‘नेपो बेबी’ ट्रेन्डदेखि सडकसम्म : जेनजी पुस्ताको विद्रोह

सरकार र नेताविरुद्ध जेनजी पुस्ताको आक्रोश

Image

नेपालमा भदौ २३ गते जेनजी पुस्ताले राजधानीसहित देशका विभिन्न शहरमा ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । यो आन्दोलनको मूल मुद्दा भ्रष्टाचार, नातावाद, राजनीतिक विशेषाधिकार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हो ।

सन् १९९७ देखि २०१२ बीच जन्मिएको पुस्ता विश्वमा “जेनजी” भनेर चिनिने, नेपालको कुल जनसंख्याको करिब ३० प्रतिशत हिस्सा ओगट्छ । टेक्नोलोजीमै हुर्किएको यो पुस्ताले पहिलोपटक स्वतःस्फूर्त सडक आन्दोलनको तयारी गरेको छ, जुन नेपालमा राजनीतिक चेतनाको नयाँ अध्याय बन्न सक्छ ।

यो आन्दोलनलाई सतही रूपमा सामाजिक सञ्जाल बन्दविरुद्धको असन्तोष मात्र ठान्न सकिँदैन। यसको गहिरो जरो भ्रष्टाचार, नातावाद, विशेषाधिकार र असमानताप्रतिको लामो आक्रोशमा छ। डिजिटल संसारमा हुर्किएको र राजनीतिक नेतृत्वप्रति असन्तुष्ट यो पुस्ता पहिलोपटक सडकमा देखिन लागेको छ।

डिजिटल लहर र नेपो बेबी ट्रेन्ड
नेपालमा अहिले जेनजी पुस्ताको आन्दोलनको जरो सामाजिक सञ्जालभित्र देखिएको नेपो बेबी ट्रेन्डसँग जोडिएको छ। सुरुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको यो डिजिटल अभियान अहिले नेपालमा फैलिँदै राजनीतिक नेतृत्वविरुद्धको असन्तोषको प्रमुख स्वरूप बनेको छ।

उक्त ट्रेन्डमार्फत नेताका छोराछोरी र नातिनातिनाको विलासी जीवनशैली देखाइएका भिडियोहरू भाइरल भएपछि सर्वसाधारण युवामा व्यापक आक्रोश पैदा भएको हो। लक्जरी ब्रान्डका सामान, निजी विदेश यात्रा र महँगा पार्टीका दृश्यहरूको तुलना साधारण युवाको संघर्षपूर्ण जीवनसँग भएपछि सामाजिक असन्तोष सडकमा रूपान्तरण भएको बताइन्छ।

भिडियोहरूमा भावनात्मक संगीत, उत्तेजित पार्ने धुन र तीक्ष्ण दृश्यले युवाको चित्त दुखाइलाई झन् उकासेको छ। यसरी डिजिटल माध्यममा प्रत्यक्ष शासन र सत्ता–संरचनाप्रति प्रश्न उठाइएको छ।

को हुन् ट्रेन्डका मुख्य निशाना

नेपालमा देखिएका नेपो बेबी भिडियोहरूले विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा, बाबुराम भट्टराई लगायत शीर्ष नेताका परिवारलाई निशाना बनाएका छन्।

प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवाका छोरा जयवीर देउवा, पूर्वराष्ट्रपति भण्डारीका छोरीहरूजस्ता पात्रहरू विलासी जीवनशैली प्रदर्शन गर्ने ‘कन्टेन्ट’ का रूपमा भाइरल भएका छन्। त्यस्तै, मिस नेपाल श्रृंखला खतिवडामाथि पनि निशानामा परेकी छन् । उनी एकीकृत समाजवादी नेता विरोध खतिवडाकी छोरी भएकाले कतिपयले उनीलाई पनि सत्ता–नातावादको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। यद्यपि, उनको पक्षमा उभिनेहरूको संख्या पनि कम छैन। त्यस्तै प्रदेशका मन्त्री, कर्मचारीलगायतका परिवारका सदस्य एंव सन्तान लक्जगरी लाइफस्टाइटलका कारण भाइरल भइरहेका छन् ।

फिलिपिन्स र इन्डोनेसियामा यस्तै ट्रेन्डले राजनीतिक आन्दोलनको रूप लिएको थियो। नेपालमा पनि सोही लहर फैलिएको छ। यसले प्रष्ट पार्छ-आजको पुस्ता असमानतालाई नीतिगत भाषामा होइन, जीवनशैली र दृश्यात्मक तुलना मार्फत बुझ्छ र बुझाउँछ।

