नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रदर्शनप्रति कडा टिप्पणी गर्दै ‘इटको जवाफ पत्थरले दिइने’ चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले राजावादीहरूले पैसा कहाँबाट ल्याएर, भाडामा मान्छे उतारेर छाडा उफ्रिरहेको बताए । ‘उनीहरू छाडा भएर हामीमाथि आक्रमण गर्ने प्रयास गर्दैछन्। इटको जवाफ पत्थरले दिइन्छ,’ प्रचण्डले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कुनै हैसियत र इच्छाशक्ति नभएको आरोप समेत लगाए । उनले थपे, ‘यो सरकारको कुनै हैसियत छैन । इच्छाशक्ति पनि छैन । गफ हान्ने बाहेक केही छैन ।’
उनले एमालेले विगतमा मान्छे उतार्दा देश दुनियाँमा पार्टीको बेइज्जत भएको समेत टिप्पणी गरे ।