२४ घण्टामै उपचारका लागि डेढ करोड संकलन, सहयोग रोक्न साम्बाको अपिल

Image

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि २४ घण्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ।

आफ्नो उपचारका लागि आवश्यक रकम पर्याप्त जुटिसकेको जनाउँदै साम्बाले अब आर्थिक सहयोग रोक्न अपिल गरेकी छन्।

साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ भने विदेशी प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर (करिब ४५ लाख रुपैयाँ) प्राप्त भएको छ। साथै, विभिन्न संघ–संस्था र प्रायोजक संस्थाहरूले नगद तथा अन्य सुविधा सहयोगको वाचा गरेका छन्।

“यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्चसमेत धान्ने देखिन्छ,” साम्बाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्। कतारमा रहेका विभिन्न व्यक्तित्व र संस्थाबाट समेत सहयोगको प्रतिबद्धता आएको उनले बताएकी छन्।

त्यसैले दुवै खातामा अब सहयोग रकम जम्मा नगर्न अनुरोध गर्दै उनले सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

साम्बाले आफ्नो उपचार सफल हुने विश्वास व्यक्त गर्दै चाँडै मैदानमा फर्किने आशा पनि व्यक्त गरेकी छन्। उनले सोमबार उपचारका लागि आर्थिक अभाव रहेको जनाउँदै सहयोगको अपिल गरेकी थिइन्। त्यसयता देश तथा विदेशबाट उल्लेखनीय सहयोग प्राप्त भएको हो।