आगामी बिदामा घर आएर विवाह गर्ने तयारीमा थिए यूएईमा इरानी आक्रमणमा ज्यान गुमाएका दिवस

Image

इरानले संयुक्त अरब इमिरेट्समा गरेको ड्रोन तथा मिसाइल आक्रमण निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास, अबुधाबीले सोमबार विज्ञप्ति जारी गर्दै घटनाबारे आधिकारिक जानकारी दिएको हो।

राजदूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखा, भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ, ठाटीका श्रेष्ठको ज्यान गएको हो। यूएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक सूचनाका आधारमा मृत्युको पुष्टि गरिएको दूतावासले जनाएको छ।

दिवसका बुबा चामबहादुर श्रेष्ठका अनुसार शनिबार बेलुका मात्रै छोरासँग भिडियो कलमा कुराकानी भएको थियो। आइतबार भने उनका साथीहरूले “मोबाइल हराएको र भागदौडका क्रममा खुट्टामा चोट लागेको” खबर दिएका थिए।

शनिबार दिवसले आफ्नो फेसबुकमा अबुधाबीमा अवस्था सामान्य रहेको उल्लेख गरेका थिए। समाचार हेर्दा आफू चिन्तित भएको तर अबुधाबीका बासिन्दाका रूपमा वास्तविक अवस्था नजिकबाट थाहा हुँदाहुँदै पनि केही सञ्चारमाध्यममा आएका विवरणहरू अतिरञ्जित र भ्रामक रहेको अनुभूति भएको उनले लेखेका थिए। उनले सामाजिक सञ्जालमा फैलिरहेका अपुष्ट र गलत सूचनाप्रति सचेत रहन आग्रह गर्दै यथार्थ जानकारी मात्र विश्वास गर्न अनुरोधसमेत गरेका थिए। तर आइतबार इरानको आक्रमणमा परि ज्यान गयो ।

दिवस पछिल्लो पटक २०८१ सालको दसैं मनाएर दुई महिना घर बसेपछि रोजगारीका लागि यूएई फर्किएका थिए। सरस्वती माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेपछि उनी वैदेशिक रोजगारीमा लागेका थिए। विगत चार वर्षदेखि ‘मिडल इस्ट’ कम्पनीमार्फत सेक्युरिटी गार्डका रूपमा दुबई–अबुधाबी क्षेत्रमा कार्यरत थिए।

आगामी बिदामा घर आएर विवाह गर्ने परिवारमा सल्लाह चलिरहेको थियो। तर सोमबार बिहान आएको दुखद खबरले सिंगो बोर्लाङ गाउँ शोकमा डुबेको छ। स्थानीयहरू अहिले श्रेष्ठ परिवारको घरमा भेला भएका छन्।

दिवस परिवारका एक्ला छोरा थिए। उनकी दिदीको विवाह भइसकेको छ। घटना हुँदा उनकी आमा काठमाडौंमा छोरीलाई भेट्न गएकी थिइन् भने घरमा बुबा र हजुरआमा मात्रै थिए।