भारतीय एकदिवसीय टिमका उपकप्तान श्रेयस अय्यरलाई सिड्नीको अस्पतालको आइसीयु भर्ना गरिएको छ ।
अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका श्रेयसको हाल आइसीयुमा राखेर उपचार भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । श्रेयसलाई आन्तरिक रक्तस्राव भएको रिपोर्ट गरिएको छ । श्रेयसको देब्रे करङमा चोट लागेको थियो, जसले गर्दा उनी कम्तिमा तीन हप्तासम्म मैदान बाहिर रहन सक्थे, तर अब उनको मैदानमा फर्कने समय ढिलो हुन सक्ने बताइएको छ । सिड्नीमा भएको तेस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाली ब्याट्सम्यान एलेक्स केरीको क्याच लिँदा अय्यर घाइते भएका थिए ।
अस्ट्रेलियाली इनिङ्सको क्रममा केरीले हर्षित राणाको बलमा ब्याटिंग गरिरहेका बेला ब्याकवार्ड पोइन्टमा उभिएका अय्यरले छिटो दौडेर सफलतापूर्वक क्याच लिए, तर भुइँमा लडेपछि उनको देब्रे करङमा गम्भीर चोट लाग्यो । त्यसपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो । खेलपछि, भारतीय क्रिकेट नियन्त्रण बोर्डले श्रेयसको स्वास्थ्यको बारेमा जानकारी गराउँदै ब्याट्सम्यानलाई अस्पताल लगिएको बताएको थियो ।
समाचार एजेन्सी पीटीआईले श्रेयसलाई विगत केही दिनदेखि आईसीयूमा भर्ना गरिएको र उनलाई आन्तरिक रक्तस्राव भएको उल्लेख छ । मैदानबाट ड्रेसिङ रुममा फर्किएपछि अय्यरको महत्त्वपूर्ण प्यारामिटरहरूमा उतारचढाव आएपछि बीसीसीआईको मेडिकल टोलीले तुरुन्तै कुनै जोखिम नलिएर श्रेयसलाई अस्पताल लगेका थिए । उनको अवस्था हाल स्थिर रहेको र अझै एक साता अस्पतालमा रहन सक्ने बताइएको छ ।
अय्यर हाल एकदिवसीय ढाँचामा मात्र भारतीय टिममा रहेका छन् । ढाडको समस्याका कारण उनी विगत छ महिनादेखि टेस्ट क्रिकेटबाट टाढा छन् र हालै टी-२० ढाँचामा समावेश गरिएको छैन । हालै, अय्यरले अष्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसीयमा ६१ रनको शानदार इनिङ खेलेका थिए ।
















