ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले असोज १३ गते ठमेलमा सुरज तामाङको हत्या गरेका हुन् । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी अझै फरार रहेका छन् ।
यसअघि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए । ठूलो संख्यामा कैदीहरू फरार रहेकाले अहिले पनि सुरक्षा चुनौती उच्च छ ।














