हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो । हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरेको हो ।
पहिलो चरणमा उत्तरी गाजाबाट माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री सिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै हमासले दक्षिणी गाजाबाट छोडेका १३ बन्धकमा ३६ वर्षीय एल्काना बोहबोट, २१ वर्षीय रोम ब्रास्लाव्स्की, २१ वर्षीय निम्रोद कोहेन, ३५ वर्षीय डेभिड कुनियो, २८ वर्षीय एरियल कुनियो, २४ वर्षीय इभ्यातार डेभिड, ३७ वर्षीय म्याक्सिम हर्किन, ३९ वर्षीय इटान हर्न, २७ वर्षीय सेगेभ क्याल्फन, २३ वर्षीय बार कुपरस्टेन, २५ वर्षीय योसेफ-चैम ओहाना, ३२ वर्षीय अविनाथन वा र २५ वर्षीय मता जङ्गाउकर रहेका छन् ।
हमासले आफूहरूसँग भएका जीवित बन्धक सबै हस्तान्तरण गरेको जानकारी गराएको इजरायली मिडियाहरूले उल्लेख गरेका छन् । नेपाली युवा विपिन जोशी भने जीवित नभएको इजरायली सेनाले परिवारलाई जानकारी गराएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी गराएका छन् । यद्यपि विपिन जोशीका परिवारले विपिन फर्किनेमा आफूहरू आशावादी रहेको बताएका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केही बेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।