षेत्रमा कलाकार । किनभने कलाकारिता भनेको सबैलाई जोड्ने माध्यम हो ।
विदेश त्यस्तै छ । जहाँ जहाँ नेपाली छन् त्याहा कार्यक्रम हुन्छन् । स्टुडियो भित्र गाँउनेहरुको त्यही अनुसारको कमाई छ । त्यसमा सीमित ब्यक्तीहले मात्र कमाउँछन् । त्यो व्यावसायिक हिसाबले अरूका गीतहरू गाउने । आफूलाई स्टेजमा पनि जमाउन सक्ने हो भने कमाई छ ।
मैले त लोकदोहोरी क्षेत्रमा कमाई नै नभउको ठान्दिन । सामान्य लाइभ दोहोरी गाउने मान्छे दोहोरी साँझका गएर आफ्नो जिविको चलाउन सक्छ । दोहोरी प्रतिस्पर्धा पहिला भन्दा कम छन् । यद्दपी दोहोरी प्रतिस्पर्धामा भाग लिएर दुई लाख कमाउने पनि छन् ।
त्यसैले मेहनत गर्ने हो भने यो क्षेत्रमा बाँच्न सकिन्छ । बाँच्न मात्र हैन सानको जिन्दगी कटाउन सकिन्छ ।

कतिपय कलाकारहरू एक दुई वटा गीत गाएर हराउनुहुन्छ । कारण के हुनसक्छ ? 
मैले गरेको दुःखको लामो कहानी छ । अझै अग्रज दाइहरूको दुख त कति हो कति । सबै एकै ठाउँमा बसेर लाइभ रेकर्डिङ हुने जमाना थियो । ट्रयाक सिस्टम नआउने बेला गरेका दुःखहरू त्यस्तै थिए ।
अहिले त कति सजिलो छ । जुन चिज सजिलै प्राप्त हुन्छ नि त्यो सजिलै गुम्छ पनि । यो संसारको नियमै यस्तै हो ।
हिजो हामी गायक बन्न साँच्चै गाह्रो थियो । काठमाडौँ आएर एलबम निकाल्न । त्यसलाई बजारमा पुर्याउन । कति गाह्रो थियो ।
अहिले एउटा सामान्य मान्छेले जहाँपनी सजिलैसँग गीत रेकर्ड गर्न सक्छ । युट्युबमा हाल्यो विभिन्न सामाजिक सञ्जालमा जान्छ । त्यपछि मूल्याङ्कन हुन्छ अनि हिट भए जस्तो हुन्छ । तर उसले आफैले मूल्याङ्कन गर्दैन ।
यहाँ आउने मान्छे क्वालिटी लिएर आउनुपर्छ । मेहनत गर्नुपर्छ । झुक्किएर आउनेहरू लामो समय टिक्दैनन् ।

विगतका गीत र अहिलेका गीतमा धेरै फरक छ भन्छन् । पहिले मार्मिक र वेदनाका गीतहरू आउँथे । तर पछिल्लो समयका गीत अश्लील र छाडा भए भन्छन् । यस्तो किन भएको होला ? 
यो विषयमा म जहिले कुरा गरिरहेको हुन्छु । वर्षामा सफा कालिगण्डकी धमिलो हुँदै कराउँदै सुसाउदै आउँछ । किन भने वर्षामा जता ततै पानी हुन्छ । फोहोर ल्याएको हुन्छ । जब समथर ठाउँ आउँछ बगाएर ल्याएका फोहोहरु छोडेर आफ्नो पुरानै रूप तिर लाग्छ ।
गीत सङ्गीतमा नाम पनि छ दाम पनि । त्यही देखेर मानिसहरू आउँछन् । राम्रो सिर्जना राम्रै तरिकाले चर्चामा आउन गाह्रो छ ।
त्यस कारण चर्चामा आउने एउटा बाटो बनाइदिएका हुन । तर लामो समय टिक्दैनन् । कतिपय हराउँदै गएका छन् ।
जति आउँदछन् तिनीहरू पनि हराउँछन् ।

