गाजामा इजरायलको हवाई हमला, ३० भन्दा बढीको मृत्यु

Image

इजरायलले गाजामा फेरी हवाई आक्रमण गरेको छ, जसमा ३० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको रिपोर्ट छ ।

इजरायलले हमासले पहिले पनि युद्धविराम उल्लङ्घन गरेको र गाजामा तैनाथ आफ्ना सेनामाथि आक्रमण गरेको दाबी गरेको थियो । प्रतिक्रियास्वरूप यो कारबाही गरिएको थियो । यद्यपि, हमासले आरोप अस्वीकार गर्दै युद्धविरामको पालना गरिरहेको बताएको छ ।

इजरायली हवाई आक्रमणले गाजा शहर, खान युनिस, बेइत लाहिया र अल-बुरैज जस्ता घना बस्ती भएका क्षेत्रहरूलाई लक्षित गरेको थियो । गाजा अस्पतालका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि थिए । गाजा शहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको थियो । २० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।

इजरायल र हमासबीच तनाव फेरि एक पटक बढेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकहरूमाथि आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।

उनले हमासले रेडलाइन पार गरेको र अब भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध सैन्य कारबाहीको आदेश दिएका छन् । 

अर्कोतर्फ, हमासले सबै आरोपहरू अस्वीकार गरेको छ । संगठनले कुनै पनि आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।  नेतान्याहूले युद्धविराम सम्झौता अन्तर्गत हमासले गलत शव फिर्ता गरेको पनि आरोप लगाएका छन् । नेतान्याहूले यसलाई सम्झौताको स्पष्ट उल्लङ्घन भनेका छन् । सम्झौतामा हमासले सबै इजरायली बन्धकहरूको शव सकेसम्म चाँडो फिर्ता गर्नुपर्ने थियो ।

यसैबीच, इजरायली आक्रमणका कारण हमासले कैदीहरूको शव फिर्ता गर्ने आफ्नो कार्यक्रम रोकेको छ । यसअघि मंगलबार हमासले अर्को शव फिर्ता गर्ने बताएको थियो। खान युनिसको खाडलबाट सेतो झोला बरामद गरिएको थियो र एम्बुलेन्समा राखिएको थियो, तर त्यसमा के छ भन्ने कुरा अझै स्पष्ट छैन ।

इजरायली मिडियाका अनुसार, नेतान्याहूले गाजामा मानवीय सहायता रोक्ने, कब्जा विस्तार गर्ने वा हमास नेताहरू विरुद्ध हवाई आक्रमण गर्ने जस्ता अन्य विकल्पहरू पनि विचार गरिरहेका छन् । अर्कोतर्फ, इजरायली सेनाले मंगलबार बिहान वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारेर तीन प्यालेस्टिनी लडाकुहरूलाई मारेको छ । इजरायलले उनीहरू आतंकवादी गतिविधिमा संलग्न रहेको बताएको छ ।

Share