नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताए । त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने उल्लेख गरे । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनको भनाई छ ।
‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने ।
राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्न सबैलाई स्पष्ट रहेको उनको भनाइ छ ।