• २०७६ श्रावण ५ आइतबार

उदयपुरको करेला कतार निर्यात

अभिमन्यु लामिछाने
टिभी अन्नपूर्ण, उदयपुर ।

उदयपुरमा उत्पादित तरकारी तेस्रो मुलुक निर्यात हुन थालेको छ । बेलका नगरपालिका(२ कोसी टप्पुमा ६ महिना देखी खेती सुरु गरिएको तितेकरेला पछिल्लो समय खाडी मुलुक कतारमा निर्यात हुन थालेको हो ।

नेपाली बजारमा भारतबाट विषादी प्रयोग गरिएको हरियो तरकारी आयात भएको चर्चा चलिरहेको समयमा टप्पुमा उत्पादित विषादी रहित आर्गेनीक तितेकरेला भने कतार निर्यात गर्न थालिएको छ। तितेकरेला कतार निर्यात हुनुले गुणस्तरीय आर्गेनिक कृषि उत्पादन गर्न सकेको नेपालमा उत्पादित तरकारीले तेस्रो मुलुकमापनि बजार पाउने विश्वास बढाएको छ । ब्लक डायमण्ड आर्गेनिक प्रालिले कोसी टप्पु क्षेत्रमा उत्पादन गरेको तितेकरेला कतार निर्यात गरेको हो । प्रालिले यस अघि पनि किसानसँग खरिद गरेर हरियो तरकारी विदेश निर्यात गर्दै आएको थियो । तर कोसी टप्पु क्षेत्रमा आफै खेती गरेको तितेकरेला पहिलो पटक कतार निर्यात गरेको प्रालिका निर्देशक नारायण कार्कीले बताए ।

‘कम्पनी २ लटमा १ सय ४० कार्टुन तितेकरेला कतार निर्यात गरेको छ’ प्रालिका निर्देशक कार्कीले बताए ।

ब्लक डायमण्ड आर्गेनिक प्रालिले तेस्रो लट तितेकरेला यसै साता कतार पठाउँदै छ । आफैले अहिले ६ विगहा क्षेत्रफलमा तितेकरेला उत्पादन गरिरहेको छ । त्यसका लागि ५० जना मजदुरले काम गरिरहेका छन् । यस अघि २ सय ५० विगहा क्षेत्रफलमा लोकहा, भिण्डी, घिरौला, बैगुन, फर्सी, चुकुनी, हरियो खोर्सानी, हरियो मकै लगायको उत्पादनको लागि नर्सरी व्यवस्थापन गरेको थियो । तर जग्गामा भएको सीमा विवादका कारण ती तरकारीको नर्सरी व्यवस्थापन गर्न नसकेको निर्देशक कार्कीले बताए ।

‘अहिले जग्गा विवाद सकिएको छ’ निर्देक कार्कीले भने, ‘अव कम्पनीले त्यो जग्गामा गाजर, मुला, काउली, ब्रोकाउली, भेडेखोर्सानी, ओला, पिँडालु र विभिन्न १० किसिमका सिमी, हरियो धनीया, लसुन, प्याज, काँक्रा उत्पादनको तयारी भइरहेको छ ।’ यहाँ कम्पनी र कृषि समूहले उत्पादन गरेका यी हरियो तरकारी तेस्रो मुलुक निर्यात गरिने उनले बताए ।

प्रालिले नेपाल सरकारकै अनुमतिमा कतार सरकारसँग आर्गेनीक तरकारी निर्यात गर्ने सम्झौता गरेको छ ।सामझौता अनुसार दैनिक ३ टन तरकारी कतार पठाइरहेको प्रालिका निर्देशक कार्कीले बताए ।‘प्रालिले कतार लगायत दुबई, ओमन, कुवेत, बराइन, साउदी , मलेसिया लगायका तेस्रो मुलुकमा नेपालमा उत्पादित हरियो तरकारी निर्यात गर्ने गर्छ’ उनले भने, ‘झन्डै वर्ष दिनदेखि तेस्रो मूलक तरकारी निर्यात गरिरहेका छौ ।’ ती मुलुकमा नेपालमा उत्पादित आर्गेनीक हरियो तरकारीको माग धेरै छ, उत्पादन कम हुँदा समस्या भएको उनले बताए ।

कृषक समूहले उत्पादन गरेको तरकारी खरिद गर्ने, बजारको ग्यारेन्टी र मूल्यको समेत ग्यारेन्टी नगरपालिका, कृषि समूह र प्रालिबीचमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार नगरपालिकाको वडा २ र ३ मा कृषि समूहलाई प्रालिले प्रविधि, बीउबिजन, सिँचाइ लगायत सबै कुरामा लगानी गरिदिन्छ । किसानले उत्पादन गरेको तरकारी प्रालिले वर्षभरि नै एउटै मूल्य निश्चित गरेर खरिद गर्ने त्रिपक्षीय सम्झौता भएको नगरप्रमुख दुर्गा थापाले बताए । ‘बजारमा मूल्य घटबढ भए पनि किसानलाई कुनै असर नपर्ने गरी सम्झौता छ’ प्रमुख थापाले भने,‘ वर्षभरिका लागि त्रिपक्षीय सम्झौता गरिएको छ , उत्पादनको मूल्य अहिले नै निश्चित गरिएको छ ।’प्रालिले प्रविधि, ऋण, तालिम दिलाउँछ पछि लगानी कटाएर किसानलाई मूल्य दिने उनले बताए ।

 नगरपालिकाले उत्पादन आधार वर्ष मनाएकोले किसानको क्षमता अभिवृद्धि गर्न तालिम दिने, आर्गेनीक उत्पादनमा बढाउने र बजारीकरण गर्न समन्वय गरिरहेको छ । त्यसै अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन समेत भइरहेको छ । बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने नगरपालिकाले लक्ष लिएको छ । पहिले कोसी टप्पुमा हरिण र बँदेलको सिकार गर्ने र अफिम खेती हुने गरेकोमा नगरपालिकाले चाक्लाबन्दीमा आर्गेनीक तरकारी खेती उत्पादन गर्ने गरी कृषकलाई जग्गा उपलब्ध गराउने भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार