माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएपछि भुसाललाई सुधार केन्द्र पठाइएको हो ।
प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । आज पनि त्यही आयो,’ प्रवक्ता भट्टराईले भने, ‘हामीले सुधार केन्द्र पठाएका छौं ।’ निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको एसपी भट्टराईले बताए ।
उनीसहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ परेका थिए । जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।
















