भिन्सेन्ट कोम्पनीले जर्मन क्लब बायर्न म्युनिखसँग ३० जुन २०२९ सम्मका लागि नवीकरण गरेका छन् ।
मुख्य प्रशिक्षक कोम्पनीको हालको सम्झौता २०२७ को जुनमा सकिदै थियो । ३९ वर्षीय कोम्पनी २०२४/२५ सिजन अगाडि इङ्गल्याण्डको बर्नली एफसीबाट म्युनिख आएका थिए र उनको पहिलो वर्षमा नै बायर्नलाई बुन्डेसलिगा उपाधि जिताएका थिए । बेल्जियमका कोम्पानीले यस सिजनको सुरुमा बायर्नसँग सुपरकप पनि जितेका थिए ।
सम्झौता नवीकरणपछि कोम्पनीले भने- ‘म कृतज्ञ छु, सम्मानित छु र पहिलो दिनदेखि नै मलाई दिएको विश्वास र काम गर्ने वातावरणको लागि बायर्नलाई धन्यवाद दिन चाहन्छु । म यहाँ धेरै लामो समयदेखि छु भन्ने लागिरहेको छ र म क्लबलाई राम्रोसँग चिन्छु । यो अहिलेसम्मको उत्कृष्ट अनुभव भएको छ । हामीले एउटा अद्भुत यात्रा सुरु गरेका छौं । कडा परिश्रम गरौं र अझ धेरै सफलता हासिल गरौँ ।’