पछिल्लो समय पुराना गीतहरूको माग छ । पुरानो शैलीका गीतहरू रुचाइएका छन् । पहिला अलि दुःख पीडाहरू धेरै नै भएकाले त्यस्तो थियो । अब समाज परिर्वतन भयसँगै रमाइला गीतहरूले बजार बढी लिएको हो ।
कलाकारिता क्षेत्रमा महिला हिंसा बढी हुन्छ भन्छन् । यसै कारण कतिपयका घरबार नै बिग्रिएका छन् । कारण के हुनसक्छ ?
मलाई नै त्यस्तो परेको भए सजिलै बताउँथे । आफूलाई एकदमै भाग्यमानी ठान्दछु मेरो परिवारमा त्यस्तो परेको छैन । म आफ्नो परिवारप्रति गर्व गर्छु । म पारिवारिक हिसाबले सफल छु ।
तपाईँले भने जस्तै समस्याहरुचाँहि एकदम बढ्दो छ । लोकगीत सङ्गीतमा मात्र होइन कलाकारीताका हरेक क्षेत्रमा त्यस्तो छ । यसमा दुईवटा कुराहरू छन् ।

महिलाहरू यो क्षेत्रमा लाग्ने बित्तिकै पुरुष प्रदान समाज, पुरुष प्रदान सोचका कारण स्वतन्त्र रूपमा अघि बढेको अलिकति अफ्ठेरो मान्ने गरिन्छ । अथवा यो क्षेत्रमा लाग्ने महिलाहरू बढी स्वतन्त्र हुन्छन् ।
ती महिलाहरूले आफ्नो स्वतन्त्रताको कतै गलत रूपले प्रयोग गरेका पनि हुन सक्छन् । दोहोरो रूपले सोच्दा उनीहरूको पहिले नै विवाह हुन्छ । त्यसपछि संघर्ष सुरु हुन्छ । विवाद हुन्छ कतिपय छुटेका पनि छन् ।
बिस्तारै शिक्षा बढ्दै गएसँगै आफूले आफैलाई सचेत गराउन सकेपछि हिम्मत बढ्दै जाने हो । बिस्तारै हराउला । कसैको पनि गीत सङ्गीतमा लागेर घरबार नछुटोस भन्ने मेरो धारणा हो ।

अब तपाइको नयाँ गीत कहिले आउँछ ?
२०७५ सालमा कम्तीमा एउटा नत्र दुइटा गीत बजारमा ल्याउने सोचमा छु । एउटा पुरानो गीत । म आफैलाई मन पर्ने गीत । धेरैले मन पराउनु भएको गीतलाई फेरि नयाँ तरिकाले ल्याउने तयारीमा छु । अन्तिम भेट भन्ने । विष्णु माझी र मैले आज भन्दा लगभग आँठ नौ वर्ष अगाडि आएको गीत । त्यो बाहेक रोइला पनि लामो समय भयो नगरेको । जुन रेकर्ड गर्ने तयारीमा छु । त्यो भन्दा अर्को कुरा धेरै ठाउँमा भनेको पनि छु ।
एउटा ड्रिम प्रोजेक्ट जस्तै छ । मैले धेरै आशा गरेको गीत । रमेश बिसी दाइसँगको सहकार्यमा एउटा छोरो अमेरिका छ । यसलाई मेरो जीवनको दोस्रो संजिवनी बुटी बनाउने कोसिसमा छु । त्यसको रेकर्डिङको काम भई रहेको छ । मैले साङ्गीतिक क्षेत्रमा गरेको कर्महरू मध्यको एक हुनेछ छोरो अमेरिका छ । समसामयिक विषय वस्तुमा आधारित छ । त्यो गीतको काम भइरहेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
लोकगीत सङ्गीतलाई मन पराईदिनुहोला । लोकगीत सङ्गीत आमा जस्तै हो । कर्म दिने आमा जति सुकै भए पनि जन्म दिने आमा आमा नै हुन्छ । लोकसंगित भित्र पनि असल कर्म गर्ने असल सिर्जना गर्ने । सस्तो लोकप्रियताबाट टाढा रहने असल सर्जगलाई चुन्नु होला ।
लोकसंगित भित्र आउँदै गरेका विकृति र विसङ्गति हटाउन यहाँहरूको पनि ठुलो भूमिका रहन्छ । भाईरल चिजहरूलाई मात्र होइन मौलिक चिजहरू लाई पनि सामाजिक सञ्जाल मार्फत आफ्नो सकारात्मक टिप्पंणी गर्न नभुल्नु होला । मैले सबै राम्रो गर्छु भन्दा भन्दै पनि केही त्रुटि हुन सक्छन् । त्यो त्रुटि असल श्रोता दर्शकबाटै पाउने आशा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार