• २०७६ कार्तिक ६ बुधबार

जन प्रतिनिधिद्धारा सरकारी जग्गा कब्जा

कपिलवस्तु,
कपिलवस्तुको मायादेवी गाउँपालिका– १ पकडी चौराहामा वडा अध्यक्ष हरिगोबिन्द चौधरीले नै सरकारी जग्गा कब्जा गरेका छन् । कर्मचारी श्रोतका अनुसार वडा नं. १ का अध्यक्ष हरिगोबिन्द चौधरीले आफ्नो पकडी स्थित पेट्रोलपम्पको पूर्व पट्टि भएर बग्ने मर्थी खोलाको सार्वजनिक जग्गा कब्जा गरी संरचनाहरू निर्माण गरेका छन् ।

“आफैले सार्वजनिक जग्गा कब्जा गर्ने वडा अध्यक्षले अरू कब्जा गर्नेहरूलाई कुन नैतिकताको आधारमा कारबाही गर्ने या हटाउने” स्थानीय मदन यादवले भने । जग्गा कब्जा बारे गाउँपालिका लगायत कुनै निकायले चासो नदिएको उनले गुनासो गरेका छन् । देशभर सार्वजनिक जग्गा कब्जा गरिएको खबर आईरहदा जिल्लाको मायादेवी गाउँपालिको पकडी चौराहामा रहेका करोडौँ मूल्यको जग्गा कब्जा गरिएको कुरा बाहिर आएको छ ।

करोडौँ मूल्य पर्ने सार्वजनिक जग्गा कब्जा भइरहँदा गाउँपालिका भने मौन बसेको स्थानीयको आरोप छ । मायादेवी गाउँपालिका १ पकडी स्थित चोकमै रहेको करिब ७ कट्ठा क्षेत्रफलको करिब ५ करोड मूल्य पर्ने सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् । तर गाउँपालिका राजनीतिक दबाब तथा प्रभावमा परेर कारबाही समेत गर्न डराएको स्थानीयबासीहरुको आरोप छ । स्थानीयबासीहरुका अनुसार उक्त जग्गामा सुवास यादव, पार्वती थारु, घिस्सी तेली गुप्ता, मनोज, सुवास लोहार, भल्लार कहाँर, अब्दुल हई मुसलमान, सुरेन्द्र तथा सुकई सहित २० जनाले कब्जा गरी भौतिक संरचनाहरू समेत निर्माण गरिरहेका छन् । मायादेवी गाउँपालिका वडा नंं. १ मात्र नभई वडा नं. ४ पिपरा गाउँमा पनि सार्वजनिक जग्गा कब्जा गरिएको छ ।

पिपरा गाउँमा रहेको करिब १ कट्ठाको सार्वजनिक पोखरी तत्कालीन पिपरा गाविस पूर्व अध्यक्ष मोहम्मद हकिकका छोरा मोहम्मद एहिया मुसलमानले कब्जा गरी घडेरी निर्माण गरेको वडा अध्यक्ष फत्ते मोहम्मद मुसलमानले बताए । ‘यस बारे गाउँपालिकामा ५ महिना अघि नै लिखित रूपमा जानकारी गराइसके, उनीहरूले जर्बजस्ती जग्गा कब्जा गरे तर गाउँपालिकाले कुनै कारबाही गरिएन’ उनले भने । मायादेवी गाउँपालिका वडा नंं ६ रजवापुरमा पनि सार्वजनिक जग्गा कब्जा भएको छ ।  गाउँको पूर्वमा रहेको सार्वजनिक पोखरी मिचेर स्थानीय अब्दुल हई मुसलमानले करिब १६ धुर जग्गा कब्जा गरी घर निर्माण गरिरहेका छन् । यसै गरी वडा नं. ८ हरिवंशपुरमा भारतीय सिमाना सँग जोडिएको ४ कट्ठा सार्वजनिक जग्गा स्थानीय केही व्यक्तिहरूले कब्जा गरेका छन् । मायादेवी गाउँपालिकाका करिब दर्जन बढी सार्वजनिक पोखरी,चौर तथा जग्गाहरू कब्जा गरिएको छ ।

निर्वाचनमा भोट बैङ्क बिग्रने र जनमतमा समस्या आउने डरले जनप्रतिनिधिहरू समेत भू माफिया विरुद्ध लाग्न डराएको स्थानीयबासीहरुको आरोप छ । मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले गाउँपालिकाको स्वामित्व भित्र रहेका सार्वजनिक जग्गाहरू कब्जा भएको स्वीकार गरे । ‘गाउँपालिकाको विभिन्न स्थानमा जग्गा कब्जा गरिएको बारे कुरा आएको छ, यस बारेमा हामीले विवरण सङ्कलन गरिहेको छौ ’ उनले भने । अतिक्रमण हटाउन प्रहरी र प्रशासनसँग समेत  सहयोग माग गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार