मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् भने हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले रातको समयबाट बर्षातसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात परेको जानकारी दिदै उक्त क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सतर्कता अपनाई यात्रा गर्न आग्रह गरको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ । यसअघि पनि मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गर्दै बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु/नगराउन अनुरोध गरिएको छ ।
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।