फिलिपिन्समा लाइफस्टाइलचेकपिएच नामक सब–रेडिटमार्फत युवाहरूले सरकारी अधिकारी र ठेकेदारका सन्तानको विलासी जीवनशैली सार्वजनिक गरेका थिए। खासगरी बाढी नियन्त्रण आयोजनामा भएको भनिएको अनियमिततापछि त्यहाँ छानबिन चर्किँदा सामाजिक सञ्जालमार्फत शक्तिशाली परिवारका विलासिता उजागर गरिएको हो।

त्यस्तै इन्डोनेसियामा पूर्वराष्ट्रपति जोको विडोडो जोकोवी का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि आक्रोश फैलिए। राजनीतिक शक्ति र नातावादका कारण उच्च पदमा पुगेको भन्दै आलोचना भयो र त्यसैबाट ‘नेपो बेबी’ आन्दोलन उग्र रूप लियो।

यही अन्तर्राष्ट्रिय लहर नेपालसम्म आइपुग्दा यहाँका युवामा लामो समयदेखि दबिएको आक्रोश सतहमा आएको देखिन्छ।

राजनीतिक प्रतिक्रिया र जनसमर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनलाई समर्थन जनाउँदै यसलाई “युवाको आवाज” भनेका छन्। यद्यपि कानुनी कारणले उनी प्रत्यक्ष उपस्थित हुन सक्दैनन्, तर सामाजिक सञ्जालमार्फत खुलेर समर्थन जनाएका छन्।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता “विधि र कानुनबारे सचेत” भएको बताएका छन्। तर उनले देशको नीति, नियम र राष्ट्रिय हित स्पष्ट हुनुपर्ने चेतावनीसमेत दिएका छन्। यसरी एकातिर समर्थन, अर्कोतिर चेतावनी दुवै किसिमका प्रतिक्रिया देखिएका छन्। सामान्य नागरिक, लेखक, उद्यमी र समाजशास्त्रीहरूले समेत यस आन्दोलनलाई सकारात्मक दृष्टिले हेरिरहेका छन्।

नेतृत्वविहीन आन्दोलन : अवसर र चुनौती

जेनजी आन्दोलनको विशेषता भनेकै यसमा कुनै औपचारिक नेतृत्व नभएको हो। कुनै पार्टीको झण्डा, कुनै संगठनको नियन्त्रण छैन। सबै स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालमार्फत जोडिएका छन्। यसले आन्दोलनलाई मौलिक र प्रामाणिक देखाएको छ।

कतिपयले नेतृत्वविहीन आन्दोलन सजिलै “हाइज्याक” हुन सक्ने चेतावनी दिएका छन् । राजनीतिक दल वा स्वार्थसमूहले कब्जा गर्ने सम्भावना उच्च छ। टिकटक प्रयोगकर्ताहरूले नै सचेतना जगाउँदै भनेका छन्, “यदि दलहरूले नेतृत्व गर्न खोजे, हामी अस्वीकार गर्नुपर्छ।”

यो आक्रोश केवल सामाजिक सञ्जालमाथिको प्रतिबन्धका कारण होइन। दशकौँदेखि चल्दै आएको नातावाद, भ्रष्टाचार, असमान अवसर र राजनीतिक विशेषाधिकारकै परिणाम हो। तर फरक यति हो-यसलाई यो पुस्ताले पहिलोपटक दृश्यात्मक, डिजिटल र विश्वव्यापी भाषामा प्रस्तुत गरेको छ।

जेनजी पुस्ताको असन्तोष कुनै क्षणिक प्रतिक्रियामात्र होइन, लामो समयदेखि थिचिएको सामाजिक र राजनीतिक असन्तुष्टिको विस्फोट हो। नेपो बेबी ट्रेन्डले शीर्ष नेताका परिवारको ऐश्वर्य र सर्वसाधारणको संघर्षबीचको असमानतालाई चित्रण गरेर युवाको आक्रोशलाई उकास्यो।

अब देखिन लागेको सडक आन्दोलन सामाजिक सञ्जालको विस्तारमात्र होइन, नेपालको राजनीतिक चेतनामा नयाँ पुस्ताले ल्याएको ऐतिहासिक मोड हो।

Share