• २०७६ भदौ ७ शनिबार

आज रक्षाबन्धन : यस्तो छ जनै र रक्षासूत्रको महत्व

काठमाडौं,

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । आआफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रहेका हुन्छन् । 

ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्हीका दिनका रूपमा यो दिन उत्सवका साथ मनाइन्छ । सोमसरला वेदविद्याश्रम (गौरीघाट)का आचार्य एवं योग प्रशिक्षक केशवप्रसाद अधिकारीका अनुसार सत्ययुगमा दानवले देवतालाई लखेट्दा गुरु वृहस्पतिले देवताका लागि रक्षा विधान तयार गरी दानवराज बलि बाँधिएर देवताको रक्षा गरेको स्मरणमा यो पर्व मनाइँँदै आएको छ । ‘येन बद्धो बलिराजा दानवेन्द्रो महावल तेन त्वां प्रतिब्ध्नामी रक्षामा चलमाचल’ मन्त्रोच्चारण गरी जप, तप र पूजा गरिएको रक्षाबन्धन बाँध्ने प्रचलन छ ।
रक्षाबन्धन वा नूतन यज्ञोपवित (नयाँ जनै फेर्दा फेराउँदा) गोबर, खरानी दतिउन र सप्तमृत्तिकाले यसअघि ब्राह्मण यजमान दुवैले त्रिवेणी दोभान, तलाउ, सागर, नदी वा पायक परेको पानीको अन्य स्रोतमा स्नान गरी चोखो र शुद्ध रहने परम्परा छ । 

आचार्य अधिकारीका अनुसार जौ, तील, कुशद्वारा काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ट, विश्वामित्र यी सप्तऋषिलाई तर्पण दिएर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको जनै फेरिन्छ । जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा वैदिक गुरु परम्परामा लिइन्छ । जनैका दुई शिखामा रहेका छ डोरामध्ये तीनवटा ब्रह्मा, विष्णु, महेश्वर र अर्का तीन डोरालाई कर्म, उपासना र ज्ञानको रूपमा लिइन्छ ।

तराईमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन (राखी) बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ । थितिअनुसार बुधबार २ः५३ बजेदेखि पूर्णिमा लागेको छ । बिहीबार ४ः२८ बजेसम्म डोरो बाँध्ने र जनै फेर्ने कार्य गर्न सकिन्छ । नेवार समुदायमा गुंपुन्ही वा क्वाँटी पुन्ही भनेर ११ थरीका गेडागुडी भिजाएर पलाएको टुसासहित क्वाँटी खाने चलन छ । 
स्वस्थ मानिसले क्वाँटी खानाले प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान ठीक रहन्छ भन्ने वैज्ञानिक मान्यता छ । क्वाँटीले कफ, पित्त, वायु सन्तुलनमा रहन्छ भन्ने आयुर्वेदमा रहेको वैद्यराज सुवर्ण वैद्य (जयबागेश्वरी) बताउनुहुन्छ । 

वटु नाथेश्वर गुठीका भाइकाजी महर्जनका अनुसार बौद्धमार्गी भगवान् बुद्धले कामशक्तिमाथि विजय पाएको दिनका रूपमा यो दिन मनाइन्छ । यो दिन स्वयम्भू, बौद्ध, नमोबुद्ध, लुम्बिनी, धन्दोचैत्य बौद्ध विहारमा पूजन हुन्छ ।

यसैबीच सिन्धुपाल्चोकको ऐँसेलुखर्कमा बुधबार नै गाईजात्रा मनाइएको छ । स्थानीय जगतबहादुर नकर्मीका अनुसार गाईजात्राका दिन साउन ३१ गते जात्रामा सहभागीलाई क्वाँटी खुवाउने चलन छ । यहाँ भक्तपुरको घिन्ताङघिसी र देवी नाच नचाउँदै यो पर्व मनाइन्छ । बुधबार घरदैलोमा नाचेकालाई गाईजात्राका दिन क्वाँटी खुवाएर क्वाँटी पुन्ही मनाइन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार