मितेरी सहकारीको रकम हिनामिनाको आरोपमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ ।
इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरेर सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौं ल्याइएको छ ।
सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका थिए । उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए ।
सहकारीकी महाप्रबन्धक ज्योति गुरुङबाट सहकारीको रकम पटक–पटक मिटरब्याजमा सापटी लिएको र पछिल्लो पटक करिब साढे ३ करोड रुपैयाँ सापटी लिएपछि उनी सम्पर्कविहीन बनेको अनुसन्धानमा पाइएको थियो । महाप्रबन्धक गुरुङ कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी पूर्व श्रीमती हुन् ।
सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान अघि बढेपछि ज्योति गुरुङ र भण्डारी दुवै फरार भएका थिए । दुवैलाई खोजी गर्न प्रहरीले गत असोजमा ‘इन्टरपोल’ मार्फत ‘रेड नोटिस’ जारी गरेको थियो । महाप्रबन्धक गुरुङ भने अझै फरार छिन् ।