नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई एमाले फोबिया भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बस्नेतले बालुवाटारमा भनाभन भएको प्रसंग उल्लेख गर्दै चोरको खुट्टो काट भन्दा चोरले खुट्टा उचाले जस्तै, गृहमन्त्री अर्याललाई अहिले एमाले फोबिया भएको स्पष्ट देखिएको र उनी आफ्नै कर्मका कारण आतंकित देखिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् :
बालुवाटारमा भनाभन : गृहमन्त्रीलाई एमाले–फोबिया ? चोरको खुट्टो काट भन्दा चोरले खुट्टा उचाले जस्तै, गृहमन्त्री ओमप्रकाश अर्याललाई अहिले एमाले फोबिया भएको स्पष्ट देखिन्छ । उनी आफ्नै कर्मका कारण आतंकित देखिँदैछन् ।
बालुवाटारस्थित उच्चस्तरीय बैठकमा गृहमन्त्री अर्याल र एमाले महासचिव शंकर पोखरेलबीच तीखो वाकयुद्ध भयो । बैठकमा गृहमन्त्री अर्यालले एमालेले आफूलाई ‘अनावश्यक रूपमा निशाना बनाएको’ र ‘राजनीतिक प्रतिशोधको सिकार’ बनाएको दाबी गरे । जवाफमा महासचिव पोखरेलले भने, ‘तपाईं पनि पदीय जिम्मेवारी अनुसार काम गरिरहनुभएको छैन ।’ त्यसपछि गृहमन्त्री अर्यालले स्पष्टिकरण दिँदै भने, ‘म पनि कुनै बेलाको एमाले हुँ । २०४७ पछिको एमालेको इतिहास राम्ररी थाहा छ । अहिलेको एमाले तर्साउने र गुण्डागर्दी गर्ने बाटोमा गएको छ ।’ बैठकमा कांग्रेस र एमाले नेताहरूले गृहमन्त्रीको ‘लुटपाट आगजनी र अपराधिक काममा संल्गन भएर थुनेकालाई छाड्नुपर्छ’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवार ठहर गर्दै तीव्र आलोचना गरे । साथै, शान्ति–सुरक्षा र लुटिएका हतियार फिर्ता ल्याउने विषयलाई मुख्य राष्ट्रिय चुनौतीका रूपमा उठाए ।
प्रधानमन्त्री सुशीला कार्कीले भने बैठकमा आफूलाई ‘प्रेसर फिल’ भइरहेको बताउँदै, जसरी पनि निर्वाचन सम्पन्न गराउने दृढता व्यक्त गरिन् ।