अमेरिकाको भर्जिनिया राज्य स्थिति फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यमाथि आक्रमण गरेका एक नेपाली मूलका व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको छ। सोमबार बिहान मान्टुआ क्षेत्र नजिकै पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको एक अपार्टमेन्टभित्र करिब ५० वर्षीय एक पुरुषले आफ्नी श्रीमती र छोरीमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो, तर उनीहरूको ज्यान गएको हो। घटनामा संलग्न व्यक्ति छत्रबहादुर थापा हुन्। आक्रमणमा परी ज्यान गुमाउनेमा उनकी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापा रहेका छन्। घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा घाइते भएका छन्। उनको उपचार भइरहेको जनाइएको छ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँमाथि पनि छुरा प्रहार गरिरहेका थिए। हतियार फाल्न पटक–पटक चेतावनी दिँदा पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेपछि प्रहरीले तत्काल उद्धार प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो।
प्रहरीका अनुसार अपार्टमेन्टभित्र एक वर्षको बालक पनि रहेका थिए। उनलाई कुनै शारीरिक चोटपटक लागेको छैन। उक्त बालकलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ।
प्रमुख डेभिसले पत्रकार सम्मेलनमा घरभित्र अत्यन्त तनावपूर्ण र दुखद अवस्था रहेको उल्लेख गर्दै प्रहरीले थप मानवीय क्षति रोक्न आवश्यक बल प्रयोग गरेको बताए। उनले घटनास्थलमा खिचिएको शरीरमा जडान गरिएको क्यामेराको दृश्यावलोकनमा प्रहरीको कारबाही प्रोटोकलअनुसार रहेको प्रारम्भिक निष्कर्ष देखिएको पनि जानकारी दिए।
छिमेकीहरूका अनुसार घटनाका बेला अपार्टमेन्टभित्र ठूलो होहल्ला सुनिएको थियो। ज्वाइँ बाहिर सवारीसाधनबाट हिउँ पन्छाइरहेका बेला होहल्ला सुनेर आपत्कालीन सेवामा फोन गरेका थिए र त्यसपछि कोठाभित्र फर्किएका थिए। अर्को भवनमा बस्ने व्यक्तिले पनि घरेलु विवादजस्तो आवाज सुनेर आपत्कालीन नम्बरमा सम्पर्क गरेका थिए।
















