• २०७६ भदौ ७ शनिबार

उपनिर्वाचन : ५० पदका लागि ५ सय ५० मतदान केन्द्रबाट निर्वाचन

उपचुनाव बहिष्कार गर्ने वैद्यको घोषणा

 मंसिर १४ गते हुने उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने भएको छ । विभिन्न कारणले खाली भएको ठाउँमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । 

देशमा अहिलेसम्म प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्षको पद खाली रहेको छ । पदपुर्तिको लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
  
५४ वडामा निर्वाचन हुने भएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेल जानकारी दिए । रिक्त रहेका ५० पदका लागि पाँच सय ५० मतदान केन्द्र राख्ने तयारी भएको बताए । 

उपनिर्वाचनमा करिब ५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने आयोजले  जनाएको छ । 

मतदाता नामावली ऐन २०७३ को दफा ६(ख)मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ  । त्यही प्रावधानअनुसार आयोगले मतदाता १८ वर्ष पुग्नुपर्ने मिति १६ साउनलाई तोकिएको छ । आयोगले अर्को व्यवस्था नभएसम्मका लागि १७ साउनदेखि मतदाता नामावली दर्ता रोकेको जनाएको छ । उपनिर्वाचनमा ४६ जना मतदान अधिकृत हुनेछन् । 

उपचुनाव बहिष्कार गर्ने वैद्यको घोषणा

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का नाममा भाग लिएको वैद्य माओवादीले उपचुनाव भने बहिष्कारको निर्णय लिएको हो।

साउन २१–२३ गतेसम्म काठमाडौंमा सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को पोलिटब्युरो बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता हरिभक्त कँडेलले जानकारी दिए। ‘चुनावलाई हामीले कार्यनीति बनाउँदै आएका थियौं, अहिले चुनावको उपयोगभन्दा बहिष्कार गर्नु क्रान्तिलाई फाइदा पुग्ने ठानी बहिष्कारको नीति लियौं,’ उनले भने, ‘चुनाव पार्टीको रणनीतिक नीति होइन, आवश्यक पर्दा उपयोग गर्न र आवश्यक नपर्दा बहिष्कार गरेर जान सकिने पक्षमा पार्टी छ।’

सत्ता तथा व्यवस्था अहिले बदनाम हुँदै गएकाले निर्वाचनको उपयोगभन्दा बहिस्कार गरेर संसद्वादको भन्डाफोर गर्न उपयुक्त हुने भएकाले उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको महासचिव वैद्यले आइतबार जारी गरेको वक्तव्यमा पनि उल्लेख छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव उपयोग गरे पनि जम्मा दुई वटा वडामा बाहेक अन्य क्षेत्रमा वैद्य माओवादीले कुनै चुनाव जितेको थिएन। मंसिर १४ मा सरकारले प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहसमेत जम्मा ३६ जिल्लाका ५० स्थानका रिक्त स्थानमा उपचुनाव गर्ने तयारी गरिरहेको छ।

वैद्य माओवादीले सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनमा सरकारले हद दर्जाको उपेक्षा गरेको आरोपसमेत लगाएको छ। ‘सरकारद्वारा आफैं गठन गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानुन निर्माण र अन्य सहयोग प्रदान गर्ने काममा हद दर्जाको उपेक्षा र असहयोग गरी विघटित गरिएको कुरा स्पष्ट नै छ,’ वैद्यले वक्तव्यमा भनेका छन्, ‘उपयुक्त कानुनहरूको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरूलाई पुनर्गठन गरी समस्याको समुचित समाधान निकाल्न सरकारसँग जोडदार माग गर्दछौं।’ नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्न पनि वैद्य माओवादीले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार