• २०७६ श्रावण ५ आइतबार

धुर्मुस - सुन्तली फाउन्डेसनद्वारा अवरुद्ध निर्माणकार्यलाई पुनः सुचारु गर्न सहमत

चितवन, 
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवरुद्ध भएको निर्माण कार्य पुनः सुचारु गर्न धुर्मुस-सुन्तली सहमत भएका छन् । गत जेठ १६ गते सत्तारुढ दलका नेकपा निकट दुई निलम्बित कार्यकर्ता प्रकाश कँडेल र भैरव बस्ताकोटीको नेतृत्वमा आएको केही अराजक समूहले बाटोको विषयलाई लिएर तनाव उत्पन्न गराएका थिए । रङ्गशालामा डोजर लगाएर भत्काएपछि असुरक्षाको कारण देखाउँदै अवरुद्ध गरेको निर्माण कार्य सरोकारवाला निकायहरूको रोहवरमा पुनः सुचारु गर्न थालिएको फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनद्वारा प्रेस विज्ञप्ति जारी गर्दै रङ्गशाला निर्माणकार्यलाई पुनः अघि बढाउने बताएका हुन् । चितवनवासीले आगामी दिनमा रङ्गशाला निर्माणमा रोकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन आफूहरू लागिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस' द्वारा जारी हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क भएको बताउँदै उनले भने,’ जे नहुनु थियो त्यो भइहाल्यो अब त्यस गल्तीलाई सच्याउन त नसकिएला तर, नदोहोरियोस् भन्ने कामना गरेका छौँ । साथै उनले पुनः सोही घटना नदोहोरिनेमा चितवन वासी समेत सजग भई प्रतिबद्ध रहनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् ।’

उसो, त भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुनः काममा फर्कन आग्रह गरेको थियो । महानगरका प्रमुख रेणु दाहालले रङ्गशाला निर्माणको लागि सम्पूर्ण वातावरण तयार भइसकेको हुनाले पूर्व योजना अनुसार नै तत्काल काम सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेकी थिइन् ।

यस्तै, समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले पनि रङ्गशाला निर्माण कार्यलाई पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरेका छन् । जिससका प्रमुख डल्लाकोटीले निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरू, जनप्रतिनिधि, सरकारी निकायका प्रमुखहरू, निजी क्षेत्रका प्रमुखहरू, सामाजिक व्यक्तित्वहरू, पत्रकारहरू, सामाजिक अभियान्ताहरु, क्रियाशील व्यक्तित्वहरूको साथै चितवन तथा देशभरका जनसमुदायहरू उत्साहपूर्वक सहयोग गर्न तयार रहेकोले तत्कालै काममा फर्कन आग्रह गरेका छन् ।

उनले निर्माण कार्यलाई अगाडि बढाउन चितवन जिल्लाका निर्वाचित जनप्रतिनिधिहरूले सरकारी निकायका प्रमुखहरू, गैरसरकारी सङ्घसंस्थाका प्रमुखहरू, निजी क्षेत्रका प्रमुखहरू, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वहरूको सक्रिय सहभागिता हुने गरी ५००१ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग सङ्कलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञ सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने, निर्माण कार्यको लागि घोषणा गरिएको रकम यथाशीघ्र जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय भएको बताएका छन् ।

साथै, उनले नेपालको सामाजिक आर्थिक विकास र क्रिकेट खेलको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रियस्तरको खेल खेलाउने उद्देश्य सहित यो गौरवशाली आयोजना निर्माण हुन गइरहेको बताउँदै फाउण्डेशनले विस्तृत परियोजना प्रतिवेदन निर्माण कार्यको क्रममा केही प्राविधिक कारणले अवरुद्ध भएकोमा हाल सहज वातावरण रहेको र यसका लागि निर्वाचित जनप्रतिनिधिहरू, सरकारी निकायहरू, निजी क्षेत्रहरू, स्थानीय व्यक्तित्वहरू, सरोकारवालाहरूबाट उत्साहपूर्वक र सहज वातावरण बनाउन प्रतिबद्धता आएको परिप्रेक्ष्यमा रङ्गशाला निर्माण कार्य पूर्व योजना अनुसार तीव्र गतिका साथ अगाडि बढाउनका लागि रङ्गशाला निर्माण सहयोग समितिको सचिवालयको बैठकले धुर्मुस सुन्तली फाउण्डेसनलाई अपिल गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार