• २०७६ भदौ ३१ मंगलबार

सीमामा भारतले बनायो अर्को बाँध, नेपाली बस्तीमा त्रास

रौतहट,

दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ बनाउन सुरु गरेका हुन् । 

यस्तो गतिविधिले नेपाली बस्तीमा त्रास बढेपछि सुरक्षाकर्मीको निगरानी बढाइएको छ । वाग्मतीदेखि पश्चिमको औरैया र बन्जाराहासम्मको भारतीय बाँधको उचाइ थपिँदै छ । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबानको समस्या बढेको हो ।

त्यही बाँधको झन्डै ३ फिट उचाइ थप्न भारतले पूर्व क्षेत्रबाट काम सुरु गरेको छ । औरैया क्षेत्रमा नयाँ बाँध बनाउन थालेपछि रौतहट प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पिलर नम्बर ३४७ मिचेर बोरामा माटो पुर्ने काम गरेको पाइएपछि रोकेको बताए ।

‘अन्तर्राष्ट्रिय कानुनले पनि यस्तो संरचना बनाउन दिंदैन,’ उनले भने, ‘मर्मतको नाममा दशगजा क्षेत्रमा नयाँ बाँध बनाउने काम भइरहेको छ । त्यसैले रोक लगाएका हौं ।’ उनका अनुसार अहिले सशस्त्र प्रहरीलाई औरैया नाकामा निगरानीमा खटाइएको छ । ईशनाथ नगरपालिका–२ स्थित औरैयाको सीमासम्म भारतीय बाँध छ ।
२०७४ मा ईशनाथको बन्जाराहा क्षेत्र डुबानमा परेपछि १ नम्बर वडामा सीमाको बाँध केही ठाउँ भत्किएको थियो । भारतीय पक्षले त्यसैलाई मर्मतको निहुँमा उचाइ थप्ने काम थालेको हो ।

स्थानीयको गुनासो आएपछि प्रजिअ थापा, सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिहरूले बाँधको निरीक्षण पनि गरेका छन् । भारत सरकारले बाँधको उचाइ थप्न बजेट नै दिएको खुलेको छ । प्रजिअ थापाले पूर्वी चम्पारणका डीएम श्रीकुमारसित यो मामिलामा फोन वार्ता गरेका छन् । उनले नयाँ निर्माण नभई भत्किएको स्थानमा मर्मतको काम मात्र भइरहेको जवाफ दिएका छन् ।

लालबकैया र वाग्मती नदीको जलस्तर बढदा बाँधका कारण भेलले निकास नपाएर नेपाली बस्ती जलमग्न हुने गरेको छ । बाँधमा पानीको निकासका लागि साइफन छ तर त्यस्तो बेला भारतीय पक्षले खोल्दैन । भारतीय बाँधका कारण रौतहटको गौर, राजदेवी, ईशनाथ नगरपालिका र दुर्गाभगवती गाउँपालिका डुबानमा पर्छन् । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार