• २०७६ श्रावण ५ आइतबार

नाकामै रोकिए तरकारी बोकेका गाडी

भैरहवा । 
भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन्।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी छाडेका छैनौं’, पौडेलले भने।

उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए। भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०-६० ट्रक तरकारी र फलफूल भित्रिन्छन्।

बुटवलमा प्रयोगशाला भएपछि भैरहवा हुँदै आउने तरकारी तथा फलफूलका गाडी धेरै दिन नाकामा रोकिने छैनन्। यसअघि काठमाण्डौंमा पुर्‍याउँदा तीन-चार दिन लाग्ने गरेको थियो। यो समाचार आजको अन्नपूर्णमा सलमान खानले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार